सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दा ठानेर नीति ल्याउन नहुने
- आश्विन १७, २०८३
भक्तपुर, १७ असोज । नेपाल मजदुर किसान पार्टी काठमाडौँ रामेछाप सम्पर्क समितिको आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले चाडपर्वलाई भौतिकवादी दृष्टिकोणबाट बुझ्नुपर्ने बताउँदै चाडपर्वको सामाजिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै त्यसमा रहेका सकारात्मक पक्षहरूको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विजयादशमी तथा शुभदीपावलीको समय घरघरमा अन्नबाली भित्याएर भण्डार भरिभराउ हुने समय भएकाले यो आफैँमा उत्सवको समय भएको उहाँले बताउनुभयो ।
चाडपर्वलाई मनोरञ्जन र परम्परागत रूपमा मात्र नहेरी समाज, संस्कृति र जीवनसँग जोडिएका सकारात्मक पक्षलाई बुझ्ने तथा नयाँ कुरा सिक्ने अवसरको रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यसमा रहेका एल्गोरिदमले प्रयोगकर्तालाई भ्रमित तथा गलत सूचनातर्फ आकर्षित गर्नसक्ने भएकोले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । चाडपर्वलाई सिकाइको पर्वका रूपमा ग्रहण गर्दै नयाँ–नयाँ सिर्जनशील ज्ञान, सीप तथा क्षमताको विकास गर्नसमेत उहाँले जोड दिनुभयो । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको सही र विवेकपूर्ण प्रयोग गर्न उहाँले जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरुङले मानव समाजको क्रमिक विकाससँगै वर्तमान समयमा नेपाली समाजले जलवायु परिवर्तन, युवा पलायनलगायतका बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो ।
मानिसले प्रकृति नास गर्ने खालका बानी तथा गतिविधिहरूलाई रोक्नुपर्ने र जलवायु परिवर्तनका सम्बन्धमा सान्दर्भिक तथ्य तथा विषयवस्तुको अध्ययन गरी आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान विश्वको आर्थिक तथा राजनीतिक अवस्थाबारे चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थाका कारण अमेरिकाको आर्थिक अवस्था ओरालो लागिरहेको विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बताउनुभयो । विश्व अर्थतन्त्रमा देखापरेका परिवर्तन, त्यसको प्रभाव तथा नेपाली समाजमा पर्नसक्ने असरबारे अध्ययन र छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी देशको सामाजिक तथा आर्थिक विकासमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेश सदस्य न्हुछेभक्त फोजुले सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरूले आफूले सिकेका ज्ञान, सीप र अनुभवहरू एक अर्कासँग आदान प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिमा सक्रिय हुने व्यक्तिहरूले राजनीतिक विषयसँगै सामाजिक विषय तथा समाजका विविध पक्षबारे समेत ज्ञान हासिल गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले सहभागीहरूलाई सिर्जनशील सीपको विकास गर्न प्रेरित गर्नुभयो । समयअनुकूल ज्ञान तथा सीप हासिल गर्दै आफ्नो क्षमता विकास गर्नुपर्ने बताउँदै सिर्जनशील र उत्पादनमूलक गतिविधिमा युवाहरूको सहभागिता बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सम्पर्क समितिका संयोजक धनबहादुर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा केशरी श्रेष्ठ, विमल श्रेष्ठ, राजु तामाङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply