भर्खरै :

सहकारी मूल्य मान्यता, पारदर्शिता र इमानदारिता नै संस्थाको मार्ग निर्देशक

सहकारी मूल्य मान्यता, पारदर्शिता र इमानदारिता नै संस्थाको मार्ग निर्देशक

भक्तपुर, १७ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२ औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा महेश्वरी बैङ्क्वेट, थुसाँचामा सम्पन्न भयो ।
सभामा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले एकका लागि सबै, सबैका लागि एक भन्ने मूल नारालाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिमा संस्था निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभयो ।
उहाँले सदस्यहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन संस्थाले सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी गराई यसले स्वरोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पु¥याएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।
सहकारी मूल्य, मान्यता, आर्थिक पारदर्शिता र इमानदारीलाई मुख्य मार्ग निर्देशकको रूपमा लिइएको स्पष्ट पार्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशनको पालना, कार्यविधि तथा नीति संशोधन र सदस्यहरूलाई जोखिमको आधारमा वर्गीकरण गरी सम्बन्धित निकायमा आवश्यक विवरण तथा प्रतिवेदन पेस गरिएको जानकारी दिनुभयो ।
सभामा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले संस्था स्थापनाको ३१ वर्ष पार गरी एक पुस्ता पूरा गरेको बताउँदै हाल संस्थामा १७५१५ जना सदस्यहरू आबद्ध रहेको जानकारी दिनुभयो ।
उहाँले सहकारी क्षेत्रमा नियमनकारी निकायहरूबाट आइरहने निर्देशनहरू र विद्यमान चुनौतीहरूबारे चर्चा गर्दै भक्तपुर नगरपालिका क्षेत्रभित्रका सहकारीहरूले सदस्यहरूको हित, उत्पादनमूलक कार्य, र आत्मनिर्भरताका लागि रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
सभामा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले आ.व. २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आ.व. २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रमहरूबारे चर्चा गर्नुभयो ।
उहाँले सहकारी क्षेत्रले भोग्नुपरेका विविध चुनौतीहरू, नीतिगत कडाइ तथा नियमनकारी निकायहरूबाट जारी निर्देशनबारे चर्चा गर्दै देशमा आएको भूकम्प, कोभिड महामारी, सिंहदरबार आगलागी, भदौ १० को हिमपहिरो तथा रसुवाको भोटेकोसी नदीमा आएको पहिरो र लेदोसहितको बाढीजस्ता प्राकृतिक तथा अन्य विपद्का बिचमा पनि संस्थाले आफ्ना सदस्यहरूलाई बिनासङ्कोच निरन्तर सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
सभामा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले सहकारी क्षेत्रमा देखा परेका वर्तमान चुनौतीहरूबारे चर्चा गर्दै सहकारी नीति नियम पालना गर्दागर्दै पनि सञ्चालक समिति र कर्मचारीहरूको बदनियत तथा संलग्नताका कारण धेरै सहकारीहरूमा विचलन आएको बताउनुभयो ।
उहाँले दलीय भागबन्डा, नियमनकारी निकायको अध्ययन अनुसन्धानको कमी र बजारको होडबाजीले गर्दा सहकारीहरू आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर उन्नति गर्नबाट चुकिरहेको विचार व्यक्त गर्नुभयो ।
कोषाध्यक्ष गोर्खालीद्वारा आ.व. २०८२/०८३ को स्रोत तथा उपयोगतर्फ रु. ३,३४,२७,०९,५५३।– (अक्षरेपि तीन अर्ब चौतीस करोड सत्ताइस लाख नौ हजार पाँच सय त्रिपन्न रुपैयाँ) र आय तथा व्ययतर्फ रु. २२,२३,२१,२४५।–
(अक्षरेपि बाइस करोड तेइस लाख एकाइस हजार दुई सय पैतालीस रुपैयाँ) को यथार्थ आर्थिक प्रगति प्रतिवेदन र आ.व. २०८३/०८४ को स्रोत तथा उपयोगतर्फ रु. ३,५५,००,००,०००।– (अक्षरेपी तीन अर्ब पच्पन्न करोड रुपैयाँ) र आय तथा व्ययतर्फ रु. २०,५४,१६,०००।– (अक्षेरेपी बीस करोड चवन्न लाख सोह्र हजार रुपैयाँ) को अनुमानित बजेट तथा कार्यक्रम पारित गरियो ।
सभामा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद लाखाजुले २०५१ सालमा स्थापना भई उत्कृष्ट सेवा तथा संस्थागत सुशासनमार्फत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मान हासिल गर्न सफल यस संस्थाको वित्तीय पारदर्शिता र सुशासन कायम राख्न प्रतिवेदन पेस गर्नुपर्ने जानकारी दिनुभयो ।
सभापश्चत् संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले हालको सञ्चालक समिति विघटन गरी निर्वाचनको कार्यक्रम अघि बढाउन निर्वाचन समितिका सदस्य मीनबहादुर बाटालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।
निर्वाचन समितिका संयोजक कृष्णगोविन्द खाइजुले निर्वाचनको अन्तिम नामावली घोषण गर्नुका साथै ४ वर्षे कार्यकालका लागि नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यहरूलाई प्रमाण–पत्र वितरण र शपथग्रहण गराउनुभएको थियो ।
निर्वाचन समितिका सदस्य जीतेन्द्र मुनंकर्मीले निर्वाचन प्रक्रियाबारे सङ्क्षिप्त जानकारी दिनुभएको थियो । सभाले विष्णुराम दुमरुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ । निर्वाचन कार्यक्रम निर्वाचन समितिका सदस्य मीनबहादुर बाटाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *