भर्खरै :

अराजकतावादबारे केही कुरा

–श्रेष्ठ
भौतिक वस्तुजस्तै विचार र सिद्धान्त पनि सानोबाट ठूलो, सरलबाट जटिल र अव्यवस्थितबाट व्यवस्थित हुँदै जान्छ । साम्यवादी सिद्धान्त पनि भावुकताबाट वैज्ञानिक रुपमा परिमार्जित हँुदै गएको देखापर्छ ।
बेलायती क्रान्तिमा समानतावादीले घोषणा गरेका थिए —‘सारा जनता समान छन् ।’ तर राजाको नेतृत्वमा खानदानीहरू र धनीहरूले जनतालाई अन्याय र अत्याचार गरे तथा शोषण गरे । तिनीहरूले त्यस गणतन्त्रमा आइमाई, कामदार, ज्यामी र नोकरहरूको पनि मताधिकारको माग गरे । लिलर्बन भन्ने जेलबाट छुटेका नेताले आफ्नो अपिलमा भने —‘गणतन्त्रमा पनि व्यापक जनता दरिद्र छन्, तिनीहरूको नागरिक अधिकार छिनिएको छ, धनीहरूले गरिब जनतालाई नयाँ दासताको सिक्रीले बाँधेका छन् ।’ उनले लेखे– ‘बेलायतमा नयाँ सिक्री पत्ता लाग्यो ।’
सच्चा समानतावादीहरूका नेता विन्सटेन्लीले भने – ‘पुँजीवादी क्रान्तिले कामदार जनताले केही पनि पाएनन्, भूमिमा कुनै एकजनाको होइन सबैको अधिकार छ, निजी स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व स्थापना गर्नुपर्छ, सबै मिलेर काम गर्नुपर्दछ र सबै मिलेर खानुपर्छ, गरिब र धनी हुनेछैन, दबाइने र डुबाउने हुनेछैन, खान–लाउन पुग्दो हुनेछ ।’
तिनीहरूले एकप्रकारको साम्यवादी समाजको कल्पना गरेका थिए, त्यसमा धेरै कमी र कमजोरीहरू थिए । फ्रान्सेली राज्य क्रान्तिका एक नायक बावेफ थिए । उनी सन् १७६० मा उत्तरी फ्रान्समा जन्मेका थिए । उनी एक ज्याकोविन क्रान्तिकारी थिए । उनले १६ वर्षदेखि नै ज्यामी भएर काम गरेका थिए । उनी भन्थे— ‘पृथ्वीको फल सबैले चाख्न पाउनुपर्दछ, त्यो भूमि कुनै व्यक्तिको होइन, सबैको हो, साम्यवादी व्यवस्थामात्रै राम्रो र व्यवस्थित हुन्छ ।’ उनले भने — ‘मानिस वा नागरिकहरूको समानताको घोषणामात्र होइन, हामीमाझ समानता र एउटै छानामुनिको बन्दोबस्त चाहन्छौं ।’ सन् १७९६ मा एक सशस्त्र षड्यन्त्रद्वारा पुँजीवादी राज्यसत्ता उल्टाउन खोज्दा उनी पक्राउ परे तथा ग्यालोटिनमा काटिए । उनी मजदुर वर्गको हुकुम कायम गर्न चाहन्थे । उनी निम्न पुँजीपति वर्ग र मजदुरहरूका नेता थिए ।
विलहेम विटलिंग (१८०९—७१) जर्मनीका एक गरिबका छोरा थिए । उनी जर्मनीका पहिलो काल्पनिक साम्यवादका सिद्धान्तकार, मजदुर सङ्गठनकर्ता, प्रचारक र सक्रिय आन्दोलनकर्ता थिए । उनले ‘न्याय सङ्घ’ भन्ने एक गुप्त सङ्गठन स्थापना गरेका थिए । ‘मानव जाति कस्तो छ र कस्तो हुनुपर्छ ?’ (१८३८) र ‘सामञ्जस्यता र स्वतन्त्रताको सुनिश्चितता’ (१८४२) जस्ता उनका कृतिहरू हुन् । उनी चोर, डाँकु, जेलबाट छुटेका र भागेका बन्दी, अपराधी र समाजका उपेक्षितहरूलाई समेत सङ्गठित गरेर पुँजीवादलाई समाप्त गर्न एक सशक्त सेना तयार गर्न चाहन्थे ।
अपराधीहरूलाई समेत क्रान्तिकारी काममा लगाउने उनको विचारको कारण उनलाई नै अपराधी र लुटाहाको सङ्ज्ञा दिइयो । त्यसको जवाफमा उनी भन्छन् –‘मेरो उद्देश्य राम्रो छ भने सिद्धान्त कसरी बेठीक हुनसक्छ ? रोगीलाई निको पार्न चर्को विषको आवश्यकता छ भने हलुका औषधिको के काम ?
‘हामी एक यस्ता प्रलयकारी ज्वाला बाल्दैछौं, जसमा संसारका सबै खराब र विकासविरोधी वस्तुहरू खरानी हुनेछन् । अन्याय र शोषणको नीतिमा बाँचेको पुँजीवादको अस्तित्व मेटिनेछ । बन्दीहरू छोडिनेछन् र पुँजीपतिहरूको दरबार छाप्रोमा बदलिनेछ । किसानहरूलाई हातहतियारले सुसज्जित गरिनेछन् । कम्युनिष्टहरूको एक नयाँ सरकार कायम हुनेछ र कम्युनिजम्को विरोधमा आवाज उठाउनेहरूलाई धूलोपीठो पारिनेछ ।’ विटलिंगको विचार माक्र्सवादसँग मेल खाँदैनथ्थो ।
नेपालका ‘माओवादी’ हरूका केही गतिविधिहरू अर्थात् अपराधी र मण्डलेहरूलार्ई आफ्नो पार्टीमा भित्याउने वा वाईसीएलमा लिने तथा बन्दीहरू छोड्ने, विरोधीलाई दबाउने आदि गतिविधि विटलिंगका विचारहरूसँग मेल खान्छ । क्रान्तिको भट्टीमा सबै ठीक हुने भन्ने नेपाली ‘माओवादी’ भनाइ विटलिंगकै विचारअनुसार भएको देखापर्छ ।
त्यस्तै रुसका नरोदवादीहरूले अर्थात् ‘जनताको इच्छा’ को नाममा तिनीहरूले ‘व्यक्ति हत्या’ र ‘आतङ्कवादको सहारा लिएका थिए । लेनिन र स्तालिनले त्यस नरोदवादीहरूसँग सैद्धान्तिक सङ्घर्ष गर्नुभएको थियो ।
सत्रौँ शताब्दीमा स्टैकरेजिन नामक एक रुसी क्रान्तिकारी थिए । उनी पुँजीपति वर्गको विरोधमा पूर्ण समानताका पक्षपाती थिए । उनी मजदुरहरूको विरोध प्रदर्शनमा लाग्थे ।
उनका पछि पुगाकोभ भन्ने क्रान्तिकारी थिए । उनको उद्देश्य थियो– समाजलाई सामन्ती दासताको सिक्रीबाट मुक्त गरेर सामन्ती प्रथालाई जरैदेखि उखेल्नुपर्छ । उनको आन्दोलनको प्रभाव रुसको कुनाकाप्चासम्म पुगेको थियो ।
जैननेवस्की भन्ने अर्को रुसी क्रान्तिकारी थिए । उनी अहिंसामा विश्वास गर्दैनथे । उनको घोषणापत्रमा जनतालाई आह्वान गरिएको थियो– ‘स्वतन्त्रताका सेनानीहरू हो, हातमा कडा हतियार लेऊ र स्वतन्त्रताको बाटोमा अगाडि बढ, साम्राज्यवादको फोड्न नसकिने किल्लामाथि धावा बोल । ‘जस्तालाई तस्तै’ को उखानलाई आफ्नो सिद्धान्त बनाऊ । तिम्रा विरोधीहरू निर्दयी छन् र अत्याचारी छन् । यसकारण तिमीले पनि आफ्नो हृदयको शब्दकोषबाट ‘दया’ शब्दलाई निकालेर फाल । सार्वजनिक सडक, बाटा—घाटा वा जुनसुकै ठाउँमा तिनीहरूलाई देख्नासाथ समातेर घाँटी निमोठ । सहरको साँगुरा गल्लीहरूमा तिनीहरूलाई लखेट, गाउँ र सहर जहाँ भेट्टाए पनि समात र सिध्याऊ ।’
जैननेवस्कीको आँखामा क्रान्तिको अर्थ कुनै सहुलियतविना तत्कालीन शासनको जगलाई खोक्रो बनाउनु हो । त्यस क्रान्तिले रगतको खोलो बग्नेछ र त्यसमा कति ‘निर्दोष मानिस’ मारिनेछन् भन्ने अनुमान गर्न कठिन छ ।
जहाँतहाँ हत्या गर्ने र हमला गर्ने तथा ‘निर्दोष मानिस’ मारिनु स्वाभाविक मान्ने र आफ्नो हृदयको शब्दकोषबाट ‘दया’ शब्द झिकेर फाल्नेजस्ता विषय नेपाली ‘माओवाद’ हरूले जैननेवस्कीबाटै पैंचो लिएको हो कि भन्ने भान हुन्छ ।
उनले ‘युवा रुस’ भन्ने पुस्तकमा लेखे– क्रान्तिकारी दलले सरकारको विरोधमा उभिएर आफ्नो नयाँ कार्यक्रमबाट आर्थिक र सामाजिक विषमता हटाउनेछ ।’
उनकै समकालीन कैचवले रुसी संविधानको एक खेस्रा लेखेका थिए– ‘शान्तिको बाटोमा निर्जीव छ, अविश्वासिलो छ ।’
उनले प्रस्ट भाषामा भनेका थिए– ‘पुँजीपतिहरूबाट न अहिले न त पछि सामाजिक क्रान्ति सुरु हुनेछ । क्रान्तिकारीहरूले मात्रै क्रान्ति गर्नेछन् ।’
सन् १८६९ मा निकेइव भन्ने अर्को क्रान्तिकारीले ‘बञ्चरो दल’ भन्ने एक गुप्त सङ्गठन बनाएका थिए । उनले आफ्नो प्रश्न–उत्तरमा लेखे– ‘क्रान्तिकारीहरूको बाटो काँडाले भरिएको र सङ्कटपूर्ण हुन्छ । क्रान्तिको बाटो व्यक्तिगत स्वार्थबाट टाढा रहन्छ । सम्पत्तिलाई फोहरमैलाजस्तै सम्झन्छ । प्रचार, प्रसिद्धि र कीर्तिबाट कोसौँ टाढा रहन्छ । ऊ मोहको मायाजालमा कहिल्यै फस्दैन र समाजको हेलाहोचोलाई घृणाको दृष्टिले हेर्छ । ऊ मानव जातिलाई नयाँ शक्ति, नयाँ जीवन र मुक्तिदान दिन्छ ।’
उनको विचारमा क्रान्तिको बाटोलाई सुगम बनाउनु नै धर्म हो र क्रान्तिको बाटोमा बाधा तेस्र्याउनु नै अधर्म हो ।
निकेइवको भनाइमा क्रान्तिकारीले आफ्नो आदर्शको निम्ति प्रेम, मित्रता, कृतज्ञता र भाइचारा सबै मायामोह र नरम प्रवृत्तिलाई त्याग गर्नुपर्दछ ।
आफ्नो उद्देश्यलाई अगाडि राखेर उसले कालको मुखमा अगाडि बढ्नुपर्छ र उद्देश्यको बाटोमा छेकबार हुने सबै वस्तुहरूको विनाशका निम्ति तत्पर रहनुपर्दछ ।
क्रान्तिको ज्वाला दन्किंदा सबै फोहरमैला र तीतो—पिरो आदि धूलोपीठो हुनेछ । खस्रो वस्तुमा आगो लाग्नु नराम्रो कुरा हो, त्यसमा शङ्का छैन । तर खस्रो वस्तुमा आगो लाग्दा वस्तु झन् चिल्लो हुन्छ । त्यसको खस्रोपना हट्छ । आगोमा सुकेको काठपात खरानी भए पनि केही पीर लिनुहुन्न, तर सुन आगोमा गलेर झन सुद्ध हुन्छ । आज परेको खरानी पनि बढी मूल्यवान हुन्छ ।
माथिका विभिन्न प्रकारका सुरुका साम्यवादी विचारहरू माक्र्सवाद र लेनिनवादबाट खारिदै एक वैज्ञानिक समाजवादको उदय भएको थियो । माओ त्सेतुङ विचारधारासम्म पुग्दा अनेक व्यवहारिक अनुभवहरूले साम्यवादी सिद्धान्त समृद्ध भइसकेको छ । माथिका ती विचारहरू आलोचना, तर्क—वितर्क र खण्डनबाटै विकास भएको प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *