“जनताका समस्या समाधान गर्न जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन्”
- मंसिर ७, २०८३
भक्तपुर, ६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई सरकारले नयाँ विषयको स्वीकृति नदिई योजनाबद्ध तरिकाले विद्यार्थीलाई निजी कलेज, विदेशी सम्बन्धन प्राप्त कलेज वा विदेश पठाउने गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ३ कार्यालयद्वारा आयोजित एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर र विद्यावारिधि उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नगरपालिकाले नगरका हरेक विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययन गर्ने सुनिश्चितता प्रदान गरिरहेको बताउनुभयो ।
“नगरपालिकाले विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था, नपाद्वारा सञ्चालित कलेजहरूमा गरिब तथा जेहेनदार विद्यार्थीका लागि वर्षको ४ करोडभन्दा बढी छात्रवृत्ति वितरण र गरिब परिवारका विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “अरुको मुख ताक्नेहरू आत्मनिर्भर हुनसक्दैनन् । आत्मनिर्भरता नै स्वाभिमानीपूर्वक बाँच्ने सहज उपाय हो । कसैले दिन्छ भनेर आशा गरेर बस्ने होइन; आफ्नो ठाउँको विकास आफैले गर्ने प्रयास गर्ने हो । जनतासँग समन्वय र सहकार्य गर्दै भक्तपुर नगरपालिका अगाडि बढिरहेको छ ।”
सबै विषय उत्तिकै राम्रो भएको बताउँदै उहाँले हरेक विद्यार्थीले एउटा एउटा विषयमा विशेषज्ञता हासिल गरी देश र जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारको कार्यशैलीबारे उल्लेख गर्दै उहाँले भन्नुभयो, “भोटेकोसी बाढीका पीडितहरूले अहिलेसम्म राहत पाउन सकेका छैनन् । बीसौँ अर्ब रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । पीडितहरूको हातमा नपुग्ने हो भने त्यो सहयोग रकमको के अर्थ ?”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले नेपालमा काम नगरी निर्माण क्षेत्रमा प्रमाणपत्र मात्र पेस गर्नेहरूको सङ्ख्या २७ हजार रहेको जानकारी पाएको बताउँदै त्यस्तो काम गलत भएको बताउनुभयो ।
उहाँले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट मात्र भक्तपुरका सयौँ विद्यार्थीलाई इन्जिनियर बनाइसकेको उल्लेख गर्दै ख्वप सर्कलबाट देशभरिका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
स्थानीय समाजसेवी रामसुन्दर खाताखो, विद्यार्थी प्रतिनिधि मनिष गोरालगायतले बोल्नुभएको उक्त कार्यक्रमको सभापतित्व भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले विभिन्न विधामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
Leave a Reply