भर्खरै :

“सरकारले जनताको कदर गर्न सकेको छैन”

“सरकारले जनताको कदर गर्न सकेको छैन”

भक्तपुर, १३ मङ्सिर । महाकाली क्षेत्र संरक्षण समितिको आयोजनामा जेठ २ गतेबाट सुरु भएको एकमहिने मत्स्ये नारायण मेलालाई सफल पार्न सहयोग गर्ने स्वयम्सेवकहरूलाई धन्यवाद पत्र तथा मायाको चिनो वितरण कार्यक्रम शनिबार नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले भारत भ्रमणमा प्रम बालेनले देशको सीमा अतिक्रमणबारे एक शब्द नबोलेको र भारतीय मालिकलाई खुसी पार्नको लागि विगतका सरकारहरूले गरेजस्तै यो सरकारले भारतलाई खुसी पार्न काम गरेको बताउनुभयो ।
जनताको धेरै मत लिए पनि सरकारले मतको कदर नगरेको र देशलाई ३० खर्ब ऋण पु¥याएर प्रति नेपाली एक लाख ऋण बोकाएको चर्चा गर्दै उहाँले नेपाली जनता सचेत भएर जनताका सही उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष तथा महाकाली क्षेत्र संरक्षण समितिका अध्यक्ष हरिराम सुवालले विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने र सबै मिलेर कार्य गरेमा निर्माण लागत पनि कम हुने तथा विकास दिगो हुने चर्चा गर्नुभयो । वर्तमान सरकारले देश हितको पक्षमा कार्य नगरेको चर्चा गर्दै उहाँले स्थानीय जनता एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भनपा कार्यपालिका सदस्य रोशनमैया सुवालले रास्वपाका कार्यकर्ताहरूमा मानवता र सहिष्णुता नभएको चर्चा गर्दै शोषितपीडित पक्षका मानिसलाई दबाउन र पेल्नको लागि घण्टीका कार्यकर्ताहरू लागिरहेको बताउनुभयो ।
समितिका सल्लाहकार भीमलाल सुवालले आर्थिक पारदर्शिता भएमा काम गर्न सजिलो हुने बताउनुभयो ।
उक्त कार्यक्रममा जगनाथ सुजखु र राजेश दिस्तीले पनि मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि सुवालले स्वयम्सेवकहरूलाई धन्यवाद पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *