भर्खरै :

बाल विकास इङलिस सेकेन्डरी स्कूलको फुटसल मैदान उद्घाटन

बाल विकास इङलिस सेकेन्डरी स्कूलको फुटसल मैदान उद्घाटन

भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाल विकास इङलिस सेकेन्डरी स्कूलको नवनिर्मित फुटसल मैदानको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै बाल विकास इङलिस सेकेन्डरी स्कूलले हरेक वर्ष नयाँ–नयाँ कार्यलाई अगाडि बढाउँदै देशकै उदाहरणीय विद्यालयका रूपमा विकास हुँदै आएको बताउनुभयो ।
विद्यालय ज्ञान प्राप्त गर्ने थलो मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने महत्वपूर्ण स्थान भएको उल्लेख गर्दै उहाँले अध्ययनसँगै खेलकुदमा सहभागी हुन पाउँदा विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
विद्यालय तहदेखि नै विद्यार्थीले आफूमाझ रहेको क्षमता प्रदर्शन गर्दै उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरलाई शिक्षासँगै खेलकुदमा समेत उत्कृष्ट नगर बनाउने प्रयास भइरहेको बताउनुभयो ।
भक्तपुरका खेलमैदान स्तरीकरण गर्ने कार्य जारी रहेको उल्लेख गर्दै उहाँले भक्तपुरबाट राम्रा खेलाडी उत्पादन भइरहेको जानकारी दिनुभयो ।
निजी तथा सामुदायिक दुवै विद्यालयको समान रूपमा विकास भइरहेको चर्चा गर्दै उहाँले आगामी कार्तिक महिनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनुभयो ।
बाल विकास इङलिस सेकेन्डरी स्कूल परिवारको तर्फबाट सुरेन्द्रराज गोसाईंले फुटसल मैदान निर्माण विद्यार्थीको खेलकुद विकासका लागि सानो तर महत्वपूर्ण कदम भएको बताउनुभयो । अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि आवश्यक अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । फूटसल मैदान निर्माणले विद्यार्थी खुसी भएको उल्लेख गर्दै उहाँले मैदान निर्माणमा भक्तपुर नगरपालिकाले पु¥याएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
साथै, खेलकुदको विकासका लागि नगरपालिकाले गर्दै आएको प्रयासको चर्चा गर्दै विद्यालयले पनि खेलकुद गतिविधिलाई निरन्तर अगाडि बढाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षक शङ्कर आचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले नवनिर्मित फूटसल मैदानको अवलोकन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरूले मैत्रीपूर्ण फुटसल खेलसमेत खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *