देशको मुहार फेर्ने र जनताको जीवनस्तर उठाउने काम आवश्यक
- आश्विन १८, २०८३
भक्तपुर, १८ असोज । विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकबिच शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाबाट परिचयपत्र प्राप्त रातो, नीलो, पहेँलो र सेतो वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको तीनमहिने साङ्केतिक भाषा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अपाङ्गता भएका व्यक्तिका लागि साङ्केतिक भाषा महत्वपूर्ण भएकोले यसको आवश्यकता महसुस गरी नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिमा पनि फरक–फरक क्षमता हुने भएकाले उनीहरूको क्षमता पहिचान गरी प्रोत्साहित गर्नुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनुभयो । अपाङ्गता विभिन्न स्वास्थ्य अवस्था, वंशानुगत कारण, जन्मजात अवस्था वा दुर्घटनाका कारण हुनसक्ने उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिमाथि कुनै पनि प्रकारको भेदभाव गर्न नहुने र अपाङ्गतामैत्री संरचना निर्माणमा नगरपालिकाले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता समिति संयोजक रजनी जोशीले चाडपर्वका समयमा अपाङ्गता भएका व्यक्तिको विशेष ख्याल राख्दै सन्तुलित खाना खुवाउनुपर्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र आवश्यक पर्ने सहायक सामग्री वितरण गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अपाङ्गता समिति सदस्य तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सहभागीलाई स्वागत गर्नुभएको थियो । उहाँका अनुसार भक्तपुर नगरपालिकाभित्र हाल ७२६ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य रोसनमैयाँ सुवाल, डा. रत्नसुन्दर लासिवा, अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य हिमालयश्वरलाल मूल तथा जिल्ला बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
Leave a Reply