भर्खरै :

साहित्यले जनतालाई राजनैतिक चेतना जगाउन हतियारको काम गर्ने

साहित्यले जनतालाई राजनैतिक चेतना जगाउन हतियारको काम गर्ने

दैलेख, २ कार्तिक । पञ्चकोसी साहित्य समाज दैलेखको आयोजनामा असोज ३१ गते विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम चामुण्डा बिन्द्रासैनीको जम्बुकाँध बजारमा सम्पन्न भयो ।
पञ्चकोसी साहित्य समाज दैलेखका कोषाध्यक्ष धनकुमारी शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले प्रगतिशील साहित्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै दसैँ तिहारमा साहित्यिक कार्यक्रमहरू अगाडि बढाउनु राम्रो हो भन्नुभयो । साहित्यले जनतालाई राजनैतिक चेतना जगाउन हतियारको काम गर्ने चर्चा गर्दै उहाँले साहित्य समाजले कार्तिक ७ गते गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा केसेन्द्रप्रकाश कार्कीले पञ्चकोसी साहित्य समाजले विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजमा दबिएर रहेका कला र साहित्यलाई उत्साहित गर्नुपर्छ भन्नुभयो ।
चामुण्डा विन्द्रासैनी नगरपालिका वडा ३ का पूर्ववडा अध्यक्ष निरकबहादुर शाहीले ‘किन ढोगे विदेशीलाई’ भन्ने शीर्षकको कविता वाचन गर्दै समाजले आफ्ना गतिविधिलाई तिव्रता दिनुपर्छ भन्नुभयो ।
चामुण्डा कलेजका सहायक क्याम्पस प्रमुख नगेन्द्र कार्कीले हुँदा खानेहरूको पक्षमा साहित्यले आवाज उठाउनुपर्छ भन्दै चाड पर्व पनि वर्गीय हुने चर्चा गर्नुभयो ।
जयदेव मा.वि.का प्रधानाध्यापक तिलकप्रसाद शर्माले पञ्चकोसी साहित्य समाजको साहित्यिक यात्राले निरन्तरता पाओस् भन्नुभयो । भैरव मा.वि. डौसुरका सहायक प्रधानाध्यापक हर्कबहादुर शाहीले प्रगतिशील साहित्यलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पञ्चकोसी साहित्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा खगेन्द्रबहादुर शाहीले आफ्नो कला, संस्कृतिलाई जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । देउडा गायक नन्दाराम रेग्मीले यस्ता कार्यक्रमले निरन्तरता पाउँदै जाओस् भन्नुभयो । कृष्णप्रसाद ढकाल, मान शाही र जयकला वि.क.ले पनि पञ्चकोसी साहित्य समाजले सबै किसिमका कला र साहित्यलाई समेट्नुपर्नेमा जोड दिनुभयो । दीपक शाहीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा पूजा ढकालले शुभकामना दिँदै कविता वाचन गर्नुभएको थियो ।
हिमालय माविका प्रधानाध्यापक हर्कबहादुर वि.क.ले साहित्यले समाजलाई सही बाटो देखाउने चर्चा गर्दै देशमा आमूल परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयो । चामुण्डा बिन्द्रासैनी वडा नं. ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईले पञ्चकोसी साहित्य समाजले आफ्नो क्षेत्रलाई बढाउँदै लगोस् भन्दै सुझाव दिनुभयो ।
यसैगरी नेमकिपा चामुण्डा विन्द्रासैनी वडा नं. ३ वडा समितिको आयोजनामा असोज ३० गते चामुण्डा विन्द्रासैनीको वडा नंं ३ मा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेशका सदस्य निरकबहादुर शाहीले पदमा जानकै लागि राजनीति गर्नु गलत हुने चर्चा गर्दै निःस्वार्थ रूपमा जनताको सेवा गर्नु आजको आवश्यकता हो भन्नुभयो । राज्य चलाउने राजा शुद्धोधनको भन्दा राज्य सत्ता त्याग्ने गौतम बुद्धको प्रचार धेरै भएको चर्चा गर्दै उहाँले पुँजीवादी व्यवस्थाको अन्त्य नभएसम्म गरीब जनताले दुःख पाइरहनेछन् भन्नुभयो । रास्वपा सरकारले पुरानै पुँजीवादी विचारलाई अगाडि बढाएको चर्चा गर्दै सम्पत्तिमा सीमा तोक्ने, योग्यताअनुसारको ज्यालाको बन्दोबस्त गरी शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्न नसक्ने वर्तमान सरकार कसरी नयाँ हुन सक्छ भनी उहाँले प्रश्न गर्नुभयो ।
नेमकिपा चामुण्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाहीले पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार र कमिसन रहिरहने चर्चा गर्नुभयो । उत्पादनका साधनलाई राष्ट्रियकरण नगरी निजीकरणलाई अगाडि बढाउने सरकार कसरी नयाँ हुन सक्छ भन्दै अध्यक्ष दीपक शाहीले समाजवादी व्यवस्था स्थापनाका लागि सचेत र सङ्गठित कार्यकर्ता आवश्यक छ भन्नुभयो । चाविनपा वडा नं. ३ का वडा अध्यक्ष दीपबहादुर शाहीले पुँजीवादी व्यवस्थाभित्रका विकृति र विसङ्गति हटाउन युवाहरू सचेत हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा बमबहादुर मलेइ, बासुदेव कँडेल, नारायणकुमार शाही, बमबहादुर तारामी, रत्नबहादुर सार्की, टेकबहादुर तारामी, ऐनबहादुर खप्तडी, हस्तबहादुर वि.क, दानकला मिजार र रवीन्द्र सुनारले पनि भाग लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *