भर्खरै :

सङ्ख्यालाई भन्दा गुणलाई महत्व दिने बङ्गाली लेखक रामपदा चौधरी

समिक घोष
त्यो रेलवे स्टेशनको कुनै नाम जुरेको थिएन । स्टेशन पनि के भन्नु ! रेलवे स्टेशन बन्नको लागि आवश्यक पूर्वाधार त्यहाँ केही पनि थिएन । न यात्रु प्रतीक्षालय थियो न टिकट काट्ने काउण्टर नै । भारतका असङ्ख्य रेलमार्गमध्ये एउटा रेलमार्गको नजिक रहेको त्यो मामूली ठाउँ थियो । सेनाले आफ्नो आवश्यकताअनुसार हतार हतार त्यहाँ तारबारले घेरेको थियो । दोस्रो विश्व युद्धको समय थियो । टाढा टाढाबाट मित्र शक्ति मोर्चा (एलाइड) का सिपाहीं बोकेर कैयौं रेलहरू त्यहाँबाट ओहोरदोहोर गर्थे ।
त्यो ठाउँको सैनिक नाममात्र थियो । अक्षर र अङ्क दुवै मिलाएर त्यहाँको नाम राखिएको थियो– ‘बीएफ३३२’ । स्थानीय मानिस र रेलवेका कर्मचारीहरूले त्यो ठाउँको अर्को स्थानीय नाम पनि राखेका थिए– ‘अन्डा हल्ट’ । यो नामले नै त्यो ठाउँको अस्तित्वको मूल उपादेयताको व्याख्या गरेको थियो । ‘रेलको यात्रामा रहेका सिपार्हीं रोटी र अण्डाको नास्ता खान रोकिने ठाउँ’, यो नामको अर्थ यही हुने गर्दछ ।
कथाकार रामपदा चौधरीले लेखेको कथा ‘भारत वर्ष’ को कथा विन्यास हो यो । चौधरीका कृतिमा रेलमार्ग र एकान्त रेलमार्ग बरोबर आइरहने विषय हुन् ।
बङ्गाली कथाकार चौधरीको आफैं पश्चिम बङ्गालको खारागपुर भन्ने सानो रेलमार्गको बिस्तारसँगै बनेको सहरमा जन्मेका थिए–सन् १९२२ मा । उनी रेलमार्गलाई भारतमा रुपान्तरणको एउटा महत्वपूर्ण पक्ष मान्छन् । एउटा वृत्तचित्रको लागि दिएको उनको दुर्लभ अन्तर्वार्तामा चौधरीले भनेका छन्, ‘भारतको रेलमा यात्रुले सबै जातजाति, धर्म–संस्कृतिका मानिससँग यात्रा गर्नुपर्छ । दैनिक जीवनका अरु पक्षमा मानिसले यस्तो गर्न मान्दैनन् । यात्रुले टिकट काटे पछि उसले भरिभराउ डिब्बामा जोकोहीसँग बसेर यात्रा गर्नुपर्छ ।’
रामपदा चौधरीको बुबा रेलवेका कर्मचारी थिए । त्यसकारण उनको परिवार एक ठाउँबाट अर्को ठाउँमा गइरहनुपथ्र्यो । त्यसैकारण कलिलो उमेरमै भारतको विभिन्न स्थानबीचको भिन्नता उनका आँखाले देखे । सन् १९४० दशकको सुरुआतदेखि उनी कोलकोत्तामा बस्न थाले । त्यहाँको विख्यात प्रसिडेन्सी कलेजमा उनले अङ्ग्रेजी साहित्य अध्ययन गरे । उनको स्वभाव बैरागी खालको थियो । त्यही भएर उनी कलेजमा अरु मानिससँग भेटघाट हुने स्थानहरू जस्तै क्यान्टिनमा कमैमात्र जाने गर्थे । ती स्थानमा समयान्तरमा पश्चिम बङ्गालका मुख्यमन्त्री बनेका सत्यजीत राय र सिद्धार्थ शङ्कर रोय जस्ता मानिसहरू आइरहेका हुन्थे ।
रामपदा चौधरी कलेजको क्यान्टिनमा जानुभन्दा नजिकैको एउटा रेस्टुराँमा गएर आफ्ना मित्रहरूसँग साहित्यको विषयमा चर्चा गर्न मनपराउँथे । त्यत्तिबेला चौधरी निकै किताब पढ्थे । तर उनको मनमा आफू लेखक बनूँला भन्ने कुनै मनसाय थिएन ।
सुरुआत
यस्तै एउटा भेटमा उनका साथीहरूले उनलाई कथा लेख्न चुनौती दिए । चौधरीले त्यो चुनौती स्वीकारे । उनले आफ्नो पहिलो कथा लेखे–सुर्यास्त । त्यो कथा उनले त्यही रेस्टुराँमा बसेरै लेखेका थिए । चुरोट र चियाका उनी लत्ती थिए । त्यो कथा त्यत्तिबेलाको चर्चित अखबार जुगान्तरमा प्रकाशित भएको थियो । चौधरी त्यत्तिबेला अठार वर्षका थिए ।
आफ्नो मध्य बीसको उमेरमा उनी गम्भीरतापूर्वक लेखनमा लागे । तर उनका सुरुका तीन कथासङ्ग्रहले पाठकका मन जित्न सकेन । ती तीनै सङ्ग्रह उनले आफ्नै खर्चमा प्रकाशित गरेका थिए । उनको चौथो कथासङ्ग्रह दरबारी हो । त्यो कथासङ्ग्रहले चौधरीलाई उचाइमा पु¥यायो । त्यो कथामा माकक्लुस्कीले लाप्रा नामको कुनै थप व्याख्या नभएको रेलवे स्टेशन वरपर बस्ने मुण्डा जातिको बीचमा बस्ने चाहना राख्दछन् । उनी आफै मुण्डा जातिको सदस्य बन्न चाहन्छन् । त्यसको लागि उनले मुण्डा जातिकी एक जना युवतीसँग विवाह गर्छन् ।
उनले जानी नजानी अरु युरोपेली मानिसलाई पनि त्यो स्थानमा आकर्षित गर्छन् । केही समयमै त्यहाँ युरोपेली मानिसको बसोबास बढ्न थाल्छ । स्थानीय मुण्डाहरू पनि इसाई धर्म मान्न थाल्छन् र उनीहरू युरोपेलीकै रेखदेखमा बस्न थाल्छन् । एक दिन स्थानीय मुण्डा र युरोपेली मानिसबीच भएको झगडा मिलाउन जाने क्रममा धर्म अधिकारीबाट माकक्लुस्की र उनकी जहानको हत्या हुन्छ । दरबारी कथासङ्ग्रहको सफलतापछि चौधरीको लेखनमा विश्वास गर्न थालियो । उनको पहिलो उपन्यास प्रथम प्रहर पनि रेलमार्गमै आधारित हुनु आश्चर्यको कुरा भएन ।
मध्यम वर्गप्रति निर्दयी
त्यत्तिबेलाका अरु धेरै लेखकहरू जस्तै चौधरी त्यत्तिबेलाको बङ्गाली पत्रिका आनन्दबजार पत्रिकामा काम खोज्न गए । धेरै वर्षसम्म उनले आनन्दबजार पत्रिकाको आइतबारीय अतिरिक्ताङ्कमा काम गरे । उनको सबभन्दा ठूलो सफलता भने उनको उपन्यास वनपालाशिर पादावलीको प्रकाशनपछि हासिल भयो । बङ्गालको ग्रामीण परिवेशमा सो उपन्यास लेखिएको थियो । देश नामको प्रतिष्ठित पत्रिकामा सो उपन्यास धारावाहिक छापिएको थियो । सातामा एकपटक प्रकाशित हुने यो उपन्यास पढ्न धेरै पाठक पत्रिकाको खोजी गर्थे । उपन्यास निकै भावनात्मक थियो । त्यो उपन्यासले चर्चित र सम्मानित बङ्गाली लेखकहरूबीच चौधरीको नाम सधैंको लागि स्थायी बनाइदियो । बङ्गाली सिनेमाका मेगास्टार उत्तम कुमारले त्यो उपन्यासमा आधारित रहेर चलचित्र बनाए । चलचित्रमा उत्तम कुमारले निर्देशन र अभिनय पनि गरेका थिए ।
आफ्ना आख्यानमा चौधरीले सहरी मध्यम वर्ग र उनीहरूको विरोधाभासमा केन्द्रित गरेका छन् । यसले गर्दा उनका उपन्यासमा चलचित्रका गुण अन्तर्निहित हुने गर्दछ । फलतः उनका धेरै उपन्यासमा आधारित रहेर चलचित्र बनाइए । एक जना बाल श्रमिकको मृत्युको विषयमा आधारित उनको उपन्यास कारिजलाई मृणाल सेनले चलचित्रमा रुपान्तरण गरे । त्यसमा मध्मवर्गको निर्दयीतालाई उजागर गरिएको छ । मृणाल सेनले चौधरीको उपन्यास बीजमा आधारित रहेर एक दिन अचानक नामको चलचित्र पनि बनाए । अभिमन्यु नामको चौधरीकृत उपन्यासमा आधारित रहेर तपन सिन्हाले एक डाक्टरकी मौत नामको चलचित्र बनाए । उनले चौधरीको एकहोनीलाई बङ्गाली चलचित्र बनाएका थिए ।
चौधरीका अधिकांश कृति सहरी मध्यम वर्गसँग जोडिएको भए पनि उनका दुई चर्चित उपन्यासले भने त्यसबाट अलग छन् । उनले लेखेको ऐतिहासिक उपन्यास लालबाई सङ्गीतको विष्णुपुर घरानाको कथामा आधारित थियो । द्वीपर नाम तियारोङ्गले एउटा उपेक्षित टापुमा मानव बस्ती बिस्तारको कथामा आधारित छ । उनलाई सन् १९८८ मा उनको उपन्यास बारी बाल्दी जाए नामको उपन्यासका लागि भारतको साहित्य एकेडेमी पुरस्कार दिइयो । एउटा घरबाट अर्को घरमा डेरा सर्दै गरेका एक जना सहरी बासिन्दाको सङ्घर्षमा आधारित सो उपन्यास वास्तवमा रामपदाको आफ्नै कथा थियो । चौधरीलाई एकहोनी उपन्यासको लागि रवीन्द्र पुरस्कार र आनन्द पुरस्कारबाट पुरस्कृत गरियो ।
यी सबै सफलताबीच एकान्तमा रमाउने चौधरीको स्वभावमा कुनै परिवर्तन आएन । उनी सार्वजनिक कार्यक्रममा कमैमात्र देखापर्थे । सञ्चारमाध्यममा उनी कमैमात्र देखापर्थे । उनका अरु सहकर्मीहरूको तुलनामा उनले निकै कममात्र लेखे । आफ्नो लेखनवृत्ति उनले वर्षमा एउटा उपन्यास लेख्नमै सीमित राखे । त्यही भएर उनका मित्रहरूले उनलाई ‘नलेख्ने लेखक’ भनी मायाले बोलाउँथे । तथापि ५० वटाभन्दा बढी उपन्यास र १५० वटाभन्दा बढी कथा लेखेका लेखकलाई यस्तो भन्नु पनि अमिल्दो कुरा हो । तर वास्तवमा यसले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिने चौधरीको स्वभावलाई उजागर गरेको थियो । उनका अधिकांश मित्रहरूले लेखनको गुणलाई भन्दा सङ्ख्यालाई जोड दिएका थिए ।
रामपदा चौधरीले एक जना सम्पादकको रुपमा धेरै जना नवोदित प्रतिभालाई सफल लेखक हुर्काउन निकै मिहिनेत गरे । चौधरी ‘मुक्ति आफैमा कला हो’ भन्ने मान्यतामा विश्वास गर्थे । पश्चिम बङ्गालमा आयोजित एउटा साहित्य समारोहमा अनपेक्षित रुपमा उनले लेखनबाट सन्यास लिने घोषणा गरे । लेखनबाट सन्यास लिएर उनी एक जना पाठक बने, जहाँबाट उनले आफ्नो यात्रा सुरु गरेका थिए । उनी समाजको कमी कमजोरीलाई उजागर गर्न सक्ने एक जना सफल लेखकको रुपमा कमै लेखकले बनाउनसक्ने छवि बनाउन सफल भए ।
गएको जुलाई २९ मा लेखक रामपदा चौधरीको दुःखद् निधन भयो ।
स्रोतः स्क्रोल.आईएन
नेपाली अनुवादः सुदर्शना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *