नेपाल संवत् ११४६ नयाँ वर्षको शुभकामना ¥यालीमा सहभागी होऔँ !
- कार्तिक ८, २०८२
– वासुदेव पौडेल
पोखरा, १७ साउन । अव्यवस्थित सडक विस्तारसँगै पदमार्गहरू छोटिंदै गएपछि सरोकारवाला निकायले यतिखेर वैकल्पिक पदमार्ग खोज्न थालेका छन् ।
नेपाल भित्रने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवं पर्वतीय पर्यटनका लागि आउने गरेकामा जथाभावी बाटो खन्ने क्रमले पदयात्रा पर्यटन नै दयनीय बन्ने चिन्ता बढेपछि वैकल्पिक पदमार्गको खोजी थालिएको हो ।
पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी सडक विस्तारले भूक्षयजस्ता प्राकृतिक प्रकोप बढाउनाका साथै पदयात्रा पर्यटनलाई गम्भीर असर पारेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पोखराको द्विपदेखि भलाम, हरिहर गुफा, अर्मलाकोट, आँटीघर मौजा, थाक, ताराहिलटप, सिक्लेस, हुँगु गोठ, हुँदै कफुचे लेकसम्मको नयाँ पदमार्गको पहिचान गरिएको छ । वैकल्पिक पदमार्गको खोजीको क्रममा पहिचान गरिएको यो पदमार्ग लगभग १० दिनसम्म पदयात्रा गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यसको नक्साङ्कनको काम भइरहेको छ, यो चाँडै नै सञ्चालनमा ल्याउने हाम्रो तयारी हो ।”
सङ्घले दाङसिङ मोहोरिया हुँदै टाढापानी, दोबाटो, हिडनलेक हुँदै छोम्रोङ जाने पदमार्गको पनि पहिचान गरेको छ । पदयात्रा गर्न लगभग आठ दिन लाग्ने अनुमान गरिएको यस पदमार्गको पनि नक्साङ्कनको काम भइरहेको छ । टान, नेपाल पर्यटन बोर्ड र माछापुच्छ«े गाउँपालिकाको सहकार्यमा लगभग आठ दिनकै समयावधि लाग्ने अनुमान गरिएको माछापुच्छ«े मोडेल ट्रेक निर्माण कार्यअघि बढिसकेको अधिकारीले जानकारी दिनुभयो ।
पदमार्ग छोटिएकै कारण पदयात्रा मार्गमा सेवा प्रवाह गरी राम्रोसँग जीवनयापन गरिरहेका अन्नपूर्ण सर्किटमा पर्ने स्योङ, जगत, च्याम्से, धारापानी, ढिकुरपोखरी, चामेजस्ता धेरै ठाउँका हजारौं परिवार यतिखेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
विश्वकै १० उत्कृष्ट पदमार्गमध्ये पाँचौंमा पर्ने अन्नपूर्ण सर्किटका पदमार्ग छोटिएको विषय चासो र चर्चामा रहेका अवस्थामा अन्नपूर्ण गाउँपालिकाले केही नयाँ वैकल्पिक पदमार्गको खोजी एवं विस्तारलाई अघि बढाएको छ ।
गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिकाले घान्द्रुक, टाढापानी, दोबाटो, मुल्डी, पोर्ने हुँदै हिंड्न लेक पुग्ने तीन दिनको पदमार्ग सञ्चालनको तयारी गरेकोे छ ।
उचाइका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट दुई हजार ७०० मिटरदेखि चार हजार ६०० मिटरको हिडनलेकसम्मको रहेको जानकारी दिंदै अध्यक्ष कुँवरले यसको लम्बाइ लगभग ५० किलोमिटरको हुने अनुमान गरिएको बताउनुभयो ।
त्यस्तै गाउँपालिकाले उल्लेरी हुँदै मरेडाँडा–घोरेपानीको एकदिने पदमार्ग र वीरेठाँटी हुँदै दाङसिङ मोरिया, थामको डाँडा, टाढापानीसम्मको दुईदिने पदमार्गको विकास गर्न लागेको छ र पदमार्ग छोटिने क्रममा अन्नपूर्ण सर्किटअन्तर्गतका पदमार्गमध्ये दुई दिन लाग्ने तातोपानी–चित्रे मार्ग गाडीबाट दुई तीन घण्टामा नै पुग्न सकिने भएको छ भने पदयात्रीले एक दिन खर्चिने गरेको नयाँपुल– घान्द्रुक मार्ग किम्टेसम्म सडक यातायात पुगेका कारण एक घण्टामा सीमित बनेको छ ।
त्यस्तै धम्पुस भएर अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्दु्रक जाने मार्गका साथै नयाँपुल–घोरेपानीलगायतका एकदेखि दुई दिन लाग्ने पदमार्ग छोटिएर केही घण्टामा खुम्चिएका छन् । अन्नपूर्ण सर्किटमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउण्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतका दर्जनौं सङ्ख्याका उत्कृष्ट पदयात्रा मार्ग जथाभावी बाटो खन्ने क्रमले सङ्कटमा परेका छन् ।
नयाँ पदमार्गको खोजीकै क्रममा सरोकारवाला निकायसँग सहकार्य गरी तिलिचो हुँदै सिधा मुक्तिनाथ जाने पदमार्गको विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
Leave a Reply