भर्खरै :

भृकुटीप्रति तिब्बती जनताको माया आज पनि प्रगाढ

  • आश्विन २६, २०८३
  • सुलोचना छ्वाजु
  • विचार
भृकुटीप्रति तिब्बती जनताको माया आज पनि प्रगाढ

अरनिकोबारे त हामीले पढ्दै–सुन्दै आएका छौँ । सुप्रसिद्ध नेपाली कलाकार अरनिको सन् १९६० मा नेपालबाट चीन प्रस्थान गरेका थिए । अरनिकोले ४० वर्षभन्दा बढी नेपाली र चिनियाँ संस्कृतिको आदानप्रदान एवं प्रचारप्रसारका लागि काम गरे । उनले चीनमा सुखावतीदेवस्वरूप कलाशैलीको प्रवर्तन गरे । ३ वटा विशाल चैत्य, नौवटा बौद्ध विहार र अनगिन्ती चित्र तथा मूर्तिहरूको निर्माणजस्ता उहाँका कलात्मक उपलब्धिहरू चीन नेपालबिच सौहार्दपूर्ण आदानप्रदान इतिहासको सबैभन्दा सुन्दर अध्याय हुन् । श्वेतचैत्य अरनिकोको सर्वोत्कृष्ट कलाकृति मात्र होइन, यो चीन नेपाल मैत्रीको प्रतीक हो भन्ने कुरा चिनियाँहरू स्वयम् स्वीकार्दछन् ।
नेपाल चिनाउने उल्लेखनीय व्यक्तित्वहरूमध्ये भृकुटी पनि एक हुन् । भृकुटीको अध्ययनबिना नेपालको लिच्छविकालीन इतिहास अपूरो हुन्छ । भृकुटीबारे लेखिएका पुस्तकहरू विरलै मात्र भेटिन्छ । हामीसँग कुनै अभिलेखीय स्रोत छैन तर चिनियाँ ताङवृत्तान्तमा भृकुटीबारे उल्लेख छ । त्यसकारण, पनि ‘भृकुटी’ उपन्यास हात पर्ने बित्तिकै पढ्न हतार गरेँ ।
भृकुटी कसकी छोरी हुन् ? भन्ने विषयमा आज पनि इतिहासकारहरूबिच फरक मत पाइन्छ । कसैले अंशुवर्माकी छोरीको रूपमा व्याख्या गर्छन् त कसैले उदयदेवकी छोरी । विशेषतः अंशुवर्माको जीवन वृत्तान्तमा भृकुटीलाई अंशुवर्माकै छोरीको रूपमा व्याख्या गरेका छन् । अध्ययन, अनुसन्धान र विश्लेषण गर्न अझै बाँकी होला ।
राष्ट्रिय विभूति भृकुटी एक उदाहरणीय व्यक्तित्व हुन् । चीनको आकाशमा बौद्ध धर्मलाई चिनाउने र फैलाउने कार्यमा भृकुटीको उल्लेखनीय योगदान छ । भृकुटीले बौद्ध धर्म, दर्शन तथा नेपालको शिल्प एवम् वास्तुकलालाई तत्कालीन तिब्बतमा विस्तार गरेकी थिइन् । जसका कारण नेपालको सम्मान आजसम्म त्यति नै कायम छ । भृकुटीप्रति तिब्बती जनताको माया आज पनि प्रगाढ छ ।
संयोग भनौँ, पुस्तक परिचय लेख्दै गर्दा मोबाइलमा एउटा नोटिफिेकेसन आयो । चीनको कान्सु प्रान्तको ह च्वः सहर भन्ने ठाउँको एउटा पुरानो गुम्बाको फोटो रहेछ । उक्त गुम्बाभित्र नेवार चेलीको मुखाकृति भृकुटीको प्रतिमा स्थापित छ । जहाँ रञ्जना लिपिका थुप्रै अक्षरहरू कुँदिएको देखिन्छ । यसबाट हामी के बुझ्न सक्छौँ भने तिब्बत मात्र होइन, आज चीनका प्राचीन सहरहरूमा भृकुटीलाई त्यति नै सम्मान दिएको पाइन्छ । मैले चीन भ्रमणको क्रममा पनि अनुभव गरेँ । यो हामी नेपालीको निम्ति गौरवको विषय हो ।
यसै सन्दर्भमा साङ्ग्रिला मिडिया ग्रुपद्वारा प्रकाशित ऐतिहासिक उपन्यास ‘भृकुटी’ पढ्ने अवसर मिल्यो । ‘भृकुटी’ उपन्यासकार गोविन्दप्रसाद कुसुमले लेखेकोे जीवनीपरक कृति हो । उपन्यास रोचक, चाखलाग्दो र जानकारीमूलक छ ।
इतिहाससम्बन्धी पुस्तकहरू, इतिहासविद्हरूसँगको कुराकानी, जनश्रुति र किंवदन्तीको आधारमा तयार पारिएको ‘भृकुटी’ उपन्यासलाई लेखकले सकेसम्म जीवन्त बनाउन खोजेका छन् । तर, उपन्यासमा सत्यताभन्दा कल्पनाको मिश्रण ज्यादा छ । त्यसैले त लेखक भन्छन् – ‘यो इतिहासभन्दा बढीे उपन्यास हो ।’ इतिहासमा नेपाल चिनाउन सफल भृकुटीको योगदानबारे जानकारी दिने उद्देश्यले लेखेको उपन्यास हो ‘भृकुटी’ ।
‘भृकुटी’ लिच्छविकालका एक राजकुमारीले राजनीतिमा खेलेको भूमिका, तत्कालीन परिस्थितिमा तिब्बतसँग वैवाहिक सम्बन्ध कायम गर्नुपर्नाको अवस्था, वैवाहिक प्रक्रिया, तिब्बतका राजाको नेपालप्रतिको सम्मान, श्रङचङ गम्पोसँगको वैवाहिक सम्बन्धपछि तिब्बतमा भृकुटीले खेलेको राजनीतिक, कूटनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक भूमिका, भृकुटीको जन्मभूमिप्रतिको अथाह प्रेम आदि पृष्ठभूमिमा तयार पारेको उपन्यास हो ।
उपन्यास बाग्मती नदीको सेरोफेरोमा रमाइरहेका राजकुमारी र उनका साथीहरूको रमाइलो कुराकानीबाट सुरू हुन्छ । सुरूमै राजकुमारी भृकुटीलाई एक समाजसुधारकको रूपमा देखाइएको छ । बाल विवाह भएको र पछि विधवा बनेकी साथी राज्यवतीको जीवन सरल बनाउन भृकुटीले चालेको प्रयास उदाहरणीय छ । लिच्छविकालमा सतीप्रथा कायम थियो तर अनिवार्य भने थिएन । सती नगई बसेका विधवाले स्वतन्त्रपूर्वक जीवन बाँच्न कठिन थियो । जीवन अर्थहीन महसुस गरेकी राज्यवतीलाई उत्साहित बनाउन भृकृटीले भनिन्– ‘काँडामा हिँड्नेहरू आफ्नो लक्ष्यमा छिट्टै पुग्छन् । किनकि, काँडाले हिँडाइको रफ्तार बढाउँछ । जीवन सुखी र खुसी राख्नुपर्छ । हामीले समाज परिवर्तन गर्न हर किसिमले प्रयास गर्नुपर्दछ । अन्धविश्वासयुक्त समाजको विरोधमा लागेर भए पनि यदि चाहना छ भने पुनर्विवाह गर्नुपर्छ ।’ उपन्यासमा भृकुटीलाई समाजको एक सकारात्मक पात्र वा त्यस समयको प्रगतिशील विचारकका रूपमा चित्रण गरिएको छ ।
छैटौँ शताब्दीतिर तिब्बतका राजा श्रङचङ गम्पोले आफ्नो मन्त्री थोन्सी शंभोतामार्फत नेपालकी राजकुमारी भृकुटीसँग विवाह गर्न चाहेको प्रस्ताव राजा अंशुवर्मासमक्ष लिएर जान्छन् । आफ्नो राज्यको शान्ति सुरक्षा र छिमेकी राज्यसँगको मित्रता कायम गर्न राजा अंशुवर्माले उक्त प्रस्ताव स्वीकार्छन् । भृकुटी आफै मन्त्री शंभोतासँग तिब्बत जान राजी हुन्छिन् । सुरूमा तिब्बतसँगको सांस्कृतिक बेमेलका कारण वैवाहिक सम्बन्धलाई भृकुटीले अनौठो मानेकी हुन्छिन् । तिब्बतको संस्कृति, भाषा, धर्म, भूगोल फरक हुनु स्वाभाविक हो । नेपालको संस्कृत र पालि भाषा तिब्बतीयनहरूले बुझ्ने कुरै भएन । त्यसकारण, चिन्तनशील प्रवृत्तिका भृकुटीले यसको लागि अग्रीम तयारी गरिन् । भृकुटीसँगै साथी राज्यवती, सेना, बौद्ध धर्मका गुरू पद्मसम्भव, भाषा शिक्षकहरू, विद्वान, उच्च कोटीका भिक्षुहरू, शिल्पकार, कालीगढहरूलाई पनि सँगै लगिन् । त्यस्तै भृकृटीको आग्रहअनुसार साथी राज्यवतीले अक्षोभ्य, मैत्रय र ताराका मूर्तिहरू साथ लिएर प्रफुल्ल मनका साथ अगाडि बढिन् । तिब्बतीहरूको रहनसहन, खानपिन, बोलीचाली, भाषा, संस्कार र संस्कृतिसँग घुलमिल हुन अनेक चुनौतीहरूको सामना गर्नुपर्ने कुरामा भृकुटी अवगत थिइन् । दलबलसहित आएका तिब्बती समूहले राजकुमारीलाई उच्च सम्मानका साथ सुरक्षित लान्छन् ।
केरूङ हुँदै ल्हासा पुगेकी भृकुटीको भव्य स्वागत हुन्छ । पछि हिन्दू धर्मअनुसार तिब्बतका राजा श्रङचङ गम्पोसँग विधिवत् विवाह हुन्छ । विवाह सम्पन्न भइसकेपछि भृकुटीले नेपालको भूमि छोड्दा र तिब्बतको भूमि छुँदा लिएको माटोको दुई सुर्केथैली श्रङचङ गम्पोको हातमा राख्छिन् । उक्त दुई सुर्के थैलीको महत्वबारे मन्त्री शंभोताले विवाह समारोहमा उपस्थित सबैलाई – ‘यी दुई राज्यको माटोलाई एउटै ठाउँमा राख्नुको अर्थ हो – नेपाल र तिब्बत दुई राज्य भए पनि आजदेखि हाम्रो सांस्कृतिक र सामाजिक सम्बन्ध एउटै ठाउँमा गाँसिएको छ । नेपाल र तिब्बत दुःख–सुखका अभिन्न मित्र भएका छन् । जस्तोसुकै कठिनाइ आए पनि एकले अर्कोको सहयोग दिलो ज्यान लगाएर गर्नेछन् ।’ भनी उद्घोष गरे । विधिवत् रूपमा भृकुटी तिब्बतको रानी बनेपछि त्यहाँको राजकाजमा सहयोग गरिन् ।
विवाहपछि भृकुटीले नेपालको संस्कृत भाषा र लिपि सिकाउन आवश्यक पहल गरिन् । बौद्ध ग्रन्थहरूलाई तिब्बती भाषामा उल्था गरिन् । बौद्ध दर्शनको प्रचारार्थ अग्रणी भूमिका निभाइन् । नेपाल र तिब्बतबिचका सीमा नाकामा बौद्ध मन्दिर र विहार बनाउन लगाइन् । यसबाट मानिसहरू आउने जाने क्रम बढ्यो । नेपाल र तिब्बतबिचको व्यापार व्यवसाय फैलियो र राज्यकोषमा राजस्व बढ्यो । बौद्ध धर्मको प्रचारप्रसार, गुम्बा र मन्दिर निर्माण, शिक्षा र संस्कृतिको विकास र विस्तारमा भृकुटीको एकाग्र भाव र लगनशील चित्त देखेर तिब्बतवासीहरू अत्यन्त प्रभावित भए ।
यसप्रकार भँेडा, घोडा र चौरीहरूको भूमि मानिने रासा सहरलाई सुन्दर, आकर्षक र कलात्मक बनाउने काम भृकुटीले गरिन् । धेरै बौद्ध मन्दिरहरू, गुम्बाहरू, विहारहरूको निर्माणपछि रासा सहर नै ‘ल्हासा’
(देवभूमि) नामले आजसम्म पनि प्रसिद्ध छ । साथै भृकुटीलाई तिब्बतकी ‘हरित तारा’ भनी सम्मान दिएको देखिन्छ ।
सातौँ शताब्दीका भृकुटीले त्यसबेलाको परिस्थितिमा खेलेको भूमिका प्रशंसनीय छ । भृकुटीको कार्यबाट आजका नेपाली महिलाहरूले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका विषयमा ज्ञान लिन आवश्यक छ ।
उपन्यासमा उपन्यासकारले गरेको वर्णन पढ्दै गर्दा कुनै चलचित्र हेर्दै गरेको अनुभूति भयो । भविष्यमा भृकुटीको विषयमा चलचित्र बने यो उपन्यास उपयोगी हुन सक्छ । ४४९ पृष्ठको यो उपन्यासले जटिल इतिहासलाई सरल भाषामा बुझ्न मद्दत पु¥याउँछ । उपन्यासमा प्राचीन बस्ती र पात्रहरू उल्लेख हुँदा ऐतिहासिक कृति पढिरहेको अनुभव हुन्छ ।
ऐतिहासिक विषयवस्तुमा आधारित यस उपन्यास वा साहित्य लेख्दा कतिपय इतिहास तोडमोड वा भ्रम फैलिने सम्भावनाबारे सजग हुन जरुरी छ । उपन्यासका कतिपय विषयहरूमा थप गहिरो अध्ययनको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *