संस्कृतिको पहिचान र संरक्षण जरुरी
- आश्विन ८, २०८३
भक्तपुर, ९ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको मौलिक र कानुनी हक प्राप्तिका लागि जनताका कानुन व्यवसायीहरू सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार पार्टीको पेसागत सङ्गठन कानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कानुन व्यवसायीहरूको भेलामा उहाँले आज संविधान र कानुनमा मौलिक हक र कानुनी हकहरू उल्लेख भए तापनि बहुसङ्ख्यक निमुखा जनताले आफ्नो हक प्राप्त गर्न नसकिरहेको बताउनुभयो ।
संविधानमा बाँच्न पाउने र स्वास्थ्य उपचारको हक उल्लेख भएर पनि प्रसव पीडामा रहेकी एक महिलालाई सरकारी अस्पतालबाटै निकालिएर सडकमा प्रसूति गर्नुपर्ने अवस्था आउनु जनअधिकार सुरक्षित नहुनुको टड्कारो उदाहरण भएको उहाँले बताउनुभयो ।
कानुन व्यवसायी वा कानुनका विद्यार्थीहरूले पद र पैसाकै निम्ति मात्र काम गर्न नहुने धारणा राख्दै उहाँले कुनै पनि चुनावमा असैद्धान्तिक गठबन्धन गरेर पदमा जान नहुने र सिद्धान्त तथा नीतिको प्रचारका निम्ति निर्वाचन लड्ने हो भन्नुभयो ।
उहाँले स्थानीय तहका गैरदलीय निर्वाचन हुनुपर्ने कुरा उठिरहेको प्रसङ्ग उल्लेख गर्दै त्यस्तो निर्वाचन एकातिर असंवैधानिक हुने र कथं भएमा त्यसले स्थानीय तहहरूमा अराजकता र गञ्जागोल निम्त्याउने बताउनुभयो ।
भेलामा नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले समाज परिवर्तनमा जान्ने–बुझ्नेहरूको अभिभारा बढी हुने भएकोले सामाजिक इन्जिनियर मानिने कानुन व्यवसायीहरूले समाजमा व्याप्त अन्याय, अत्याचार र शोषण अन्त्य गर्न सामूहिक र व्यक्तिगत प्रयास गर्न जरूरी रहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थाको पद र पैसाको पछाडि लाग्न नहुने सुझाव दिँदै उहाँले हालै बाग्मती प्रदेश सभामा अङ्गगणित नपुगेपछि नेमकिपालाई सभामुख र मन्त्री पदसम्मको प्रस्ताव आएको तर नेमकिपाले पदमा जाने लोभ राखेर कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
कानुन व्यवसायीहरूले कानुनका साथै सामाजिक स्थितिको पनि गहन अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आफूले लिएको सिद्धान्त र नीतिविपरीत गतिविधि गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
कानुन अध्ययन समाज केन्द्रीय समितिका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले कानुन व्यवसायीहरू एक न एक विषयमा विशेषज्ञ भई समाजका बहुसङ्ख्यक किसान र मजदुरहरूको हितमा लड्ने कानुनी व्यवसायी हुनु जरुरी छ भन्नुभयो ।
भेला आयोजक समितिका संयोजक सुन्दर राजचलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समितिका अध्यक्ष राजु कैती, गम्भीरमान ज्याख्व, सुनिल प्रजापति र निरोज वैद्यलगायतले बोल्नुभएको थियो । भेलाले गम्भीरमान ज्याख्वको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
Leave a Reply