भर्खरै :

किसानद्वारा खेतीयोग्य जमिन म्हास्ने प्रस्तावको विरोध

हरिसुन्दर
भक्तपुर, १५ साउन । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रङ्गशालाको किसानहरूले विरोध गरेका छन् । उनीहरूले किसानहरूलाई उठिबास गराउन रङ्गशाला बनाउन लागिएको बताउँदै रङ्गशाला बनाउन नहुने बताए ।
राष्ट्रिय कृषक समूह महासङ्घ चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथली समितिको आयोजनामा भएको बृहत् किसान भेला तथा अन्तरक्रियामा सहभागी अधिकांश किसानहरूले रङ्गशाला बन्दा किसानहरूको हित नहुने सुझाव दिएका थिए ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले रङ्गशाला बनाउने नाममा किसानहरूलाई झुक्याउने काम गरेको बताउँदै रङ्गशाला बनाउने कामलाई विकासको संज्ञा दिए पनि त्यसले विनास निम्त्याउने र काम गरिखाने वर्गलाई उठाउने काम भएको बताए ।
‘जहाँ रङ्गशाला बन्ने भनिएको हो, ती स्थानका किसानसँग छलफल नै गरेको छैन, केही जग्गाको कारोबार गर्नेहरू कृषियोग्य जमिन म्हास्न लागेका छन् ।’ उनले भने ।
उनले रङ्गशाला बनाउन भन्दै गठन भएको समितिको सदस्यमा आफूलाई पनि राखेको भए पनि किसानसँग कुनै छलफल नै नगरी किसानलाई रणभुल्लमा बनाउने काम सरकारले गरिरहेको बताए ।
उनले सरकारकै गलत नीतिको सिकारमा किसान परेको उल्लेख गर्दै सरकारले किसानको हित गर्न आवश्यक रासायनिक मल, उन्नत जातको बीउ विजन र प्रविधि भित्याउन नसकेको बताए ।
वडासदस्य विद्यापति थापाले भक्तपुरका अन्य नगरपालिकामध्ये चाँगुमा मात्र बढी जग्गा खाली रहेकोले सो खाली जग्गामा आँखा लगाएको बताउँदै सो बारेमा धेरै किसानहरूलाई थाहा नदिएको बताए ।
‘जहाँ रङ्गशाला बन्ने भनिएको हो, ती स्थानका किसानसँग छलफल नै गरेको छैन, केही जग्गाको कारोबार गर्नेहरू कृषियोग्य जमिन म्हास्न लागेका छन् ।’ उनले भने ।
चुनदेवी कृषक समूहका अध्यक्ष नकुल प्रजापतिले पनि कृषियोग्य जमिन नष्ट गर्ने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘पहिला एक समयमा बिफर लागेका मानिसहरूलाई अन्तै पठाएजस्तै अहिले किसानहरूलाई उठिबास गराउने षड्यन्त्रमा लागेका छन्, विकासको नाममा विनास र किसानलाई उठिवास गराउने काम हुन गइरहेको छ ।’
कार्यक्रममा डाँडापाटी कृषक समूहका अध्यक्ष सुनिता त्यातले किसानहरूको हितका लागि काम गर्नुपर्ने सरकारले किसानकै विरुद्ध काम गर्दा किसानहरू चिन्तित बनेको बताइन् ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको कृषि शाखाका प्रमुख श्रवणकुमार पासवानले किसानहरूले आफ्नै पहलमा काम गरे पनि नगरपालिकाले भने किसानको भावनाअनुसार काम गर्न नसकेको बताए । उनले किसानको समस्या सुन्ने काममा जनप्रतिनिधिहरूले उल्लेख्य ध्यान नदिएको बताउँदै किसानको जीवनस्तर उकास्न किसान नै लाग्न जरुरी रहेको बताए ।
प्रगति कृषक समूह ताथली, सौडोल कृषि सहकारी संस्था लि. को सहआयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय कृषक समूह महासङ्घ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखाले उपत्यकामा घडेरी र कृषियोग्य क्षेत्र छुट्याउनुपर्ने बताउँदै कृषियोग्य जमिन म्हास्न नहुने चर्चा गरे ।
उनले किसानलाई अप्ठ्यारो पर्ने गरी कृषियोग्य जमिन म्हास्ने काम रोक्नका लागि कृषक महासङ्घले पनि सहयोग गर्ने बताउँदै रङ्गशाला बनाउने कि नबनाउने विषयमा किसानसँगै व्यापक छलफल गर्न माग गरे ।
ट्याब इन्टरनेसनलको सहयोगमा भएको अन्तरक्रियामा किसानहरू कृषक महासङ्घ चाँगुनारायण नगरपालिका समितिका अध्यक्ष लक्ष्मी भण्डारी, शिला बासुकला, सानुमाया बाला, अनिल थुयाजू, मञ्जु थापा, कुलबहादुर न्हेमाफूकी, कृष्ण श्यामालगायतले किसानलाई परिरहेको समस्या र किसानका लागि आवश्यक कार्यक्रमबारे बोलेका थिए ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष जयकृष्ण न्हेमाफूकीको सभापतित्वमा भएको सो कार्यक्रममा सरिता थापा र हरिसुन्दर छुकांलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *