सचेत र सङ्गठित शक्तिले मात्र क्रान्तिलाई सफलतामा पु¥याउने
- आश्विन १८, २०८३
सुर्खेत, १८ असोज । नेपाल मजदुर किसान पार्टीको वीरेन्द्रनगर दोस्रो नगर सम्मेलनको बन्दसत्र आइतबार तल्लो बजारमा सम्पन्न भयो ।
बन्दसत्रमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वातावरण र यसबाट भएको सङ्कटबारे नेमकिपाले पुस्तक प्रकाशित गरी संसारको ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।
संरा अमेरिकी सरकार जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिबाट फिर्ता भएको र प्रदूषण फालेर पृथ्वीको तापक्रम वृद्धि गराएको विषयलाई नेपालका आजसम्मका सरकारहरूले अन्तर्राष्ट्रिय दबुमा उठाउन नसकेकै कारण पनि रसुवाको भोटेकोसी हिमपहिरोबाट नेपाली जनता पीडित हुनुपरेको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजसम्मका सरकारहरूले एसियाली विकास बैङ्क, विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको निर्देशनमा कृत्रिम रूपमा जीडीपी बढाउने र विदेशी ऋण थपेर कर्मचारी र सेनाको सुविधा बढाएर सरकारमा टिक्ने काम गर्दै आएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । ”
सर्वसाधारण जनताको सेवा हुने स्वास्थ्य बीमाको अनुदान रकमसमेत घटाउने सरकारहरू जनताको हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “देशभक्त सरकारले नेपालको हितविपरीतका सन् १९५० को नेपाल–भारत सन्धि, सन् १९४७ को गोर्खा भर्ती, एमसीसीलगायत सन्धि–सम्झौता खारेज गर्नु जरूरी हुन्छ । शान्ति र न्यायका पक्षधर सबैले इरान, प्यालेस्टिन, रूसविरूद्ध साम्राज्यवादीहरूको आक्रमणको विरोध गर्नु आवश्यक छ ।”
नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईंले जलवायु परिवर्तनबारे ‘वातावरण : सङ्कट र समाधान’ विषयक प्रशिक्षण दिनुभयो । पुँजीवादी उत्पादन प्रणालीकै कारण वातावरणीय सङ्कट बढेको र आर्थिक असमानता चर्केको चर्चा गर्दै संयोजक गोसाईले उपभोक्तावादी संस्कृति पुँजीवादी व्यवस्थाकै विकृति हो भन्नुभयो ।
नेमकिपा केन्द्रीय सल्लाहकार समिति सदस्य नर्मा गुरूङले पार्टीको विचारलाई जनताको घरदैलोसम्म पु¥याउन कार्यकर्ताहरू थप सक्रिय हुनु आवश्यक छ भन्नुभयो ।
नेमकिपा वीरेन्द्रनगर नगर सम्मेलन तयारी समितिका संयोजक शेरबहादुर शाहीले सम्मेलन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेमकिपा वीरेन्द्रनगर दोस्रो नगर सम्मेलनको बन्दसत्रबाट कुस्माखर खनालको अध्यक्षता नेमकिपा वीरेन्द्रनगर नगर समिति सर्वसहमति निर्वाचित गरियो ।
Leave a Reply