भर्खरै :

भक्तपुर नपाको बजेट १ अर्ब ७३ करोड ४० लाख

भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाले १ अर्ब ७३ करोड ४० लाख रूपैयाँको बजेट पेश गरेको छ । चालू तेस्रो नगरसभामा असार १० गते भनपाका उपप्रमुख रजनी जोशीले चालू खर्च ८७ करोड ९३ लाख ८८ हजार र पुँजीगततर्फ रु. ८५ करोड ४६ लाख १२ हजारको बजेट पेश गर्नुभएकोे हो ।
भनपाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा भएको नगरसभामा पेश गरिएको बजेटमा भौतिक पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
भौतिक पूर्वाधार निर्माणको निम्ति ३१ प्रतिशत, शिक्षा र स्वास्थ्यमा २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । प्रस्तुत शिक्षा बजेटमा भनपाद्वारा सञ्चालित कलेजहरूको वार्षिक बजेट समेटिएको छैन ।
अनुमानित बजेटअनुसार ख्वप अस्पतालको लागि रू. १४ करोड, अरनिको सभाभवनको लागि रू. १ करोड, छात्रवृत्ति तथा शैक्षिक ऋणको लागि रू. १ करोड पचपन्न लाख, खेल मैदान तथा कर्भर्ड हल निर्माण गर्न १ करोड ५० लाख, ख्वप विश्वविद्यालय तयारी समिति कार्यदल गठनको लागि रू. १० लाख, ख्वप एफएम र ख्वप टेलिभिजन सञ्चालन गर्न रू. ५० लाख बजेट विनियोजन गरिएको छ ।
बाँकी पृष्ठ ८ मा
भक्तपुर नपाको…
दरबार क्षेत्रस्थित भनपाको पुरानो भवन पुनःनिर्माणको निम्ति रू. १ करोड, व्यवस्थित तरकारी बजारको लागि रू. १५ लाख, हनुमन्ते खोला र खासाङखुसुङ खोला सुधारको लागि रू. ५५ लाख, हस्तकला उद्योगको निम्ति ५५ लाख, नगरका विभिन्न ठाउँमा पार्किङ र बस स्टपको निम्ति रू. ५० लाख छुट्याइएको छ । पर्ति जग्गा संरक्षणको निम्ति रू. २० लाख, बहुउद्देश्यीय भवन निर्माणको लागि रू. १० लाख, आदर निकेतनको निम्ति रू. ५० लाख, बालोद्यानको निम्ति रू. १० लाख, जनज्योति पुस्तकालयको लागि रू. २५ लाख छुट्याइएको छ । राष्ट्रिय कला सङ्ग्रहालय बनाउने पनि योजना नपाको छ । सङ्ग्रहालयको लागि भनपाले रू. १ करोड ३७ लाख छुट्याएको छ ।
बजेटमा युवा तथा खेलकुद समितिको लागि रू. १ करोड ८० लाख, शिक्षा÷स्वास्थ्य तथा संस्कृति समितिको लागि रू. २ करोड ११ लाख, महिला तथा बालबालिका÷समाज कल्याण समितिको लागि रू. ३० लाख, वातावरण तथा पर्यटन समितिको लागि रू. १ करोड, कृषि समितिको लागि रू. ८५ लाख, आर्थिक समितिको लागि रू. ७८ लाख, खानेपानी व्यवस्थापन समितिको लागि रू. ३५ लाख छुट्याइएको छ ।
चालू खर्चअन्तर्गत महत्वपूर्ण ६० वटा कार्यक्रमहरू रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले सशर्त चालू अनुदान रू. २९ करोड १० लाख विनियोजन गरिएको छ ।
साविकका कर शीर्षकहरूमध्ये धेरैजसो यथावत राखी केही आवश्यक करका शीर्षकहरूको दर तथा दायरामा संशोधन तथा थप गर्ने प्रस्ताव पेश गरिएको थियो ।
सभामा नगर प्रमुख सुनिल प्रजापतिले असार ८ गते प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगर सभासद्हरूबीच छलफल गरी पारित गरियो ।
सभाको अर्को बैठक असार १३ गते बुधबार दिनको १ बजे बस्ने नगरपालिका स्रोतले जनाएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *