यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सृजना सैंजू
गौरवशाली इतिहास बोकेको क्युवा र क्युवाली क्रान्तिका अग्रदूत फिडेल क्याष्ट्रो ल्याटिन अमेरिकी तथा क्यारेवियाली देशहरूमा समेत समाजवादी क्रान्तिको बीउ रोप्ने, साम्राज्यवादविरुद्ध एकजुट हुन पथप्रदर्शन गर्ने अन्तर्राष्ट्रवादी नेता हुनुहुन्छ ।
समाजवादप्रति आस्थावान, कम्युनिष्ट सिद्धान्तप्रति निष्ठावान हरेकले फिडेलको गीत गाउन रुचाउँछन् । स्पेनियाली साम्राज्यवाद र उपनिवेशवादको थिलथिलोमा परेको क्युवालाई मुक्त गर्न सिमोन बोलिभार र जोसे मार्टिहरूले अत्यन्त साहसपूर्वक लडे । स्पेनियाली साम्राज्यवादीहरूले ‘एक जनामात्र विद्रोही बाँकी रहेसम्म मारिनेछन्’ भन्ने घोषणा गरिरहँदा क्युवाका स्वतन्त्रता सेनानीहरू भन्थे –“प्रत्येक घरमा चिहान खन्न परे पनि हामी हरहालतमा क्युवालाई स्वतन्त्र गरी छोड्नेछौँ ।”
सन् १८९८ मा स्पेनको उपनिवेशबाट क्युवा मुक्त भयो तर अमेरिकाको नयाँ उपनिवेश बन्यो । ४ वर्ष सैन्य शासन चल्यो क्युवामा । तानाशाही बाटिस्टा उदायो । क्युवाली जनतामाथि आफ्नो शोषण कायम गर्न बाटिस्टा सरकारले कुनै कसर बाँकी छोडेन ।
संरा अमेरिकी साम्राज्यवादको शोषणविरुद्ध क्याष्ट्रोले समाजवादको बाटो समाए । क्याष्ट्रो नै पहिलो वीर हुनुहुन्थ्यो । ल्याटिन अमेरिकामा जसले क्रान्तिकारी उत्साह बोकेर ८०–८२ जनाको सशस्त्र दल लिएर क्युवाकोे जङ्गलमा अमेरिकी साम्राज्यवादको दलाल र तानाशाहीको विरोधमा पहिलो बन्दुक पड्काउनुभयो । क्रान्तिकारीहरू आफ्नो मातृभूमिलाई माया गर्छन् र जनताप्रति इमानदार र बफादार हुन्छन् । क्रान्तिकारीहरूको निम्ति व्यक्तिगत स्वार्थ वा सपना सामान्य हुन्छ । उसले देशको मुक्तिको सपना देख्छ र त्यसको निम्ति लड्छ भन्ने शिक्षा उहाँको जीवनीबाट मिल्छ ।
अति मेहनती, प्रतिभाशाली र अध्ययनशील स्वभावका क्याष्ट्रोले सानै उमेरमा क्युवाली देशभक्त क्रान्तिकारीहरूको स्वतन्त्रता आन्दोलन, विद्रोह र सशस्त्र सङ्घर्षहरूबारे अध्ययन गर्नुभयो । क्युवालगायत दक्षिण अमेरिकाको भूगोल, इतिहास, विविध पक्षको गहिरो र व्यापक अध्ययन, माक्र्स–एंगेल्स, लेनिन र स्टालिनका पुस्तकहरूको अध्ययनले उहाँको व्यक्तित्वलाई अझ शक्तिशाली र विराट बनायो ।
कठोर जेल जीवन, कठीन र कष्टप्रद सैन्य तालिमले उहाँलाई इस्पात बनायो । क्रान्तिकारी नेता चे ग्वेभाराको साथमा क्युवाली क्रान्तिको उभारलाई आँधीबेहरीसरह उठाउन उहाँ सफल हुनुभयो । स्वतन्त्रता आन्दोलनपछि सन् १९५९ मा आजभन्दा ५९ वर्षअघि क्युवामा बाटिस्टा आतङ्क अन्त्य भयो यद्यपि अमेरिकाको आर्थिक नाकाबन्दी कायम रह्यो । अमेरिकाको विध्वंसात्मक गतिविधि चलिरह्यो ।
त्यसकारण क्रान्तिको सफलतापछि पनि क्याष्ट्रो सैन्य सुदृढीकरणमा लाग्नुभयो । उहाँ क्युवाका प्रधानमन्त्री बन्नुभयो र राष्ट्रपतिको जिम्मेवारी पनि सम्हाल्नुभयो ।
समाजवादी नीतिअनुरुप स्तरीय र निःशुल्क स्वास्थ्य, शिक्षा, गाँसबास र कपडाको प्रत्याभूति, सामाजिक क्रान्तिको माध्यमबाट अमेरिकी साम्राज्यवादले छोडेर गएको सामाजिक कुसंस्कार रङ्गभेद र जातिभेद आदि कुरीति र अनेकौं विकृतिहरूको उन्मूलन गरी सुसंस्कृत समाज निर्माण, सम्पत्तिको समान वितरण, सबैलाई समान अवसर, क्रान्तिकारी भूमिसुधार, बहुमत मजदुर र किसानको हित, निरक्षरता उन्मूलन आन्दोलन अघि बढाइयो ।
कृषि, उद्योग, शिक्षा, यातायात, सञ्चार आदि क्षेत्रलाई सामाजिकीकरण गरियो, अमेरिकी स्वामित्व समाप्त गरियो र अर्थतन्त्रलाई राज्यको मातहतमा ल्याई योजनाबद्ध अर्थनीति अँगालियो । अमेरिकी एकाधिकारबाट अर्थतन्त्र मुक्त भयो । क्युवालाई संसारसामु ‘माक्र्सवादी–लेनिनवादी, समाजवादी देश’ भनी घोषणा गरियो ।
क्रान्तिको विजयको अर्थ अन्यायको अन्त्य हो, गरिबी र बेरोजगारीको अन्त्य हो भन्ने शिक्षा क्युवाले सारा संसारलाई दियो ।
आज क्युवाले शिक्षा क्षेत्रमा अभूतपूर्व सफलता हासिल गरेको छ । शतप्रतिशत साक्षर, मावि तहसम्म अनिवार्य शिक्षा र विश्वविद्यालय शिक्षा निःशुल्क छ । ३० औं हजार क्युवाली शिक्षकहरू संसारभरि फैलिएर जनताको सेवा गर्दैछन् । विज्ञान प्रविधिमा क्युवा अघि बढ्दै छ । खेलकुद, भाषा र किसान–मजदुरहरूका निम्ति अलग्ग विद्यालयहरू छन् । सबभन्दा बढी प्रतिव्यक्ति डाक्टर भएको देशको रुपमा क्युवा विकास भएको छ ।
क्रान्तिको सफलता त्यहाँका महिलाहरूको सहभागितामा निर्भर हुन्छ । क्युवाली क्रान्तिमा महिलाहरूको सहभागिता विश्वले चर्चा गरिरहेकै छ । क्रान्तिपछि क्युवामा महिलाहरूको स्थान सर्वश्रेष्ठ रह्यो ।
आज विश्वविद्यालयमा ६३ प्रतिशत महिला छन् । प्राविधिक र प्राध्यापन क्षेत्रमा ६० प्रतिशतभन्दा बढी महिला छन् । न्यायाधिवक्ता र कानुनकर्मीहरूका रुपमा ७० प्रतिशत महिला छन् । स्वास्थ्य र शिक्षाको क्षेत्रमा बहुमत र अग्रपङ्क्तिमा महिला नै छन् । क्रान्ति अघि जम्मा १२ प्रतिशत महिलाले काम पाएको तथ्याङ्क छ ।
क्युवाको राजनीतिमा महिलाहरूको सहभागिता र नेतृत्व उत्साहप्रद छ । सन् २०१८ को विश्व राजनीतिमा महिला नेतृत्व उत्साहप्रद छ । सन् २०१८ को विश्व राजनीतिमा महिला नेतृत्व र सहभागिता भएको देशहरूमा क्युवा अग्रपङ्क्तिमा छ ।
६०५ सदस्यीय राष्ट्रिय सभामा ५३.२२ प्रतिशत महिला प्रतिनिधि छन् । रुवान्डापछि संसदमा सबैभन्दा वढी महिला सहभागिता भएको देश हो क्युवा ।
क्युवाको राष्ट्रिय सभामा निर्वाचित ३ सय २२ महिला सदस्य कुनै कोटा प्रणालीको परिणाम होइन । नेपालमा ३३ प्रतिशतसमेत विभिन्न जाति, लैङ्गिक समानताको आधारमा महिला सहभागिता गराइरहेको अवस्थामा क्युवामा महिलाहरू आफ्नो क्षमता र योग्यताको आधारमा संसदमा पुग्छन् । यो राजनैतिक नेतृत्व र विचारको नतिजा हो । एउटा चिनियाँ भनाइ छ, पहिलो पाइला सबैभन्दा लामो र महत्वपूर्ण हुन्छ, क्युवाली महिलाहरूले त्यो पहिलो पाइला आजभन्दा ५०–६० वर्ष अगाडि नै चालिसकेका थिए । आजको महिलाहरूको यो सहभागिता त्यही यात्राको निरन्तरता हो ।
नेपालभन्दा भौगोलिक र जनसाङ्ख्यिक हिसाबमा सानो देश क्युवाको राजनैतिक व्यवस्था समाजवादी भएको हुँदा क्युवा आज हरेक पक्षमा अगाडि बढ्दै छ । नेपालले क्युवाको इतिहासबाट सिक्नुपर्छ । क्युवाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासबाट सिक्न आवश्यक छ । सबैभन्दा महत्वपूर्ण आफ्नो माटोको रक्षाको निम्ति एक इन्च पनि नडग्मगाउने क्युवाली नेतृत्वबाट सिक्न जरुरी छ ।
आज नयाँ पुस्ताका मिगुयल डियाज क्यानल क्युवाका राष्ट्रपति छन् । फिडेलको अमेरिकी साम्राज्यवादले पटक–पटक हत्या प्रयासहरू नगरेका होइनन् । उहाँको उँचो व्यक्तित्व भत्काउने प्रयासहरू विफल बनाइएबाट शत्रुसँग सदा चनाखो रहनुपर्ने शिक्षा मिल्छ ।
ख्रुश्चेभको संशोधनवादी विचारको विरुद्ध पनि फिडेल उभिनुभयो । उहाँको माक्र्सवाद–लेनिनवाद र समाजवादप्रतिको सिद्धान्तनिष्ठता हाम्रो लागि ठूलो शिक्षा हो । क्याष्ट्रोको जीवन हरेक क्रान्तिकारी मनमनले गाउन आवश्यक छ । चे ग्वेभाराले क्रान्तिको समयमा लेख्नुभएको ‘फिडेलको गीत’ सम्झना हुन्छ ।
तिमीले भनेका थियौ–सूर्य उदाउनेछ
लौ जाऔं
नकुल्चिएको बाटोमा मानिसले
तिमीले माया गरेको
हरियो टापुलाई मुक्त गर्न ।
आऊ, हामी अगाडि बढौं
दुर्भाग्यको अपमानलाई आफ्नो
निधारबाट मेटाउन
विजयलाई हात पारौंला
मृत्युलाई छिचोलेर जाऔंला ।
(क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९३ औं जन्म दिवसको अवसरमा क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा आइतबार भएको विचार गोष्ठीमा व्यक्त विचार)
Leave a Reply