भर्खरै :

बँदेलले बाली सखाप पार्दा किसान चिन्तित

सल्यान, १९ साउन (रासस) । जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् ।
वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।
गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो ।
“पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले”, चिन्तित हँुदै उहाँले भन्नुभयो, “यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।” वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो ।
विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतङ्क बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जङ्गल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसैकारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।”
अर्का कृषक कृषक चित्रभान बोहराले बताउनुभयो, “गाउँमा सबै परिवारको बारी क्षति भएकाले बँदेल धपाउन रातभरि जाग्राम बस्छौं तर कतिबेला कताबाट आएर छिर्छन् थाहै हुँदैन खेततिर गयो बारीमा आउँछन्, बारीतिर गयो खेतमा आउँछन् । यस्तो दुःख कहिलै भोगेका थिएनौं ।”
बँदेलले क्षति पु¥याउन थालेपछि ४० प्रतिशत जमिन बाँझै रहेको पिडा सुनाउँदै कृषक कामी बोहराले भन्नुभयो, “दुःख गरेर बारीमा अन्न लगायो अब भित्र्याउनुपर्छ भन्ने बेला बँदेलले सखाप पार्छ, त्यही भएर धेरैजसो बारी बाँझै छन्, अब गाउँमै आएर दुःख दिन थालेकाले गाउँ छोड्न मात्र बाँकी भयो”।
गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पु¥याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *