भर्खरै :

‘पत्रु खाना’ को प्रायोजनबाट संस्कृति जोगिन्न !

‘पत्रु खाना’ को प्रायोजनबाट संस्कृति जोगिन्न !

मङ्सिर १२ गते, शनिबार भक्तपुरको सल्लाघारीमा हजारौँ युवाको सहभागितामा एउटा साङ्गीतिक कार्यक्रमको आयोजना भयो । ‘कुम्ह सागर एन्ड द ख्वपः’ कार्यक्रमको मुख्य आकर्षण थियो भने मुख्य प्रायोजक ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ थियो । कन्सर्टमा प्रवेशका लागि ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ को खाली क्यान ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । आयोजकले व्यावसायिक आम्दानीको ५० प्रतिशत सीबीआर नामक सामाजिक संस्थालाई दिने भनेको छ ।
कुनै पनि साङ्गीतिक कार्यक्रम आफैमा नराम्रो कुरा होइन । भक्तपुरका युवाहरूको सङ्गीतप्रतिको रुचि युगौँदेखिकै हो, यसको विस्तार आवश्यक छ नै । ती युवा गायक तथा सङ्गीतकारहरूको गीत तथा सङ्गीत मलाई पनि कर्णप्रिय लाग्छ । तर, शनिबारको कार्यक्रमको अर्को पाटोले मेरो मन चिमोटिरह्यो – पत्रु खानाको रूपमा लिइएको एउटा पेय पदार्थको प्रायोजन तथा उधुमको विज्ञापन । यसलाई युवा संस्कृति, उपभोक्तावाद, जनस्वास्थ्य र समाजमा पारेको प्रभावका दृष्टिले हेरेको नदेखेपछि मनमा एक खालको औडाहा भयो । मेरा युवाको चिन्तन कतातिर ढल्किएको रहेछ, म चिन्तित भएँ ।
३३० मिलिलिटरको एउटा एक्स्ट्रिम इनर्जी ड्रिन्कमा करिब १०० मिलिग्राम क्याफिन रहेको तथ्य समाचार माध्यममा प्रकाशित भएकै हो । अत्यधिक क्याफिनले निद्रा बिगार्ने, मुटुको धड्कन बढाउने, बेचैनी र रक्तचाप बढाउने जोखिम हुन्छ भन्ने कुरा धेरैलाई थाहा छ, कमसेकम शिक्षित युवामा । त्यस्तै पेयको लत बस्ने सम्भावनालाई पनि विचार गर्नु आवश्यक छ भनेर विज्ञको चेतावनी नभएको पनि होइन । चिनीको अत्यधिक सेवनले मोटोपना, मधुमेह र अन्य नसर्ने रोगको जोखिम बढाउँछ भन्ने कुरा विद्यालय तथा कलेजमा पढाइएकै हुन्छ । त्यसो हुँदाहुँदै पनि शनिबारको कार्यक्रममा त्यो पत्रु खानाबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी जोखिमबारे बताएको हुनुपर्ने हो, त्यसबारे कुनै सार्वजनिक जानकारी दिएको सुनिएन ।
मेरा मनमा कैयौँ प्रश्न उठ्दै छन् । युवाहरूको सङ्गीतप्रतिको आकर्षण तथा मनोरञ्जनको चाहनालाई कुनै पेय पदार्थको बिक्री बढाउने अवसर मान्नु के उचित हो ? मनोरञ्जनको नाममा सङ्गीतलाई स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्ने पेयपदार्थको विज्ञापनको माध्यम बनाउनु के उपयुक्त हो ? ‘सेलेब्रिटि’ हरूले त्यही पत्रु खाना खान उत्साहित गर्नुलाई राम्रो भनी के प्रशंसा गर्न सकिएला ? के युवाहरूको सिर्जनशीलतालाई एउटा कम्पनीले खरिद गर्नु वा गर्ने वातावरण बन्नु उचित हो ? युवालाई उत्पादनको उपभोक्ता मात्र होइन, ब्रान्डको प्रचार माध्यम बनाउनु ठीक काम हो ?
‘कुम्ह सागर र ख्वपः’ भक्तपुरको साङ्गीतिक तथा सांस्कृतिक पहिचानसँग जोड्न सकिएला । के कुनै एउटा पेय पदार्थको प्रचार गरे संस्कृति जोगिएला ? कुनै कार्यक्रमबाट सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य सकारात्मक छ । तर, पत्रु खानाको बजार विस्तार गरेर के सामाजिक उत्तरदायित्व पूरा हुन्छ ? परोपकारको नाममा जनस्वास्थ्यमा नकारात्मक असर पार्नु के राम्रो कुरो
हो ? सल्लाघारीमा बसेका हजारौँले त त्यो व्यापारिक ब्रान्डको प्रत्यक्ष वा परोक्ष उपभोक्ताको परिचय दिए नै । कोही भने युवाको मनोवृत्ति पढ्न पुगेका होलान्, कोही सामाजिक उत्तरदायित्वको निम्ति पुगे होलान, कोही सुरक्षाको बाध्यताले पुगे होलान् । तर, कन्सर्ट सकिएपछि सामाजिक सञ्जाल, फोटो र भिडियोमार्फत त्यो पत्रु खानाको तीव्र प्रचार भइरहेको छ । नाफाखोर व्यापारीले खोजेको यही त हो । कम्पनीले उत्पादन बेचेर नाफा कमायो । कलाकार र आयोजकले आफ्नो व्यावसायिक अवसर प्राप्त गरे । उपभोक्ताले खर्च गरे । तर, आगामी दिनमा आउनसक्ने स्वास्थ्य समस्याको आर्थिक भार परिवार र देशले कति व्यहोर्नुपर्ने होला ? यसलाई अर्थशास्त्रमा सामाजिक मूल्य भन्न सकिन्छ । त्यो मूल्य भक्तपुर अस्पताल, ख्वप अस्पताल वा अन्य ककसले व्यहोर्ने होलान् ?
नेपालमा इनर्जी ड्रिंक्सको विज्ञापनका लागि स्पष्ट स्वास्थ्य मापदण्ड र उमेरसम्बन्धी प्रतिबन्ध लगाइएको पाएको छैन । फेरि पनि प्रश्न छ, के कुम्ह सागरलगायतका कलाकारहरूले जनस्वास्थ्य प्रभावबारे कुनै चिन्तन गर्नुपर्ने होइन ? स्थानीय संस्कृति र सङ्गीतलाई व्यावसायिक ब्रान्डको प्रचारबाट अलग गर्नेबारे के सोच्ने बेला भएन र ? कम्पनीले आफ्नो नाफामात्र खोज्ने कि जनस्वास्थ्यको जिम्मेवारी लिने हो ? कि सरकार करको आशामा बसेर जनघात गरिरहने ? कि ठाउँको भाडा उठाएकैमा मख्ख परेर बस्ने ? सोचौँ, बहस गरौँ ।
जनताको आवाज घन्काउने र परिवर्तनको निम्ति गरिने कन्सर्टको आवश्यकता छ नै । जनताको गीत गाउने कलाकारको विकासमा साथ दिने विषय पनि छलफल योग्य छ । युवाको सङ्गीतप्रतिको प्रेम र सांस्कृतिक पहिचानलाई कसरी जोड्ने भन्ने विषय पनि चिन्तनीय छ । यो पत्र सङ्गीतलाई अस्वस्थकर पेयपदार्थको उपभोग बढाउने बजारवादी रणनीतिको असहमति मात्र हो । चर्चित कलाकारहरूले जनताप्रति बढ्ता जिम्मेवारी लिनैपर्छ भन्ने मेरो तर्क हो । सबभन्दा मनछुने गीत गाउने कलाकारले गीतमार्फत असल सन्देश दिनैपर्छ तर खराब माध्यम प्रयोग गर्नु झन् घातक हुन्छ । कतिपय क्रियाकलापमाथि कानुनले प्रतिबन्ध नलगाउला, तर नैतिक बन्धन कमको हुन्न । संवाद गरौँ ।
– रास, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *