राजनीति देश र जनताको समस्या समाधानका लागि हुनुपर्ने
- कार्तिक १, २०८३
भक्तपुर, ३१ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विजयादशमी तथा दीपावली २०८३ को अवसरमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगर सफा गर्ने महत्वपूर्ण जिम्मेवारी सफाइकर्मीहरूको काँधमा रहेको बताउँदै सफाइकर्मीहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक व्यक्तिको आ–आफ्नो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्दै उहाँले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सफाइकर्मीले आफ्नो पेसाप्रति गर्व गर्न सक्नुपर्ने बताउँदै नगर प्रमुख प्रजापतिले अरूसँग तुलना गरेर हीनताबोध गर्न नहुने धारणा व्यक्त गर्नुभयो । सफा, सुन्दर र स्वस्थ नगर निर्माण गर्नु सबैको साझा उद्देश्य रहेको उल्लेख गर्दै उहाँले आदर्श नगर निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।
आफू बस्ने ठाउँ सफा राख्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै उहाँले विगतमा फोहोरका कारण बदनाम भक्तपुरले अहिले सरसफाइका माध्यमबाट आफ्नो प्रतिष्ठा बढाउन सफल भएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै सफाइकर्मीले आफ्नो पेसाप्रति हीनताबोध नगरी आत्मसम्मानका साथ काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले नगरको सौन्दर्यकरणमा सफाइकर्मीहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । चाडपर्वलाई मर्यादित ढङ्गले मनाउनुपर्ने उल्लेख गर्दै उहाँले नगरलाई सफा राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
स्रोतबाटै फोहोर व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले जनतालाई सचेत र उत्साहित गर्दै आएको बताउँदै उहाँले फोहोरको उचित व्यवस्थापनका लागि सबै नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवाल र वडा इन्चार्ज रामकृष्ण प्रजापतिले पनि विजयादशमी तथा दीपावलीको शुभकामना व्यक्त गर्दै सफाइका काममा विशेष ध्यान दिएर जिम्मेवारीपूर्वक कार्य गर्न सफाइकर्मीहरूलाई अनुरोध गर्नुभयो ।
Leave a Reply