भर्खरै :

सम्पदा पुनः निर्माणमा पुरातत्वको लापरबाही

भक्तपुर, १३ असार । पुरातत्व विभागको लापरबाहीका कारण भक्तपुर दरबार क्षेत्रका सम्पदाको पुनः निर्माण कमसल र मापदण्डविपरीत भएको छ । २०७२ सालको भूकम्पले भत्काएका र क्षति पु¥याएका स्मारकहरूको पुनःनिर्माण पुरातत्व विभागले ठेक्कामा दिंदा र ठेकेदारले कमसल निर्माण सामग्री र सम्पदाको महत्वबारे न्यूनतम जानकारीसमेत नभएका कालिगडको प्रयोग गरी हतारमा काम गर्दा युगौं पुराना स्मारकहरूले आफ्नो मौलिक स्वरुप गुमाउने खतरा बढेको छ ।
भक्तपुर दरबार क्षेत्रको तलेजु मन्दिरभित्र रहेको दुमः ज्यू पुखुको पुनःनिर्माणका क्रममा त्यहाँ रहेका सबै रुखमात्र काटिएनन्, बरु मल्लकालीन इँट्टाहरू प्रयोग गरी सोलिङ गरिएका छन् । तात्कालीन समयको प्रतिबिम्ब झल्किने अक्षरहरू रहेका इँट्टा भूइँमा छापी माथिबाट सिमेन्टको ढलान गर्दा शताब्दीऔं पुराना स्मारकहरू नासिने भएका छन् । त्यहाँ सोलिङ गरिएका कतिपय इँट्टाको भित्री पाटामा सो स्थानको पहिलेको मौलिकता झल्किने अक्षर लेखिएका थिए । तर तिनको कुनै पर्वाह नगरी सम्पदा संरक्षणबारे ज्ञान नभएका काम गर्नेले ठेकेदारको आदेशमा सोलिङ गरे । पुनःनिर्माणको जिम्मेवारी बहन गरिरहेको र सम्पदा संरक्षणको लागि जिम्मेवार सरकारी निकाय पुरातत्व विभागले सोसम्बन्धमा कुनै अनुगमन गर्ने र गल्ती सच्याउने काम गरेन ।
पुराना स्मारक नासेर गरिएको यस्तो पुनः निर्माणका पुरातत्व विभागको भक्तपुर दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड २०७४ विपरीत छ । मापदण्डको बुँदा नं ६.५ मा ‘साविक भइरहेको बिछ्याइको मर्मत तथा बिछ्याई बिगारी गर्नुपर्ने वा पुनः निर्माण गर्नुपर्ने भएमा पुरानै सामग्रीको प्रयोग गर्नुपर्ने र नयाँ सामग्रीको प्रयोग गर्नुपर्ने अवस्थामा आए पुरानोसँग मेल खाने सामग्री प्रयोग गर्न सकिने’ उल्लेख छ । तर दुमः ज्यू पुखुमा मात्र नभई तलेजुका अन्य स्मारकको पुनःनिर्माणमा समेत यो बुँदा मिचिएको छ । दुमः द्यः को फोहोर पानी दुमः पुखुमा मिसाउन प्लास्टिकको कालो पाइप बाहिर देखिने गरी जडान गरिएको छ । यसले पनि मापदण्डको उल्लङ्घन भएको छ ।
साथै पोखरीको वरपर पर्खाल निर्माणमा बालुवा र सिमेन्टको प्रयोग गरिएको छ । यसरी बालुवा र सिमेन्टको प्रयोगले कालान्तरमा पानीको मुहानमा समेत नकारात्मक प्रभाव पार्ने विज्ञहरूको भनाइ छ ।
स्मारक पुनःनिर्माणमा इँट्टा जोड्न प्रयोग गरिएको सुर्कीलाई दिगो बनाउन पानीले छुवाउन नहुनेमा सम्बन्धित ठेकेदारले लगाएका मानिसहरुले पानी प्रयोग गरेको भेटिएको छ । सम्पदा स्मारक संरक्षणबारे ज्ञान नभएका मजदुर र सस्तो सामान प्रयोग गरी नाफामा काम सकाउने ठेकेदारको प्रवृत्तिका कारण यस्तो हुन गएको बताइन्छ, तर यसमा दोष पुरातत्व विभाग र ठेकेदारकै हुनेछन् ।
दरबार क्षेत्रको द्वारिकानाथ कृष्णमन्दिरको पेटीमा निकै कमसल तरिकाबाट इँट्टा बिछ्याइएको छ । सोसम्बन्धमा भक्तपुर नपाले पटक पटक ठेकेदारलाई खबर र चेतावनी दिंदा समेत कमसल निर्माण गरिएको छ । सो मन्दिरको काठका मूर्तिमा समेत सिमेन्ट प्रयोग गरी चिरा टाल्ने प्रयास गरिएको छ जसले काठेमूर्ति भद्दा बनाएकोमात्र होइन, त्यसको मौलिकतासमेत नष्ट गरेको छ । त्यस्तै शस्त्र वत्सला मन्दिरको आधारमा निकै कमसल ढु·ाको प्रयोग गरिएको पाइएको छ ।
तलेजु मन्दिरका तोरण, टुँडाल र काठ बेवारिसे रुपमा आकाशमुनि राख्दा धेरै काठ मक्किएको छ । तर तिनको संरक्षण गर्नमा कुनै चासो वा बन्दोबस्त पुरातत्व विभागले गरेको छैन ।
देशकै गौरव र पर्यटन उद्योगको मुख्य आधारको रुपमा रहेका स्मारकहरूको पुनः निर्माण र जीर्णोद्धारमा सरकारी निकायबाट भएको यस्तो लापरबाही आपत्तिजनक भएको जनताको भनाइ छ । मल्लकालीन ऐतिहासिक स्मारकको महत्वसमेत थाहा नपाएका र नाफाका लागि कमसल र सस्तो निर्माण सामग्री प्रयोग गर्ने ठेकेदारका कारण पुर्खाले मिहिनेतका साथ बनाएका ती धरोहर सबै सड्ढटमा पर्ने खतरा बढेको छ । सो सम्बन्धमा नगरपालिकाअन्तर्गत स्मारक क्षेत्र संरक्षणका कर्मचारीहरूसमेत दोषी भएको सर्वसाधारणको भनाइ छ । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने पुनःनिर्माण कार्य तीन वर्षसम्म पनि नसकिएकोमा पुरातत्व विभाग दोषी रहेको प्रस्ट छ भनी जनता गुनासो गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *