सहकारीले नाफा कमाउनेभन्दा साझा हितलाई ध्यान दिनुपर्ने
- आश्विन १७, २०८३
भक्तपुर, १७ असोज । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेड भनपा–८ को १९ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशका संसद् सुरेन्द्रराज गोसाईले सहकारीमा पैसा राखेर मात्र खुसी हुन नसक्ने बताउँदै छरछिमेकसँग राम्रो सम्बन्ध राखेर आफ्नो जीवनलाई मानसिक रूपमा स्वस्थ राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सङ्घर्ष नगरी कुनै उपलब्धि प्राप्त नहुने कुरा नयाँ पुस्ताले बुझ्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अग्रजहरूले आफ्नो व्यक्तिगत जीवनमा सङ्घर्ष गरेकोले समाज यो अवस्थामा पुगेको हो । अब नयाँ पुस्ताले पनि आफ्नो क्षमताअनुसारको योगदान दिएर समाजलाई योभन्दा अगाडि बढाउनुपर्छ ।”
उहाँले हालै भोटेकोसीमा आएको बाढीको स्मरण गर्दै आफू सबल भएकै बेलामा समाज विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान अवस्थामा छिमेकी सहकारीहरूबिच गतिविधि र समस्याहरू साटासाट गर्नुपर्ने सुझाव पनि सोही अवसरमा दिनुभयो ।
कार्यक्रममा भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले वडाका गतिविधि र कार्यक्रमहरूबारे प्रकाश पार्दै लिबाली क्षेत्रमा दुर्घटना न्यूनीकरणको लागि स्पीड बेकर राख्ने कार्य थालनी गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा भूगर्भविद् डा. सुवेगमान बिजुक्छेँले डिजिटल माध्यमको प्रयोग गरी नेपालमा हिमालको अवस्था, उचाइ तथा बाढी पहिरो र भूकम्पसम्बन्धी जानकारी दिनुभयो ।
उहाँले प्राकृतिक घटना निरन्तर भइरहने कुरा भएकोले त्यससँगै बाँच्न सिक्नेपर्नेमा जोड दिनुभयो । उहाँले भन्नभयो, “प्राकृतिक घटनाहरूलाई हामी रोक्न सक्दैनौँ, तर त्यसको क्षतिलाई कम गर्न भने अवश्य सक्छौँ ।”
उहाँले जमिनमुनि पानी जाने बाटो बन्द हुँदा सहरमा बाढी बढेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वातावरणविद् डा. कमलराज गोसाईले वातावरणको महत्वबारे प्रकाश पार्दै श्वेतभैरव ग्रीन हेरिटेज इनिसियसन कार्यक्रम थालनी गर्न सुझाव दिनुभयो । उहाँले ठुुला पँुजीवादी देशहरूले वातावरण प्रदूषणबारे वास्ता नगरी जथाभावी उद्योग सञ्चालन गर्दा पृथ्वीको वातावरण बिग्रँदै गएर सबैतिर त्यसको प्रभाव परेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले वातावरण अनुकूल बनाउन चराचुरुङ्गी जोगाउनुपर्ने, कौसी खेतीलाई प्राथमिकता दिनुपर्ने, थोरै ठाउँमा धेरै बिरुवा रोप्ने प्रविधि अँगाल्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा समाज सुधार माविका पूर्वप्रअ लक्ष्मीनारायण दुवाल, संस्थाका उपाध्यक्ष सत्यनारायण गाइजू, सचिव रत्नप्रसाद सैंजू, संस्थापक अध्यक्ष नातिभाइ ह्योम्बालगायतले संस्थाको विविध गतिविधिबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।
साधारणसभाको दोस्रो चरणमा भएको बन्दसत्रबाट जितेन्द्र खायमलीकै अध्यक्षमा ९ सदस्यीय सञ्चालक समिति र सुनिल बोहजूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध रूपमा निर्वाचित भएको थियो ।
Leave a Reply