भर्खरै :

न जनतालाई थाहा न जनप्रतिनिधिलाई थाहा

भक्तपुर, ३१ साउन । स्थानीय सरोकारवालासँग विनापरामर्श चाँगुनारायण नपा वडा नं ९ र सूर्यविनायक नपा वडा नं ९ र १० समेटेर अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला बनाउने सरकारी प्रस्तावको चाँगुनारायण नपाका जनताले विरोध गरेका छन् ।
बिहीबार आयोजित रङ्गशाला बनाउने भनिएको क्षेत्रमा बसोबास गर्दै आएका र जग्गा भएका जनताको बृहत् भेलाबाट रामचन्द्र बासीको अध्यक्षतामा गठित पीडित सङ्घर्ष समितिले जनतामाथि आफ्नो निर्णय जबरजस्ती थोपर्ने सरकारी रवैयाको विरोधमा व्यवस्थित आन्दोलनका गतिविधि गर्ने तय गरेको छ ।
सयौंको सङ्ख्यामा स्थानीय किसान र बासिन्दा सहभागी भेलामा भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले स्थानीय जनताको भावनाप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्बन्धित निकायसम्म जनभावना पु¥याउने आफ्नो कर्तव्य पूरा गर्न सक्रियतापूर्वक लाग्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय जनताको उठिवास हुने गरी सरकारले यसरी आफ्नो निर्णय थोपर्न खोज्नु शासक दलको फासीवादी चरित्र भएको धारणा राख्नुभयो ।
भक्तपुर क्षेत्र नं १ को निर्वाचित जनप्रतिनिधि भएर पनि क्षेत्र नं १ मा बनाउने भनिएको संरचनाबारे आफूलाई कुनै जानकारी नगराइएको सहभागी जनतालाई अवगत गराउँदै उहाँले संसदीय मर्यादासमेत नजान्ने मानिस आज सांसद र मन्त्री बन्दा संसद प्राज्ञिक थलो भन्दा पनि बलमिच्याइँको थलो बनेको बताउनुभयो ।
उहाँले रङ्गशाला बनाउने भनेर हल्ला गरिएको क्षेत्रमा जग्गाा रोक्का गर्न नमिल्ने भन्दै जनताको समर्थनविना रङ्गशाला बन्न नसक्ने बताउनुभयो ।
सांसद सुवालले सबै सुविधा र संरचना काठमाडौं उपत्यकाभित्र मात्र बनाउँदा उपत्यका बाहिरका नेपाली जनतामाथि भेदभाव हुने भन्दै रङ्गशाला उपत्यकाभित्र भन्दा मकवानपुरमा स्थापना गर्नु उपयुक्त हुने बताउनुभयो ।
‘मकवानपुर जिल्ला जग्गा–जमीन पनि धेरै भएको जिल्ला हो । काठमाडौं उपत्यकाबाट त्यत्ति टाढा ठाउँ पनि होइन ।’, सुवालले भन्नुभयो ।
किसान अगुवा गोविन्द दुवालले किसानहरूका समस्याबारे अहिलेको सरकार पनि गम्भीर नबनेको बताउनुभयो । उहाँले किसानले गर्दै आएको भूमि जोगाउने सङ्घर्षमा आफू तत्परताका साथ लागिपर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
रङ्गशाला पीडित सङ्घर्ष समिति सूर्यविनायक नपाका अध्यक्ष शिवशरण कार्कीले भकारीमूल खास कुन स्थानलाई भनिन्छ भन्ने समेत जानकारी नभएका मानिसहरू आज भकारीमूलमा रङ्गशाला बनाउने भनेर कराउँदै हिंडेको बताउनुभयो ।
उहाँले शासक दलका स्थानीय कार्यकर्ताले जनतालाई ‘तिम्रो जग्गा पर्ने होइन । किन आन्दोलनमा हिंड्नुपरेको ?’ भन्दै भड्काउने गरिरहेको बताउनुभयो ।
चाँगुनारायण नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले सरकारी कर्मचारीले आफूखुसी जनताको जग्गा खोस्ने आदेश दिनु आपत्तिजनक भएको बताउँदै जनताको पक्षमा मत राखेपछि जग्गा प्राप्ति समितिको बैठकमा आफूलाई खबर नगरिएको जानकारी दिनुभयो । भेलामा रङ्गशाला बनाउने भनिएको स्थानमा घर वा जग्गा भएका प्रतिनिधिको तर्फबाट रामचन्द्र बासी, नीरज लवजू, एनबी फोजू, नारायणभक्त न्हेम्हाफुकी र हरिसुन्दर छुकाँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *