भर्खरै :

नवदुर्गा अःखछेँ निर्माणका लागि उपभोक्ता समिति गठन

नवदुर्गा अःखछेँ निर्माणका लागि उपभोक्ता समिति गठन

भक्तपुर, १८ असोज । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको आयोजनामा आइतबार नवदुर्गा मन्दिर गछेँस्थित प्रशिक्षण कार्यक्रम तथा नवदुर्गा अःखछेँ (नवदुर्गा नाच प्रशिक्षण तालिम घर) निर्माणका लागि उपभोक्ता समिति गठन भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले मल्लकालीन समयअगाडि सञ्चालित मानव समाजमा दिशाबोध गर्ने उद्देश्यका साथ देवगण जात्रा संरक्षण र संवद्र्धन गर्न भक्तपुर नगरपालिका हरेक समयमा तत्पर रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नवदुर्गा देवगण जात्रा समुदायमा आधारित संस्कृति भएको कारण देवगणहरूले सभ्य र भव्य रूपमा जात्रा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देवगण जात्राको विषयक अभिलेखहरू प्रकाशित गर्नुपर्ने विचार व्यक्त गर्दै भक्तपुर सभ्य र व्यवस्थित सहरको रूपमा विकास भई अष्टमातृका देवगण मठमन्दिरबाट घेरिएको ऐतिहासिक सहर भएको जानकारी गराउनुभयो । तालिम घर अःखछँे निर्माणलगत्तै संरक्षणको जिम्मेवारी सम्हाल्न पनि देवगणहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले मानव समाजकै पहिचान बोकेको नेपालकै लामो सांस्कृतिक धरोहर नवदुर्गा जात्राको संरक्षणमा बनमाला अथवा उजाजुहरूको योगदान महत्वपूर्ण रहेको छ भन्नुभयो । भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नेपालकै पहिलो नगरको रूपमा अगाडि बढिरहेको विचार व्यक्त गर्दै उहाँले नवदुर्गा जात्रा, खम्ये जात्रा सभ्य रूपमा सम्पन्न गर्न स्थानीय वडावासीहरूको भेला कार्यक्रममा हुने जानकारी गराउनुभयो ।
यस वर्ष ब्रह्मायणी पीठ मन्दिर पुनः निर्माण गर्ने योजनाबारे जानकारी गराउँदै उहाँले नयाँ पुस्ताका देवगणहरू सचेत र संयमता अपनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार नारायणमान बनमालाले जात्राको महत्वबारे प्रकाश पार्दै देवगणहरू सचेत र सङ्गठित रूपमा जात्रा संरक्षण गरी कसैको लोभलालचमा परी आफ्नो अस्तित्व गुमाउने कार्यमा सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष बालगोपाल बनमालाको सभापतित्वमा भएको सो भेलामा स्वागत राजकुमार बनमालाले गर्नुभयो भने बनमाला समाजका अध्यक्ष आशाकाजी बनमालाले अःखछेँ निमार्णबारे जानकारी दिनुभयो ।
उक्त अःखछेँ नवदुर्गा नाच तालिम घर भनपा वडा नं. ७ स्थित नासचा मन्दिरपछाडिको जग्गामा बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *