भर्खरै :

अथक कार्यकर्ता जयरामको सम्झनामा- नारायणमान बिजुक्छें (रोहित) अध्यक्ष, नेमकिपा

का. जयराम बासुकलाले निःस्वार्थ रुपले दिन रात नभनी जनताको सेवा गरेकोबारे भक्तपुर जिल्लाका सबै संवेदनशील जनता अवगत छन् । ताथली गाविस अर्थात् आजको चाँगुनारायण नगरपालिकामा जनसहभागिताको आधारमा विद्यालय स्थापना, बाटो बनाउने, खानेपानीको बन्दोबस्त, आलु खेतीको विकास गराउने, भूमिगत सिंचाइ सुरु गर्नेजस्ता विकास निर्माण कार्य साथी जयराम बासुकलाकै अगुवाईमा भयो । यसबारे सहयोग गर्ने स्थानीय जनता सबै यसका साक्षी छन् ।
भौतिक विकास निर्माणसँगसँगै निःस्वार्थ रुपले जनताको सेवा गर्ने भावनालाई बीउको रूपमा जनताको माझमा छर्न पाएको भए र त्यस्तो बिरुवा हुर्काउन पाएको भए आज चाँगुनारायाण नगरपालिकामा पर्यटन सेवाको शुल्क, खानेपानी र अन्य आर्थिक गविविधमा ठेक्का लगाई नगरपालिका निरीह हुने र ठेक्कादारहरू मोटाउनेजस्ता नकारात्मक कामहरू हुने थिएनन् ।
यसकारण इमानदार राजनैतिक कार्यकर्ताहरूले विकास निर्माणको कार्यसँगसँगै जनताको सैद्धान्तिक र राजनैतिक स्तरलाई पनि विकास गर्नेबारे ध्यान पु¥याउनु आवश्यक छ ।
त्यसमा ध्यान नपु¥याउँदा पुँजीवादी समाज अर्थात् ‘शुभ–लाभ’ मा प्राथमिकता दिने समाजमा आफ्नै मानिसले अनेक आर्थिक मामिलामा व्यक्तिगत हितलाई अघि सारी सामूहिक हितलाई क्षति पु¥याउने प्रवृत्तिले प्रोत्साहन पाउनेछ ।
का. जयराम बासुकलाको असामयिक निधनको कारण चाँगुनारायण नगरपालिकामा निःस्वार्थ रुपले जनताको सेवा गर्ने कार्यकर्ताको सङ्ख्यालाई बढाउने काम बीचैमा रोकियो । तर नयाँ पुस्ता उहाँको अपुरो कामलाई पूरा गर्न अथक रूपले लाग्ने आशा गर्छु ।
का. जयरामबाट अरुले सिक्नुपर्ने केही गुणहरू निम्न छन् ः–
क.आफूले गरेका कामहरूबारे उहाँ कहिले घमण्ड गर्नुहुन्न,
ख. अरुभन्दा आफू ठूलो हुँ भन्ने अहँकार उहाँमा कहिले देखिएन,
ग. अरुले काम नगरे पनि उहाँ आफ्नो काममा निरन्तर लागिरहनु हुन्थ्यो ।
का. जयराम बासुकलाले गर्न नभ्याएका कामहरू निम्न छन् ः–
क.का. जयराम बासुकलाले आफूले जस्तै निरन्तर जनताको सेवामा लाग्ने इमानदार र सिद्धान्तनिष्ठ उत्तराधिकारी कार्यकर्ता तयार गर्ने समय पाउनु भएन ।
ख.स्थानीय पार्टीमा सैद्धान्तिक अध्ययन र अध्यापन गराउने काममा उहाँले भ्याउनु भएन र अन्य साथीहरू त्यो उचाइमा पुग्नै पाएनन् ।
ग.सङ्गठनमा आलोचना र आत्मआलोचना गर्ने परिपाटीलाई बलियो बनाएर लाने समय उहाँले पाउनु भएन ।
घ.भौतिक विकासको साथै आध्यात्मिक विकास अर्थात् साथीहरूलाई पद र पैसाबाट टाढा रहने नैतिक शिक्षा दिन उहाँले भ्याउनु भएन । का. जयराम बासुकलाको व्यक्तित्वबारे
का. जयराम कहिले नरिसाउने र निराश नहुने साथीको रूपमा पाएँ । उहाँले आफ्नो घर र छोराछोरीबारे पार्टीलाई दुःख दिएको वा गुनासो गरेको कहिल्यै मलाई थाहा छैन ।
मैले बारम्बार सम्झिरहने साथीमध्ये एक जना उहाँ नै हुनुहुन्छ । आज सम्झँदा अच्चम लाग्छ – कहिले साथीहरूबारे गुनासो गरेको पनि मलाई थाहा छैन । बरु साथीहरूको स्वार्थी भावनाबारे आलोचना गर्दा ‘साथीहरू नयाँ छन्, सिक्दै जानेछन्, म सम्झाउँदै गर्छु’ भन्थे ।
कुनै एक व्यक्तिको बारे कुरा उठाउँदा उहाँले नम्र भएरै भन्नुभयो – ‘ऊ खराब भए पनि उनका जहान, छोरा–छोरी निर्दोष छन्, ती विचराहरूले दुःख पाउने काम गर्नु उचित हुन्न ।’
कसैको विरोधमा गुनासो नगर्ने र आफ्नो हितमा कुरा नगर्ने मानिस मैले उहाँलाई नै देखें – २५–३० वर्षको सङ्गतमा । उहाँको सरल, सौम्य र इमानदार व्यक्तित्वलाई देखेर एकपटक राष्ट्रियसभामा नेपाली काङ्ग्रेस (नेका) ले नेमकिपालाई मत दिने वचन दिएको थियो । पछि एक दिन अगाडि नेकाले एक शर्त तेस्र्यायो – ‘हामीले मत दिएको उम्मेदवारलाई आफ्नो अवधिसम्म नेकाको विरोधमा बोल्न नदिनु होला ।’
जवाफमा भनें– ‘जयराम बासुकला हाम्रा असल साथीमध्ये एक हुनुहुन्छ । उहाँले पार्टीले निर्देशन दिएको काम गर्नुहुन्छ । नेमकिपा एक स्वतन्त्र राजनैतिक दल भएको हुँदा आवश्यक विषयमा नेकाको पनि आलोचना र विरोध गर्नुपर्ने हुन्छ, त्यो काम उहाँले गर्नुहुनेछ ।’
मेरो उत्तर सुनेपछि नेका आफ्नो वचनबाट पछि हट्यो र आफ्नो मत राप्रपालाई दियो ।
एमालेसँग पनि केही मत थियो । एमालेले नेमकिपालाई मत दिने प्रस्ताव ल्यायो । हामीले सकारात्मक उत्तर दियौं । तर पछि हाम्रो उम्मेदवार का. जयराम बासुकलालाई एमालेको कार्यालयमा मत माग्न पठाउनुपर्ने शर्त राख्यो, हामीले मानेनौं । एमालेले का. जयराम बासुकलालाई अप्ठेरामा पार्ने शर्त बाँध्न खोजेको र शर्त फिर्ता लिने निहुँ खोजेको अनुभव भयो । मैले प्रस्ट भाषामा जवाफ दिएँ – ‘हामीले एमालेसँग भिक्षा मागेजस्तो मत मागेको होइन, बरु विनोद शाहीको क्षतिपूर्ति मागेका हौं र अबदेखि हाम्रो पार्टी नफुटाउने वचन पनि एमालेले दिनु उचित हुन्छ ।’
त्यो शर्तअघि सारेपछि एमालेले आफ्नो मत राप्रपालाई दियो । यसरी नेकां र एमाले दुवैले आ–आफ्नो मत राप्रपाका रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटालाई दिए । नेकां र एमाले दुबै सैद्धान्तिक र राजनैतिक दृष्टिले अस्थिर कच्चा राजनैतिक शक्तिको रूपमा देखें ।
का. जयराम बासुकलालाई पदको निम्ति कहिल्यै लालायित देखिनँ र आफूले गाउँको नेतृत्व पदमा बस्दा कहिले आफ्नो र आफ्नो परिवारको बारेमा कुरा गरेको पनि थाहा छैन । तर नगरका साथीहरूले विरोध प्रदर्शन र ठूलठूला जनसभा गर्दा गाउँका साथीहरूलाई खबर नपुग्दा र ढिलो खबर पुगेकोबारे जानकारी दिएपछि भने भक्तपुर जिल्लाको पार्टीको सचिव नगरबाट लिइएन ।
का. बासुकला अरुलाई दुःख नदिने र आफ्नो मनको दुःख पनि साथीहरूसँग नपोख्ने साथीको रूपमा अनुभव गरें । उहाँको दुःखलाई थाहा नपाएको र उहाँको दुःखलाई साथ दिने अवसर समेत साथीहरूले नपाएकोमा सबै स्तब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *