भर्खरै :

आधारभूत कम्प्युटर तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

आधारभूत कम्प्युटर तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, २६ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित आधारभूत कम्प्युटर तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरूले आफूलाई योग्य र सक्षम बनाउन निरन्तर अध्ययन तथा सीप विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो रुचि र अध्ययनको विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्य राख्दै विद्यावारिधि (पीएचडी) तहसम्म अध्ययन गर्ने उद्देश्य लिनुपर्नेमा जोड दिनुभयो ।
कम्प्युटर शिक्षा औपचारिक शिक्षासँगै हासिल गर्नुपर्ने अतिरिक्त सीप भएको उल्लेख गर्दै उहाँले आफूलाई योग्य बनाउनुका साथै सीपको प्रमाणपत्रले भविष्यमा थप अवसर प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।
राजनीतिको उद्देश्य जनताको सेवा गर्नु भएको उल्लेख गर्दै असल, इमानदार र दक्ष व्यक्तिहरू राजनीतिमा आउनुपर्ने बताउनुभयो । उहाँले महिला हरेक क्षेत्रमा अगाडि बढिरहेको चर्चा गर्दै राजनीतिमा नैतिकता, इमानदारी र विषयगत ज्ञानको महत्व औँल्याउनुभयो । असल राजनीतिक संस्कारको विकास हुन नसक्दा देशले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उहाँले सक्षम र जिम्मेवार राजनीतिक कार्यकर्ता बन्न सबै विषयमा ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले राजनीतिशास्त्र, इतिहास, भूगोल, अर्थशास्त्र तथा नेपालभाषा विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिँदै उहाँले शिक्षामार्फत दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले वर्तमान समयमा कम्प्युटर ज्ञान सबै क्षेत्रमा अनिवार्यजस्तै बन्दै गएको बताउनुभयो । उहाँले आधारभूत कम्प्युटर तालिमले प्रशिक्षार्थीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट प्राप्त ज्ञान र प्रमाणपत्रलाई व्यक्तिगत जीवन, सामाजिक रूपान्तरण तथा देश सेवामा सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले नगरवासीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले नगरवासीहरूलाई सूचना प्रविधिको प्रयोगमा दक्ष बनाउन तथा बदलिँदो समयअनुसार आवश्यक सीप हासिल गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक रमेश प्रजापतिले आधारभूत कम्प्युटर तालिम करियर सुरुवात गर्ने पहिलो खुड्किलो भएको बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरूले आफ्नो सीपलाई समयानुकूल परिमार्जन गर्दै थप उन्नत तालिममा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । कम्प्युटर प्रविधि निरन्तर परिवर्तन भइरहने भएकाले प्रविधिसँगै आफ्नो ज्ञान र सीपलाई अद्यावधिक गर्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।
उहाँले आगामी दिनमा ग्राफिक डिजाइनिङ, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल मार्केटिङ तथा भिडियो सम्पादनजस्ता विषयमा विशिष्टीकृत र उन्नत तालिम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यस्ता सीपको विकासले प्रशिक्षार्थीहरूलाई रोजगारी तथा स्वरोजगारीका नयाँ अवसर प्राप्त गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।
तालिमका प्रशिक्षार्थी मेलिना ङाखुसीले तालिमबाट आफूहरूले कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप हासिल गरेको बताउनुभयो । उहाँले नगरवासीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरेकोमा भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *