भर्खरै :

सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने

सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने

भक्तपुर, १० असोज । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ वार्षिक साधारणसभाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार गर्नुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्थाहरू रकम लेनदेनमा मात्र केन्द्रित भए बैङ्क तथा वित्तीय संस्थाभन्दा फरक नहुने उल्लेख गर्दै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सहकारीको उद्देश्य सदस्यहरूको साझा हितमा काम गर्नु रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउन क्षमताअनुसार काष्ठकला, सिलाइ, बेकरी, मोटरसाइकल तथा मोबाइल मर्मतजस्ता सीपमूलक तालिम दिनु आवश्यक छ ।”
सहकारीहरू डुबिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख प्रजापतिले सहकारी सञ्चालकहरूले गैरकानुनी ढङ्गबाट सहकारीको पैसा प्रयोग गरी निजी सम्पत्ति जोड्ने, करोडौँ रुपैयाँका गाडी जोड्ने तथा व्यापारमा लगानी गर्नेजस्ता कार्यले कतिपय सहकारी संस्था डुब्दै गएको हँुदा यसबाट शिक्षा लिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाभित्रका सहकारीहरू डुब्न नपाऊन् भनेर समय–समयमा अनुगमन गरी सहकारी सञ्चालकहरूलाई सचेत गराउने गरेको बताउनुभयो ।
अपरिचित व्यक्तिद्वारा सञ्चालित सहकारीमा पैसा नराख्न नगरपालिकाले आग्रह गर्दै आए पनि उक्त आग्रहलाई बेवास्ता गर्दा कतिपय व्यक्तिको पैसा जोखिममा परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले जनताको बचत उत्पादनशील क्षेत्रमा लगानी गरे सुरक्षित हुने बताउनुभयो ।
उहाँले सीपमूलक तालिम दिई सामाजिक कार्य गरी सदस्य उत्थानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले पनि सीपमूलक तालिम, कला संस्कृति, सम्पदा संरक्षण र सरसफाइमा जोड दिएको बताउनुभयो ।
गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सहकारी भनेको बचत गर्ने र ऋण लिने संस्था मात्र नभई सदस्यहरूबिच आपसी सहयोग, विश्वास, सहकार्य र आर्थिक अनुशासन कायम गर्दै समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
लेखापरीक्षक शङ्कर बुढाथोकीले ३८ प्रतिशत तरलताले नाफा कम भएको बताउनुभयो ।
समाजसेवी एवम् गायक हरिसुन्दर लाखे श्रेष्ठले योग्य र सक्षम व्यक्ति र स्थानीयले नेतृत्व गरेको सहकारी नबिग्रिने बताउनुभयो ।
पतञ्जली योग समिति वाग्मती प्रदेशका सचिव कृष्णराम गणेशले स्वस्थ रहन बिहानै उठेर छिकोन वा योग आवश्यक छ भन्नुभयो ।
संस्थाका अध्यक्ष रविन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव रामप्रसाद प्रजापतिले प्रगति प्रतिवेदन पेस गर्नुभयो । संस्थाका सदस्य गणेशमान हाकुदुवालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राजु त्वातीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत मन्व्य बचत उपसमितिका संयोजक गौरी छुस्याकी र सञ्चालन प्रिया भट्टले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *