भर्खरै :

प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रलाई भक्तपुर नगरपालिकामा स्वागत

प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रलाई भक्तपुर नगरपालिकामा स्वागत

भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिकामा सरुवा भई आउनुभएकी प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रलाई बुधबार स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई पुष्पगुच्छा, खादा तथा परम्परागत थैली प्रदान गरी स्वागत गर्नुभयो । प्रमुख प्रजापतिले जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिकाबाट दैनिक प्रवाह हुने सेवाहरूलाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पालिकाको काम सबैको सहयोग र सहकार्यमार्फत अघि बढाउनुपर्ने बताउनुभयो । जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरू आ–आफ्नो जिम्मेवारीप्रति उत्तरदायी भई काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही नै सुशासनको आधार भएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले आफ्नो पदीय जिम्मेवारीअनुसार इमानदारीपूर्वक काम गर्नु सुशासनको महत्वपूर्ण पक्ष भएको बताउँदै भक्तपुर नगरपालिकाले कानुनी पक्षलाई ध्यान दिँदै आवश्यकताअनुसार कानुन निर्माण गरी काम गर्दै आएको उल्लेख गर्नुभयो । प्रमुख पदमा रहने व्यक्तिहरू अनुशासनमा रहनुपर्नेमा जोड दिँदै उहाँले नगरपालिकाले विदेशी सहयोग स्वीकार नगरी आत्मनिर्भर भावनाको विकास गर्दै काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य व्यक्त गर्दै महिला प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकालाई अझ अगाडि बढाउने क्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले आफू उपसचिव पदमा कार्यरत रहेको र सेवाकालीन तालिमका कारण भक्तपुर आउन केही ढिलाइ भएको बताउनुभयो । उहाँले नगर विकास र नगरवासीको सेवामा आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जनप्रतिनिधिहरूको मार्गनिर्देशनअनुसार काम गर्ने बताउँदै उहाँले कर्मचारीहरूसँग समन्वय र सहकार्य गरी नगरपालिकाको कामलाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गर्नुभयो । स्थानीय तहमा आफ्नो कार्य अनुभव पहिलो भएको बताउँदै उहाँले यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरूको मार्गनिर्देशनलाई सिकाइका रूपमा ग्रहण गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । सो अवसरमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *