सरकारी विज्ञापन निषेध गर्ने सरकारी निर्णय गलत साबित
- असार ३१, २०८३
राजधानीमा विक्री हुने ३० मध्ये २३ वटा प्रशोधित दुध डेरीका ३३ वटा ब्रान्डमा मानव स्वास्थ्यको लागि हानिकारक कोलिफर्म जीवाणु भेटियो । यसरी काठमाण्डौका जनताले सेवन गर्ने दुध र खानेपानीमा मानव मलमा भेटिने कोलिफर्म पाइएको यो पहिलो पटक भने होइन । २०७० असारमा निजी तथा सरकारी डेरीमा गरिएको अध्ययनका क्रममा पनि धेरै दुग्ध उत्पादनमा कोलिफर्म भेटिएको थियो । पाँच वर्षको अन्तरालमा अझै कुनै पनि सुधार नहुनु सरकार जनताको स्वास्थ्यप्रति कति पनि संवेदनशील नरहेको प्रमाण हो ।
काठमाण्डौ उपत्यकामा जनसङ्ख्या वृद्धि, पानीको मुहान कम हुँदै जानु र पशुपालनमा आएको कमीसँगै यो समस्या बढेको हो । स्वच्छ पानीको अभावमा दुध व्यापारीले फोहोर पानीसमेत दुधमा मिसाउँदा दैनिक धेरै मात्रामा प्रयोग हुने पेयपदार्थ पिउन समेत अनकनाउनुपर्ने अवस्था भएको छ । नाफामुखी पुँजीवादी बन्दोबस्तको बिस्तारसँगै व्यापारीले नाफाको निम्ति जे पनि गर्ने प्रवृत्तिले पनि यो समस्या आइरहेको हो । तर नाफाको लागि निजी क्षेत्रले गर्न सक्ने यस्ता अपराध नियन्त्रण गर्नु राज्यको दायित्व हो । राज्यलाई नागरिकले कर तिर्नु र विश्वास गर्नुको मुख्य कारण नै यस्ता समस्याबाट जनतालाई जोगाउने दायित्व बोक्नुले हो । दुधमा कोलिफर्म भेटिएको पाँच वर्षपछि पनि फेरि त्यसमा कुनै सुधार नहुनुले भने सरकार नागरिकले आफूलाई पत्याएको काम गर्न चुकिरहेको देखिन्छ ।
दुधमा खोट भेटिएका दुध डेरीलाई सरकारले कार्वाहीको दायरा ल्याउनुपर्दछ । चेतावी दिंदा दिंदै पनि स्थितिमा सुधार नल्याएका डेरीको अनुमति खारेज गर्न सरकारले खुट्टा कमाउनु हुन्न । तिनका सबै व्यापारमाथि रोक्का गर्नुपर्दछ ।
डेरीले प्रयोग गर्ने गरेको पानीको मुहानसमेत अनुगमन गर्न आवश्यक छ । बढ्दो जनसङ्ख्यासँगै पानीको प्रदुषणले पनि दुध प्रदुषित बन्ने अवस्था बनेको हो । प्रदुषित पानी प्रयोग गरिरहेका डेरीलाई पनि यो काम रोक्न लगाउनुपर्दछ । धेरै डेरी कारखानाको वरपरको मानव बसाइका कारण पनि दुधमा समस्या आएको हो । बस्तीभित्रका डेरीलाई बस्ती बाहिर लानु पर्दछ । बस्तीभित्रको डेरीले एकातिर जनजीवनमा पनि खराब असर गरिरहेको छ भने अर्कोतिर मानवबस्तीका फोहोरले दुधलाई पनि प्रभावित पार्ने सम्भावना हुन्छ ।
प्रचारमा उच्च प्रविधिको प्रयोग भएको बताइए पनि डेरीले दुधको पास्चराइजेसन समेत प्रभावकारी तरिकाबाट गरिरहेका छैनन् । असल दुधबाट फ्याट निकालेर पातलो दुधमात्र प्याकेटिङ गर्ने व्यापारीको नाफामुखी चरित्रका कारण पनि दुधको गुणस्तर कम भएको हो । प्राकृतिक दुधभन्दा पनि रसायन मिसाइएको दुधको अधिकताले पनि जनताको स्वास्थ्यमा प्रभाव पार्दैछ ।
मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता समस्या समाधान सरकारको पहिलो प्राथमिकताभित्र पर्न जरुरी छ । यस्ता कमजोरीमा सरकारले ध्यान दिन सके जनजीवन सुधारिने छ । स्वस्थ नागरिक नै विकसित र समृद्ध देशको सबभन्दा पहिलो मानक हो । जनता अस्वस्थ रहेसम्म कुनै पनि सरकारले सुनकै चम्चाले भात खुवाए पनि त्यो देशका जनता सुखी र सभ्य होइनन् ।
Leave a Reply