यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मेरो मावली ताथली । ताथलीका ढुंगानाहरू मेरो मावली खलक । ताथली भनेको विकासतिर चाख नभएको ठाउँ सुरुमा । त्यहाँ बत्ती पनि पुगेको थिएन । टेलिफोन, मोटरबाटो पनि पुगेको थिएन । खानेपानी पनि पँधेराहरूमा खाने चलन थियो । पुरानो समाज थियो । मेरो मामाघरमा म सानो फुच्चे छँदैदेखि नै जाने आउने गर्थेंँ । मामाका छोराहरू अलिअलि पढे लेखेका थिए । उनीहरूले अलिकति बुझे, अरुले पनि पढेलेखे होलान्, मेरो चाहिं सङ्गत मामा र उनका छोराहरूसँग थियो । उनीहरू एकपटक एक भएर देउसी खेलेछन् । देउसी खेलेर अलिअलि पैसा पनि जम्मा गरे । त्यो बेला एकहजार, १२ सय पैसा हुँदा धेरै पैसा हुने समय थियो । उनीहरूले मलाई हामीसँग केही पैसा छ भान्दाइ भने । अनि मैले त्यसो भए एउटा स्वास्थ्य संस्था खोलौं भनेर भनें । त्यति पैसाले त्यो जग हाल्नै पुग्दैनथ्यो तैपनि गरौं भनें । मैले पनि सहयोग गर्ने कुरा गरें । स्वास्थ्य चौकी खोल्न भनेर समिति बनाए । शिलान्यास गरे ।
त्यसपछि अझ पैसा चाहियो । पैसा छैन । त्यसपछि मैले मामाका छोराहरूलाई के भनें भने अब मैले तिमीहरूलाई पोखरीमा खसाल्नु थियो, खसालें, अब पौडन सक्छौ–उत्रन्छौ, नत्र डुब्छौ र मर्छौ भनें । मैले त्यो बेला अलिअलि, जे सकें, त्यो मद्दत गरें । ती केटाहरूले त्यो कामलाई गम्भीर रूपमा लिए । त्यसपछि उनीहरू क्रियाशील हुन थाले । चौकी बनेपछि दरबन्दी चाहियो, यो चाहियो, त्यो चाहियो हुन थाल्यो । घरमात्र भएर त केही पनि हुँदैन ।
अनि उनीहरूले त्यो ठाउँ, ढुंगेनीमा त्यसको उद्घाटन गर्ने मनसाय गरे । त्यो उद्घाटन गर्न के गर्ने भनेर मसँग परामर्श भयो । मैले नेपाल क्षयरोग निवारण संस्था, त्यसमा म पनि कार्य समिति सदस्य थिएँ, त्यसको अध्यक्ष कमल राणा थिए । हाम्रो संस्थाको मोटर थियो । अनि हामी त्यसको उद्घाटन गर्न भनेर मोटरमा गयौं । वि.सं. २०३६ सालतिरको कुरा हो यो । त्यो बेला स्वास्थ्य मन्त्री रामानन्दप्रसाद यादव भन्ने हुनुहुन्थ्यो । हामीसँगै गएका थियौं । जाँदा ताथलीको फैढोका नपुग्दै एउटा पाटी आउँथ्यो । त्यसलाई धेरैले चोरकाटे पाटी भनेर भन्थे । त्यहाँबाट मोटर अगाडि गएन । पानी परेकोले मोटर गाडियो । मोटर निकाल्नै सकिएन । त्यसपछि त्यो उद्घाटनमा हामी जान सकेनौं । त्यसै फर्कियौं । त्यो हुँदा आयोजक निराश भए । मोटर गाडिएको कुरा खबर गर्न टेलिफोन पनि थिएन । मोबाइल त छँदै थिएन । खबर पनि भो भएन ? पछि के भो के भो ? त्यसमा हामी विफल भयौं । पछि गएर अर्जुननरसिंह केसी स्वास्थ्य मन्त्री भए, पञ्चायतकै बेलामा । उनलाई प्रमुख अतिथि बनाएर हामी उद्घाटनमा गयौं । यो कुरा वि.सं.२०३८ सालको कुरा हो ।
उद्घाटनको दिनमा खानाको तर्जुमा मामाघरमा गरिएको थियो । मामाघरको चोटामा खाने भयौं । हामी बाहुन भएकाले खाना खाँदा धोती फेरेर खानुपथ्र्यो, लुगा लगायो भने जुत्ता लगाएर खानु हुन्नथ्यो । अर्जुननरसिं प्रमुख अतिथि, हामी सबैले लुगै लगाएर, जुत्तै लाएर खाना खायौं । अहिले त राम्रो भयो भन्ने सुन्छु ।
म तीन वर्षको हुँदा मेरो आमा मरेको, अनि मामा, कृष्णप्रसाद ढुंगानाको म टुहुरो भानिज । मलाई धेरै माया गर्नुहुन्थ्यो । हामी त पढ्यौं लेख्यौं । उहाँहरूको हेरि त धेरै पढ्यौं हामीले । उहाँको छोरी ज्वाइँ चाहिं मेरो साथी श्रीकण्ठ शर्मा, हामी त्यो बेलामा संस्कृत पढेका थियौं । मामाको इच्छा के रहेछ भने ज्वाइँ र भानिजलाई लाएर सप्ताह लाउने । धर्मकर्म तर्नेथ्यो कि उहाँको वा अरु केही मलाई त्यो थाहा भएन । त्यो इच्छा पूरा नहुँदै मामा बित्नुभयो । मामाका छोराहरूले बाको इच्छा पूरा गर्नका लागि मलाई पनि त्यो भागवत वाचन गर्नमा भिनाजु, साथी श्रीकण्ठ र म भएर वाचक र उपवाचक बन्नका लागि अनुरोध आयो । अनि मैले भनें, ए बाबु म नभनौं, तिम्रो घरमा जुत्ता लाएर भात खाएको छु, कसरी भागवत भन्नु म ? छोड् न मलाई । अनि वास्तवमा मलाई छोडे । पछि भागवत लाए, त्यसको सांगेमा म पनि गएको थिएँ ।
त्यो स्वास्थ्य चौकीको विषयमा मोटामोटी यिनै हुन् । त्यहाँका त्यो बेलाका युवकहरू, रामहरि, उद्धव, अरु पनि छन् । तिनीहरूलाई मैले विकासमा तानेँ । विकासको पोखरीमा हाम फाल्न लाएँ । उनीहरू उत्रिए ।
त्यो बेला फैढोका डर लाग्ने थियो । केटाकेटीमा मामाघर जाँदा फैढोकामा अलि उकालो चढेर ओरालो झर्नुपथ्र्यो । मेरो मावली जाँदा, धेरै सानोमा ठूलो पानी पर्यो । मामाले मलाई बोक्नुभएको थियो । त्यो ठाउँ भनेको जयराम बासुकलाको घरबाट केही पर जाँदाको बाटोमा पर्छ, त्यहाँ क्षेत्रीहरूको घर छ । कान्लै कान्ला भएको खेत छ, देब्रेपट्टि । त्यहाँबाट अलि ओर्लेपछि पँधेरो छ । गहिरो गहिरो जानुपर्छ । त्यहाँ पुग्दा यत्ति ठूलो पानी आयो कि मामालाई त्यो खोला तर्न निक्कै मुश्किल भएको थियो । त्यो बेला म बग्ला भनेर मामाले मलाई काँधमा राखेर लग्नुभएको थियो ।
अँध्यारोमा….
नेपाल मजदुर किसान पार्टीमा म लागेपछि, जयराम बासुकला पनि लागेपछि हाम्रो चिनाजान भयो । मेरो नजरमा जयराम बासुकला, नेवार भए पनि त्यो पर्वते गाउँको सङ्गत भएकोले आधा नेवार, आधा पर्वते जस्तो थियो । उनको बोलीमा नेवारी लवज आउँदैन अथवा अत्यन्त कम आउँछ । प्रष्ट नेपाली भाषा बोल्न सक्छ । त्यो गुण छ उनीमा । त्यो केले गर्दा भन्दा उसको सङ्गत चाहिँ नेपाली बोल्नेसँगको सङ्गत भयो । घर परिवारमा नेवारीमा कुराकानी भयो, तर बाहिर निस्कनासाथ बाहुन क्षेत्री वा गैर नेवारसँग भेट भयो र उसको बोली नै नेवारी लवज नभएको देखियो ।
पार्टीमा म पनि अलि बढी सक्रिय भएँ हुँला, के के काम गरें हुँला, उनले पनि गरे । बेलाबेलामा विभिन्न कार्यक्रमहरूमा भेट भइरहन्थ्यो । कुनै बेला त एउटै कार्यक्रममा सँगै बसें कि जस्तो नि लाग्छ । मलाई जयरामले ठूलो ठान्ने, धेरै जान्ने ठान्ने । मलाई उनले त्यसरी ठाने पनि त्यति ठूलो नलागे पनि ताथलीको अवस्था हेर्दा उनले ठानेको पनि ठीकै लाग्थ्यो । ताथली त धेरै पिछडिएको, विकासमा पछि परेको ठाउँ थियो । त्यस्तो ठाउँमा शिक्षाको जग बसाउने काम पनि उनैले गरेको मलाई सम्झना छ । फैढोका जस्तो डरलाग्दो, अनि तर्साउँछ भन्ने ठाउँलाई अहिले यो अवस्थामा ल्याउने सपना देखे जयरामले । फैढोका त पहिला लास बोकेर दुईतर्फी हिंड्न पनि अफ्ठ्यारो र साँघुरो थियो । त्यस्तो ठाउँ अहिले कत्ति सुन्दर भइसक्यो, त्यो काम गरेको त जयराम बासुकलाकै योजनामा हो नि ।
पार्टीमा लागेपछि सम्बन्ध भयो । कर्ण ह्योजू काण्डमा जयराम बासुकला पनि परे, जेलमा । त्यहाँबाट निस्केपछि उहाँमा अझ नयाँ जोश आएको देखें । राजनीतिक कार्यकर्ता भएर जेल परेपछि उनी अझ खारिए । त्यसपछि उनीसँग अझ थप नाता भयो । एउटा पार्टीको नाता, अर्को मावली गाउँको नाता । त्यही मावली गाउँको नाताले पार्टीलाई छापमा फैलाउन सकिन्छ कि भन्ने एउटा आश त्यो बेला जागेको थियो । त्यो नातालाई उनले पार्टी सङ्गठनको विकासका लागि कसरी सदुपयोग गर्न सकिन्छ भनेर सल्लाह हुन्थ्यो ।
चुनावको बेला आएपछि म छापमा नेपाल मजदुर किसान पार्टीलाई भोट चाहियो भन्थें । भोट माग्थें । त्यो बेला अलिअलि क्षेत्री मान्छे नेमकिपामा भोट हाल्थे, हाम्रो त्यो ढुंगाना मावली खलकबाट एउटा पनि भोट मादललाई आएन । अनि चुनावको बेला मेरो मामा, बलराम ढुंगानालाई मादललाई भोट हाल्न पर्छ भन्थँे, म, भोट हाल्ने बेला हाल्नु हुन्नथ्यो । म कुरा गर्थें, मावलीसँग । मेरो कुरा सुन्थे । त्यो गणेश मावि, गाविस भएको ठाउँमा त गाविसभरिकै ठूल्ठूला आमसभाहरू हुन्थे । म पनि बोल्थें, भोट माग्थें, मलाई चाहिं एउटा पनि भोट जम्मा गर्न सकिनँ जस्तो लाग्थ्यो । तर त्यहींका मान्छेहरूले कसरी मन जितेर भोट मागे ? भन्ने म आफैले आफैलाई सोध्थें । त्यहाँ म राजनीतिक रुपले पस्न विफलै भएँ, तर जयरामजी पसे, अहिले पनि भित्रभित्र सङ्गठन छ भन्ने मैले सुनेको छु ।
बासुकलाको काम गर्ने तरिका अनौठो छ । कसैसँग झगडा नगर्ने, नरम हुने स्वभावका हुन् उनी । नरम हुने राजनीतिक पार्टी, त्यसमाथि बामपन्थी पार्टीमा नयाँ कार्यकर्ता नरम हुने कम हुन्छन्, बढी त उग्र हुन्छन् । उग्र भएन भने कम्युनिष्टै हैन भन्ने भन्ठान्छ । तर, जयरामजीमा मैले त्यस्तो पाइनँ । उनी शालीन, भलादमी नै थिए । उनी नरिसाउने, एउटा गालामा कोहीले हिर्कायो भने अर्को गाला थाप्ने स्वभावका थिए । हामी एउटै कमिटीमा बसेर काम गरेँ जस्तो लाग्दैन ।
उनको व्यक्तित्वले प्रभाव पार्ने मान्छेलाई, गाउँमा पनि जयरामले गर्दा नै पर्वतेहरूको भोट बढेको हो । नेमकिपालाई पर्वतेको भोट आउन गा¥हो भएको बेलामा जयराम बासुकलाले भने त्यसलाई सजिलो बनाएको थियो । उनी सिद्धान्तमा कति डुबेको थियो, मलाई थाहा छैन तर उनी इमान्दार बामपन्थी कार्यकर्ता हुन् । शहर बजारको मान्छेको एउटा मनस्थिति हुन्छ, उहाँहरूका हुर्केको अर्कै वातावरण हुन्छ । भक्तपुरको एउटा कुना, गल्लीको मान्छेलाई नेपाली बोली बोल्न समेत गाह्रो छ । त र ट छुट्याउन गा¥हो हुन्थ्यो ।
सो गाउँ निकै पछि परेको गाउँ थियो । त्यो बेला त्यहाँका पर्वतेहरूले नेवारहरूलाई गन्दै गन्दैनथे । विभेद थियो । अहिले त्यो अवस्था छैन । त्यो भेगलाई नै राम्रो गर्नका लागि उनले हदैसम्मको काम गरेका छन् । सकभर माथिका मान्छेले तल पानी नपठाउने, गइरहेको पानी बन्द गरिदिने जस्ता अनेक अनेक समस्याहरूलाई पनि उनले समाधान गरेको कुरा मैले सुनेको छु । उनीसँग अति भित्र पस्न सक्ने क्षमता र गुण थियो । समाजमा भित्र पस्न सक्ने गुण सबैमा हुँदैन । त्यो गुण उनीमा थियो । जयरामलाई मन नपराउने मान्छे भए पनि एकदुई जनामात्र होलान् । यो भनेको ठूलो सम्पत्ती हो ।
सामाजिक परिर्वतन, शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, बिजुलीलगायतमा त्यो भेगलाई नै कसरी अगाडि ल्याउने भन्ने चिन्तन उनमा थियो । पार्टीको पनि काम गर्नुपर्ने, अर्को सामाजिक काम गर्नुपर्ने दुइटै दायित्व उनले निभाएका थिए । हुन त सामाजिक काम गर्नु पनि पार्टीकै काम हो तर पार्टीमा पनि कति नेताहरू यो कुरा बुझ्दैनन् । खानेपानी, स्कुल, स्वास्थ्य सेवा, शिक्षाको काम मेरो हैन भन्ने पार्टी कार्यकर्ताहरू पनि मैले देखेको छु, तर जयराम त्यसो थिएनन् । उनले पार्टीकै काम हो भनेर ती कुरालाई पनि सँगसँगै लगे । इमानदारीसँग लागे । त्यो विशेषता हो । उनी बिजुलीमा जन्मेका हैनन्, अँध्यारामा जन्मेका व्यक्ति । बिजुलीको उज्यालोमा जन्मने अर्कै हुन्छ । अँध्यारामा जन्मेको मान्छेले उज्यालो फैलाउनु भनेको कुरा ठूलो कुरो हो ।
(२०७५ साउन १ गते काठमाडौंको घट्टेकुलोस्थित वरिष्ठ पत्रकार ९० वर्षीय रिसालसँग हरिसुन्दर छुकांले गरेको कुराकानीको सार ।)
Leave a Reply