सूर्यविनायकका शिक्षकहरूले गरे शुभकामना आदानप्रदानसँगै अध्ययन गोष्ठी
- आश्विन २६, २०८३
भक्तपुर, २६ असोज । आदर्श आजाद माध्यमिक विद्यालय, भनपा–५ परदेशी भीमसेन स्थानमा बिहानी सत्रमा कार्यरत शिक्षक कर्मचारीहरूबिच विजया दसैँ २०८३ को अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भ.न.पा. वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले शुभकामना मन्तव्य राख्दै भन्नुभयो, “संस्कृति भनेको नाचगान, बाजागाजा मात्र होइन व्यवहार हो, मानिसका भौतिक र अभौतिक क्रियाकलापहरू सबै संस्कृति हुन्, धर्म र देवताको आविष्कार मानिसले नै गरेका हुन् ।”
उहाँले भन्नुभयो, “कृषि गर्न सिकेको कार्यसँग जमरा उमार्ने विषय सम्बन्धित छ । उत्पादन प्रक्रियामा कृषि र पशुपन्छी पालन (व्यवसाय) एक अर्कासँग सम्बन्धित छन् । दसैँ धर्मसँग मात्र सम्बन्धित नभई प्रगतिशील र वैज्ञानिक कार्यसँग पनि सम्बन्धित छ ।”
“विद्यालयको विकास भनेको भौतिक सम्पन्नता मात्र होइन, उपलब्ध स्रोत साधनको उपयुक्त प्रयोग र व्यवस्थापन हो । शैक्षिक संस्थाहरूमा जनशक्ति व्यवस्थापन राम्रोसँग गर्न सकियो भने संस्थाको प्रगति हुन्छ । व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकता दिई सबैले काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् समाजसेवी राजेन्द्र चवालले भन्नुभयो, “विद्यालयको प्रगति शिक्षक, विद्यार्थी र अभिभावकहरूको हातमा रहेको हुन्छ । अनुशासित भएर सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरियो भने परीक्षाफल राम्रो हुने मात्र होइन नयाँ पुस्ता योग्य, सक्षम र सीपवान् हुन्छ । आदर्श आजादमा अरुको भन्दा कुनै न कुनै विषयमा राम्रो गर्न सकेमा विद्यार्थी र अभिभावकको आकर्षण हुन्छ ।”
उहाँले भन्नुभयो, “मानिसहरूको आस्था, परम्परा र संस्कृति फरक–फरक विषय हुन् । संस्कृति आर्थिक र सामाजिक अवस्थाले निर्धारण गर्दछ । सामन्तवादी व्यवस्था र पुँजीवादी व्यवस्थामा संस्कृति फरक–फरक हुन्छ । संस्कृतिअनुसार चाडपर्वहरू मनाइन्छ ।”
कार्यक्रममा पूर्व प्र.अ. चक्रबहादुर चाकतुले दसैँलाई सामाजिक एकता र सद्भावको प्रक्रियाको रूपमा मनाउँदै लामो बिदाको समयमा विभिन्न पुस्तकहरू अध्ययन गर्नुपर्ने र आफ्ना अनुभवको आधारमा लेख–रचना तयार गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य सुभद्रा दुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ११–१२ का इन्चार्ज शिवराम बोहजुले लामो बिदामा सामाजिक कार्यमा लाग्न सकिने बताउनुभयो ।
कार्यक्रममा सहभागी भएका सबै शिक्षक कर्मचारीहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । शिक्षक कृष्णश्वरी फाँजूले ‘दसैँ’ शीर्षकको कविता रचना गरी वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुण्यश्वरी सुलुले गर्नुभएको थियो ।
Leave a Reply