भर्खरै :

‘सरकार पुँजीवादी प्रजातन्त्रप्रति समेत इमानदार छैन’

हेटौडा, २८ साउन । लामो समयदेखि अवरुद्ध प्रदेश नं ३ को प्रदेश सभा बैठक सोमबार सुरु भयो । बैठकमा ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरियो ।
प्रदेश प्रशासकीय कार्यविधि विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईले व्यवस्थापिकामाथि अङ्कुश लगाउने सरकारको सोच प्रजातान्त्रिक मूल्यमान्यता र सिद्धान्तविपरीत हुने विचार राख्दै विधेयक दुईतिहाइको दम्भको उपज भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘व्यवस्थापिकामाथिको हस्तक्षेप भनेको जनताको भावनाको अपहेलना र जनादेशको अवज्ञा हो । जनताको अधिकार कटौती गर्नु या खोस्नु प्रजातन्त्रविरोधी कदम हो ।’ उहाँले भन्नुभयो, ‘संसदलाई छल्नु भनेको जनताप्रति विश्वासघात हो र कायरताको प्रदर्शनी हो । यो सरकार समाजवादी विचारप्रति इमानदार नरहेको मात्र होइन, संसदीय पुँजीवादी प्रजातन्त्रप्रति समेत इमानदार बन्न सकेन भन्ने प्रमाण यो विधेयकले पेश गर्दछ ।’ सांसद गोसाईले भन्नुभयो, ‘बहादुर शासकले संसदको सामना गर्न डराउने गर्दैन ।’ सो विधेयकको अन्य विपक्ष दलले पनि विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *