भर्खरै :

केटाकेटीलाई गुन्द्रुकझैं कोच्ने निजी विद्यालयलाई कार्बाही गर

विद्यालयको गाडीमा विद्यार्थी कोचाकोच गरी राख्ने भैरहवाका निजी विद्यालयहरूमाथि कारबाही सुरु भएको छ । यस्तो कारबाही अन्य जिल्लामा पनि अभियानको रुपमा विस्तार गर्नु उपयुक्त हुनेछ । निजी विद्यालयहरूले सुविधाको नाममा एकातिर अभिभावकसँग भारी शुल्क उठाउने गरेका छन् भने अर्कोतिर विद्यालय गाडीभित्र बालबालिकालाई निर्मम तरिकाबाट गुन्द्रुक कोचे सरी कोच्ने गरेका छन् । कतिपय विद्यालयका गाडीमा बालबालिकालाई असुरक्षित तरिकाबाट समेत लाने गरेका छन् । तराईका केही जिल्लामा यसरी असुरक्षित र क्षमताभन्दा बढी विद्यार्थी कोचेका विद्यालयका सवारी साधन नहरमा खस्दा बालबालिकाले अनाहकमा ज्यान गुमाएका थिए । निजी विद्यालयहरूले विद्यार्थी सङ्ख्या आपूmतिर तान्न गाडीलगायत अनेकन सुविधाका आर्कषक प्रलोभन दिने गरेका छन् । अन्य निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न पनि केही विद्यालयहरूले आफ्नो औकातभन्दा माथि गएर यस्ता सुविधा दिने वाचा गर्छन् । तर नाफाको सीमा राखेर यस्तो सुविधा दिन खोज्दा सुविधा भने कमसल हुने गरेको देखिन्छ । विद्यालयहरूले विद्यालय गाडीलाई पैसा कमाउने अर्को बाटोको रुपमा प्रयोग गरिरहेका छन् । वर्षौ वर्ष चलाइसकेका थोत्रा गाडीलाई पहेंलो र· लगाएर नयाँजस्तो देखाएर अभिभावकबाट थप पैसा असुल्ने बाटो बनाएका छन् । एउटै गाडीमा पनि क्षमताभन्दा दोब्बर–तेब्बरसम्म बालबालिका कोचेको धेरै उदाहरण उजागर भएका छन् ।
विद्यालयले यातायातको सुविधा दिनु राम्रो पक्ष हो । सवारीसाधनको चाप निकै भएको शहरी क्षेत्रमा त यो सुविधा जरुरी पनि छ । साथै दैनिक कार्यालयमा पुग्नुपर्ने अभिभावकहरूका लागि यस्तो सुविधाले केही सहज पनि बनाएको छ । तर विद्यालयका गाडीमा निर्मम तरिकाले स–साना केटाकेटी कोचेर उनीहरुमाथि मात्र अत्याचार गरिरहेका छैनन् निजी विद्यालयहरूले, बरु देशकै भविष्यमाथि समेत खेलवाड गरिरहेका छन् ।
बालबालिका भविष्यका कर्णधार हुन् । भोलिका देशका नागरिक हुन् । उनीहरूमाथि भइरहेको यो अत्याचारको रोकथाम गर्ने अहम् दायित्व राज्यको हो । विद्यालय शिक्षाको दायित्व बोकेका स्थानीय तहले अब निजी विद्यालयबाट भइरहेको यो विकृतिको पनि अनुगमन र दोषीलाई कार्बाही गर्नुपर्दछ । ट्राफिक प्रहरीसँग प्रत्यक्षरुपमा जोडिएको र अधिकारक्षेत्र भित्रको समस्या भएकाले ट्राफिक प्रहरीले दोषीलाई कार्बाही गर्न ढिलाई गर्न हुन्न । अभिभावक स्वयं पनि यसको निम्ति जिम्मेवार पक्ष हो । आफ्ना छोरा–छोरी जाने गाडीमा कति जना राखिंंदैछ भन्ने बारेमा चासो राखी अभिभावकले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्दछ । तर यसप्रकार बालबालिकालाई बस्तुसरह कोच्ने अमानवीयताको अन्त्य हुनुपर्दछ । नाफाको लागि मानवताको लिलामी गर्ने निजी विद्यालयलाई कार्बाही गर्नुपर्दछ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिन ढिलाइ गर्नुहुन्न । नत्र भोलि न्याउरी मारी पछुताउनुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *