भर्खरै :

खँम्ये जात्रा व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गरिने

खँम्ये जात्रा व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गरिने

भक्तपुर, २ कार्तिक । विजया दशमीको नवमीका दिन हरेक वर्ष मनाइने भक्तपुरको ऐतिहासिक खँम्ये जात्रालाई व्यवस्थित, अनुशासित र सभ्य रूपमा सञ्चालन गर्ने विषयमा सोमबार भक्तपुर नगरपालिका–९ नं. वडा कार्यालयमा सरोकारवालाहरूबिचको बैठक सम्पन्न भयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वको अध्यक्षतामा बसेको उक्त बैठकमा नवदुर्गा देवगण र खँम्येको बलि दिने साही समाजका प्रतिनिधिका साथै स्थानीय युवाहरूको उत्साहजनक उपस्थिति थियो ।
बैठकमा वडाध्यक्ष ज्याख्वले सांस्कृतिक सद्भावका रूपमा नागरिक तहबाट सञ्चालन गरिने जात्राको व्यवस्थापनमा सबै पक्षले स्वयंसेवा गरिरहेको चर्चा गर्दै खँम्येलाई सुरक्षित रूपमा ब्रह्मायणी मन्दिरसम्म पु¥याउन तथा निर्धारित समयमै सहज तरिकाले बलि दिन सबैको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले वडा कार्यालयमार्फत सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले खँम्ये जात्राको विधिविधानबारे जानकारी दिँदै समयमै जात्रा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताउनुभयो ।
समितिका अध्यक्ष बालगोपाल बनमाला र सचिव लक्ष्मीप्रसाद बनमालाले नवदुर्गा सबैको आस्थाको केन्द्र भएकोले पूजाआजा र दर्शन गर्न सबैजना आउने भए पनि खँम्ये जात्रालाई सहज र व्यवस्थित बनाउन सरोकारवालाहरूसँग सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
साही समाजका अग्रज मुकेश शाहीले खँम्येलाई सास्ती नदिन अनुरोध गर्दै आफ्नो समुदायका तर्फबाट जात्रा सफल पार्न सबै प्रकारको सहयोग हुने स्पष्ट पार्नुभयो ।
स्थानीय युवाहरू लक्ष्मी चवाल, उत्तम ज्याख्व, धर्मभक्त मानन्धर, गणेश मुस्याख्व, राजकुमार प्रजापतिलगायतले जात्रा सञ्चालनका लागि व्यवस्थित तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
मङ्गलबार दिउँसो ४ बजे नवदुर्गा द्योछेँबाट खँम्ये जात्रा सुरु गरिने र समयमै ब्रह्मायणी मन्दिरमा खँम्येको बलि दिने गरी तालिका तयार भएको वडाध्यक्ष ज्याख्वले जानकारी दिनुभयो ।
जात्रा सुरु हुनुअघि नवदुर्गा द्योछेँ परिसरमा ताथलीका कलाकारहरूले सामूहिक धिमे नृत्य प्रस्तुत गर्नेछन् । साथै, साँझ ५ बजे ब्रह्मायणी मन्दिर परिसरमा पनि नृत्य प्रस्तुत गरिने बताइएको छ ।
जात्राको क्रममा अवाञ्छित गतिविधि नगर्न र अनुशासित रूपमा जात्रा सम्पन्न गर्न वडा कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *