राजनीति देश र जनताको समस्या समाधानका लागि हुनुपर्ने
- कार्तिक १, २०८३
भक्तपुर, ३१ असोज । देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक देशको मुख्य चाड दसैँमा पनि निरन्तर प्रकाशन हुनेछ । दसैँ र तिहारमा पनि प्रकाशन हुने यो पत्रिका वर्षभरि प्रकाशित हुँदै आएको छ । विगतमा झैँ यस पत्रिकाका लागि लेख–रचना, विज्ञापन, पाठकपत्र तथा समाचार पठाइरहने छ भन्ने हाम्रो विश्वास छ । विभिन्न सञ्चारकर्मी तथा पत्रिका वितरकहरूले पनि समयमै समाचार पठाउने र प्रकाशित पत्रिका ग्राहकसमक्ष पु¥याउने जिम्मेवारी पूरा गर्ने हाम्रो विश्वास छ ।
यस पत्रिकाका लागि बेलाबखत लेख–रचना दिने लेखक, कथा तथा कविता दिने कथाकार र कवि, सल्लाह–सुझाव दिने तथा लेख–रचनाबारे समीक्षा गर्ने समालोचकहरूले पु¥याउनुभएको योगदान स्मरणीय छ । अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटना, आन्दोलन तथा आन्दोलनप्रति ऐक्यबद्धतालगायत विषयमा अनुवाद गर्ने अनुवादकहरूको योगदानले पनि पत्रिका प्रकाशन गर्न र देश–विदेशका विषयमा जानकारी दिएर पाठकलाई सुसूचित पार्न थप टेवा पु¥याएको छ ।
पत्रिकाको निरन्तर प्रकाशनमा साथ र सहयोग गर्ने सञ्चारकर्मी, कर्मचारी, विज्ञापनदाता, पत्रिका वितरक तथा ग्राहकहरूको योगदान कम महत्वको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना परिघटनाबारे जानकारी दिने र श्रमजीवीवर्ग तथा बौद्धिकवर्गको प्रतिनिधित्व गर्ने ‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो† यो वामपन्थी पत्रिका हो ।
कम्युनिस्ट पार्टीका सिद्धान्त र विचार गाउँ–बस्तीमा पु¥याउने तथा जनताको राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांस्कृतिक स्तर उठाउने काममा ‘मजदुर’ दैनिक प्रयत्नशील छ । यस पत्रिकाले विस्तारवाद र साम्राज्यवादको विरोध गर्दै आएको छ । सङ्गठित र सचेत जनशक्तिले नै परिवर्तन गर्न सक्छ भन्ने विश्वासका साथ ‘मजदुर’ दैनिक लागिपरेको छ ।
देश–विदेशका प्रतिक्रियावादी, सामन्त, शोषक, जालीफटाहा तथा पुँजीपतिवर्गले शासन र शोषण गरिरहेसम्म देशका बहुसङ्ख््यक जनताको हित नहुने भएकोले देशमा परिवर्तनका लागि सङ्घर्ष अपरिहार्य छ । कम्युनिस्ट पार्टी भन्ने तर कम्युनिस्ट पार्टीका सिद्धान्त र विचारअनुसार काम नगर्ने पार्टीहरूको आलोचना गर्ने तथा आलोचनामार्फत खबरदारी गर्ने काम यस पत्रिकाले गर्दै आएको छ । यस पत्रिकाले कुनै पनि देशमाथि हुने थिचोमिचो, आक्रमण, दबाब, भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा तथा बेथितिविरूद्धका समाचार र लेख–रचना प्रकाशित गर्दै आएको छ । हरेक नागरिक देशभक्त, अनुशासित, चरित्रवान्, नैतिकवान् तथा दूरदर्शी हुनुपर्छ भन्ने यस पत्रिकाको मान्यता हो ।
अतः विगतमा झैँ आगामी दिनमा पनि पत्रिकाको निरन्तर प्रकाशनका लागि यहाँहरूको अमूल्य समय, सहयोग र साथ प्राप्त हुने हाम्रो विश्वास छ । यहाँहरूको सहयोग र साथले नै ‘मजदुर’ दैनिक निरन्तर प्रकाशित भइरहेको छ । दसैंको यस पावन अवसरमा देशभक्त, न्यायप्रेमी तथा शान्तिकामी नेपाली जनता, सञ्चारकर्मी, पाठक, ग्राहक, विज्ञापनदाता, लेखक, कवि, कथाकार, समालोचक, बुद्धिजीवी, व्यापारी–व्यवसायी, पत्रिका वितरक, किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, महिला तथा सर्वसाधारण जनताको सुस्वास्थ्यको कामनासहित ‘मजदुर’ दैनिक परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
Leave a Reply