भर्खरै :

जनकवि दुर्गालाल श्रेष्ठको ४५ दिनको पुण्यतिथिमा स्मृति सभा तथा ६ कृति लोकार्पण

जनकवि दुर्गालाल श्रेष्ठको ४५ दिनको पुण्यतिथिमा स्मृति सभा तथा ६ कृति लोकार्पण

काठमाडौँ, १३ असोज । जनकवि दुर्गालाल श्रेष्ठको ४५ औँ दिनको पुण्यतिथिको अवसरमा स्मृति सभा तथा उहाँका ६ वटा नयाँ कृति लोकार्पण कार्यक्रम मङ्गलबार सम्पन्न भयो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा जनकवि श्रेष्ठको व्यक्तित्व तथा कृतित्वबारे श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । उहाँका ‘फुल्न बाँकी छ, पिजा (फिज), थुगु थुलिङ खः कि जिङ छु मथु, हामायु, काँडामा कविता’ ६ वटा कृति लोकार्पण गरिएको थियो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनकवि दुर्गालाल श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै उहाँलाई ‘अक्षर महर्षि पदक’ प्रदान गर्नुभयो । उहाँले जनकवि श्रेष्ठ सबैका प्रिय कवि रहेको उल्लेख गर्दै सिर्जनामार्फत उहाँ सधैँ जीवित रहने बताउनुभयो । श्रेष्ठले सधैँ समाजको आवाजका रूपमा कलम चलाउनुभएको चर्चा गर्दै उहाँले उहाँको साहित्यिक योगदानको स्मरण गर्नुभयो ।
वसन्त चौधरी फाउन्डेसनका अध्यक्ष वसन्त चौधरीले जनकवि श्रेष्ठको लेखन समत्न्दा लामो इतिहास बनेर बाँचिरहने बताउनुभयो । उहाँले श्रेष्ठले शब्दसँगै शब्दभित्र जीवन्त रहने संस्कार पनि प्रदान गर्नुभएको उल्लेख गर्दै उहाँको अक्षरयात्रा कहिल्यै नरोकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँका ज्येष्ठ सुपुत्र सुमन श्रेष्ठले पिता दुर्गालाल श्रेष्ठको पारिवारिक सम्बन्ध र जीवनका विभिन्न पक्षबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा कवि तथा गीतकार रमण घिमिरे, कवि प्रतिसरा सायमी र बालकवि सज्जन मानन्धरले जनकवि श्रेष्ठका कविता वाचन गर्नुभएको थियो । त्यसैगरी, समालोचक प्राडा अभि सुवेदी र प्राडा ज्योति तुलाधरले श्रेष्ठको व्यक्तित्व तथा साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *