यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कृतिका प्रजापति
बुद्धविहार भृकुटीमण्डप, काठमाडौंद्वारा प्रकाशित पुस्तक ‘भिक्षु अश्वघोषका छानिएका रचनाहरू’ मा धेरै प्रगतिशील र मननीय विचारहरू समावेश छन् । बुद्ध शिक्षालाई सरल रुपबाट पाठकसमक्ष प्रचारप्रसार गर्न, बुद्धका व्यवहारिक ज्ञान र नैतिक शिक्षालाई पुस्तकका लेखक भिक्षु अश्वघोषले निकै सरस तरिकाले आफ्ना लेखहरू रच्नुभएको छ । ९२ वर्ष पुग्नुभएका भिक्षु अश्वघोषको सक्रियता र लेखनप्रतिको चाख अनुकरणीय छ ।
भिक्षु अमृतानन्द महास्थविरका प्रथम शिष्य रहनुभएका भिक्षु अश्वघोष उच्च शिक्षा हासिल गर्न सारनाथ–बनारस पुग्नुभएको थियो । बीएसम्म अध्ययन गरेपश्चात् टी.बी. रोगका कारण उहाँले अध्ययनलाई निरन्तरता दिनसक्नुभएन । टी.बी. रोगको उपचारको लागि पेकिङ पुग्नुभएका उहाँ चीनको कम्युनिष्ट शासनबाट प्रभावित हुनुभयो । बुद्ध शिक्षामा उहाँको व्यापक दृष्टिकोण रहेको पुस्तक पढिसकेपछि थाहा हुन्छ । ‘आनन्दभूमि’ र ‘धर्मकीर्ति’ आदि बौद्ध मासिक पत्रिकामा २० औं वर्ष सम्पादक तथा प्रधानसम्पादक भई सेवा गर्नुभएका भिक्षु अश्वघोषका बुद्ध धर्मसम्बन्धी स–साना करिब १४० भन्दा बढी कृति प्रकाशित भइसकेका छन् । उहाँ २०४६ सालको जनआन्दोलनपश्चात् माथिल्लो सदन राष्ट्रिय सभामा दुई वर्ष सभासद् र लुम्बिनी विकास कोषका उपाध्यक्ष पनि भइसक्नुभएको पुस्तकमा उल्लेख छ ।
गौतम बुद्धको व्यक्तित्व र सन्देश सर्वव्यापी छ । राजदरबारमा जन्मनुभएका बुद्ध दरबारको विलासमय जीवन त्यागेर बहुजन हितायको निम्ति र साधारण जनजीवनमा शान्ति स्थापनाको निम्ति उहाँले सङ्घर्षशील जीवन रोज्नुभयो । ‘गौतम बुद्धको सन्देश र व्यक्तित्व’ लेखमा भिक्षु अश्वघोषले बुद्धको व्यक्तिगत जीवनलाई भन्दा उहाँको शिक्षा र सन्देशलाई चर्चा र अध्ययनको विषय बनाइनुपर्ने तर्क प्रस्तुत गर्नुभएको छ । बुद्ध शिक्षालाई उद्धृत गर्दै भिक्षु अश्वघोष भन्नुहुन्छ – ‘शरीर बलियो नभइकन मस्तिष्क पनि काम लाग्दैन । आध्यात्मिक र मानसिक विकासको लागि भौतिक पक्ष पनि त्यत्तिकै विकास हुनु आवश्यक छ ।’ हरेक मानिसले आफ्नो ज्ञान र उत्साहले नै सफलता गर्छ ।
Leave a Reply