तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १९ असार । २०२६ साल असार १९ गते तात्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीले किसानहरूबाट उठाएको कोषबाट किसानहरूको हितका लागि बीउबिजन र रासायनिक मलखाद्को व्यवस्था गर्नुको सट्टा व्यक्तिगत फाइदाका लागि तोरीलगायतका व्यापार गर्न थालेपछि पीडित किसानहरूले ती भ्रष्ट पदाधिकारीलाई उल्टो टोपी लगाई नगर परिक्रमा गरी दण्ड दिएको स्मरणमा हरेक वर्ष असार १९ गते भ्रष्टाचारविरोधी दिवस मनाउँदै आइएको छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समिति र भक्तपुर नगर समितिको आयोजनामा २०२६ साल असार १९ गते भएको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले किसान आन्दोलनका अगुवा कार्यकर्ताहरू २०२६ साल असार १९ गतेको भ्रष्टाचारविरोधी आन्दोलनका साक्षीहरू भएको बताउनुभयो । किसान आन्दोलनकै उपलब्धिस्वरुप किसानहरूले मोहियानी हक पाएको चर्चा गर्दै उहाँले ओली सरकार बहुसङ्ख्यक किसानहरूको हितभन्दा जग्गा धनी र जमिनदारहरूको पक्षमा रहेको बताउनुुभयो । हदबन्दीको नाउँमा जग्गाधनीले आफ्नो नाउँमा धेरै जग्गा राख्न पाउने र मोहीले १० रोपनीमात्र राख्न पाउने ऐन मोही किसानको विरोधमा रहेको उहाँले चर्चा गर्नुभयो ।
सरकारमा गएका पार्टी नेता–कार्यकर्ताहरूले रोजगारी दिने नाउँमा पैसा खाएर नेपाली युवा–युवतीहरू विदेशमा पठाएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय रङशाला बनाउने नाउँमा शासक दलका सांसद, उच्चपदस्थ कर्मचारीहरू भूमाफियाहरूको मिलेमतोमा लागिरहेको बताउनुभयो ।
‘भ्रष्ट आचरण भएका सांसद, मन्त्रीहरूको विरुद्ध नेपाली जनता सचेत हुनु आवश्यक छ, तिनीहरूकै कारण नेपाली जनताको टाउकोमा आज २५ हजार ऋण बोक्न बाध्य छन्’, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला सदस्य नारायणबहादुर दुवालले २०२५–२६ सालको भ्रष्टाचारविरोधी आन्दोलन वर्गसङ्घर्षको एक पाइला भएको चर्चा गर्दै पुँजीवादी राज्य व्यवस्थामा भ्रष्टाचार छायाँसरि हुने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले भ्रष्ट मनस्थितिबाट ग्रसित शासकहरूविरुद्ध विगतको इतिहासलाई अध्ययन गरी आजका नयाँ पुस्ताअघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका सहसचिव हरिराम सुवाल, नारायणभक्त न्हेम्हाफुकी र गंगाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
यसैबीच नेपाल क्रान्तिकारी शिक्षक सङ्घले भ्रष्टाचारविरोधी दिवस शिक्षक भेला गरी मनाएको छ ।
भेलामा सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भ्रष्ट आचरणलाई निरुत्साहित गर्दै सदाचारलाई बढावा तात्कालीन घटनालाई प्रेरणाको स्रोतको रुपमा लिन भ्रष्टाचारविरोधी दिवस मनाउनु सान्दर्भिक रहेको चर्चा गर्दै शैक्षिक क्षेत्रमा व्याप्त भ्रष्टाचारको विरुद्ध लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
सामुदायिक विद्यालयमा कार्यरत कतिपय शिक्षकहरू कर्तव्यच्युत हुँदा कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी भएको अवस्था सृजना हुनु पनि राज्यकोषको दुरुपयोग भएको चर्चा गर्दै उहाँले नेपाल शिक्षक युनियनभित्र भ्रष्टाचारको आभाष हुनासाथ भ्रष्टाचारको विरोध गरी नेक्राशिसङ्घ नेपाल शिक्षक युनियनबाट अलगिएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापतिले तत्कालीन अवस्थामा भ्रष्टाचारीलाई उल्टो टोपी लगाई दण्ड दिनु सामान्य घटना नभएको चर्चा गर्दै त्यसबाट शिक्षा लिई आजको अवस्थामा सबैले सक्दो सदाचार देखाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षक सङ्घका केन्द्रीय सचिव जङ्ग तारामी, नेक्राशिसङ्घ भक्तपुरका अध्यक्ष जगन्नाथ सुजखू, भक्तपुर नगरका अध्यक्ष लक्ष्मीनारायण दुवाललगायत शिक्षकहरू विनोद प्रजापति र निराजन प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply