भर्खरै :

झीगु ख्वपको १९ औँ साधारणसभा सम्पन्न

झीगु ख्वपको १९ औँ साधारणसभा सम्पन्न

भक्तपुर, १८ असोज । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको १९ औँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं संस्थाका संस्थापक सदस्य उकेश कवांको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष नारायणप्रसाद कवांको सभापतित्वमा शनिबार सम्पन्न भयो ।
प्रमख अतिथि कवांले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
अतिथि उकेश कवांले नेपाली काङ्ग्रेस, एमाले माओवादीलगायत सरकारमा गएका पार्टीहरूले जनताको भावनाअनुरूप काम नगर्दा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जलाएर रास्वपा सरकारमा जाने अवसर मिलेको बताउनुभयो । विदेशको कुरा सुन्न्ो र विदेशी ऋणको भरमा सरकार चलाउनेले देश र जनताको हित गर्न नसक्ने उहाँले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष पुण्यराम कवांले स्वागत गर्र्र्दै समयले जन्माएका संस्थाहरू सदस्य तथा जनसेवामा समर्पित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव आशाकुमार चिकंबञ्जारले संस्थाको आ.व. २०८२।०८३ को प्रगति प्रतिवेदन तथा आगामी वर्षको भावी कार्यक्रम प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष विष्णुप्रसाद किसीले २०८२।०८३ को आर्थिक प्रतिवेदन तथा आ.व. २०८३।०८४ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक अनिता सिंख्वालले २०८२।०८३ को प्रतिवेदन तथा समितिको तर्फबाट सुझाव प्रस्तुत गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि चण्डिका छुकांले समय समयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सहकारी विभागले ऐन, नियम तथा निर्देशन जारी गर्दा समुदायमा आधारित सहकारी संस्थाहरू अलमलमा परेको उल्लेख गर्दै अनुभवी संस्थाहरू जनताको सेवामा समर्पित हुँदै आएको बताउनुभयो ।
संस्थाका कानुनी सल्लाहकार एवं अधिवक्ता रामप्रसाद प्रजापतिले संसद्मा जनताको निःस्वार्थ सेवा गर्ने जनप्रतिनिधि पु¥याउन नसकेमा जनताले दुःख पाउने बताउनुभयो ।
संस्थाका सल्लाहकार नाति कवांले कामदारवर्गको हितमा काम गर्ने पार्टीलाई चुनावमा निर्वाचित गर्नुपर्ने बताउनुभयो ।
संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले सहकारी संस्थाले समाजको सेवा गरेमा जनताको विश्वास बढ्ने र पुरानो पुस्ताले गरेको योगदानले गर्दा आज किसान र मजदुरहरूको जीवन स्तर माथि उठेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सदस्यका छोराछोरीहरूमध्ये एस.ई.ई. मा सार्वजनिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्रा दुई र छात्र दुईलाई मेडल, ट्रफी तथा चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । वासिङ मेसिनमा प्रयोग गरिने सोडा बनाउने तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष पुण्यराम कवां र व्यवस्थापक तुल्सीराम ग्वाछाले आर्थिक कारोबारमा इमानदारीता र पारदर्शिता हुनुका साथै समाज सेवाका कार्यहरू गर्न सकेमा संस्थाप्रति जनविश्वास बढ्ने बताउनुभयो ।
संस्थाका ७० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले फूलको माला, अध्यक्ष नारायणप्रसाद कवांले सम्मानपत्र र प्रमुख अतिथि उकेश कवांले दोसल्ला ओढाई ९१ जनालाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *