भर्खरै :

अफ्रिकाबारे दस गलत बुझाइ

वाङ वेन
धेरै मानिस अफ्रिका भन्नेबित्तिकै ‘गरिब’, ‘अविकसित’ वा ‘रोगी’ शब्द प्रयोग गर्न हतारिन्छन् । उनीहरूले चीन–अफ्रिका सहकार्य र लगानीबारे नकारात्मक धारणा राख्दै आएका छन् । आगामी सेप्टेम्बरमा चीन–अफ्रिका सहकार्य मञ्च (फोकाक) को बेइजिङ शिखर सम्मेलन हुन लागेको छ । सोही सन्दर्भमा अफ्रिका फेरि चर्चाको विषय बनेको छ । दसभन्दा बढी अफ्रिकी देशहरूको स्थलगत अध्ययनको आधारमा अफ्रिका र चीन–अफ्रिका सम्बन्धबारे रहेका दस वटा भ्रमबारे मैले यहाँ विश्लेषण गरेको छु ।
पहिलो, अफ्रिका गरिबीको पर्यायवाची शब्द होइन । अफ्रिका संसारकै सबभन्दा धेरै विकासशील देश भएको महादेश हो । केही देशहरूको प्रतिव्यक्ति आय निकै कम छ । जिम्बाबे, कङ्गो र लाइबेरिया त्यस्ता केही अफ्रिकी देश हुन् । तर अरु देशहरू तुलनात्मक रुपमा धनी छन् । अफ्रिकाका तीन सबभन्दा ठूलो आर्थिक शक्ति देशमध्ये नाइजेरिया पनि पर्दछ । नाइजेरिया जनसङ्ख्याको हिसाबले मात्र सबभन्दा धेरै जनसङ्ख्या भएको देश होइन, बरु अफ्रिकाको सबभन्दा बढी र संसारकै छैटौं ठूलो तेल निर्यातकर्ता देश हो । दक्षिण अफ्रिका मध्यम आय भएको देश हो । यो देश संसारकै सबभन्दा धेरै सुन, हिरा, भानाडियम (एक प्रकारको औषधिजन्य खनिज), मेनगानिज, क्रोमियम, सिसा, युरेनियम र एसबेटोस पाइने क्षेत्र हो । संसारका चार प्राचीन सभ्यतामध्येमा पर्ने इजिप्ट अर्थतन्त्र, विज्ञान–प्रविधि, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रमा अफ्रिकाकै अग्रणी देश हो । अधिकांश अफ्रिकी देशहरूको अर्थतन्त्र तुलनात्मक रुपमा पछाडि छ तर केही देशले पछिल्लो समय आफ्नो वृद्धि दरमा सुधार गरेको छ ।
दोस्रो, के अफ्रिका सबै एउटै हो ? होइन । अफ्रिकी सङ्घमा ५५ वटा देशहरू छन् । युरोपेली सङ्घले जस्तै अफ्रिकी सङ्घले पनि भविष्यमा एउटै मुद्रा चलाउने योजना बनाएको छ । तथापि अफ्रिका विविधतायुक्त महादेश हो । अफ्रिकाभित्रै अरु धेरै समुदायहरू पनि छन् । साहेल–सहारा देशहरू, अरब माघरेब सङ्घ, मध्य अफ्रिकी आर्थिक तथा मौद्रिक समुदाय आदि त्यस्ता केही समुदाय हुन् । जातीय विविधताले देश–देशबीच सांस्कृतिक विविधता पनि कायम राखेको छ ।
केही मानिस अफ्रिकामा लगानी गर्नु खतरा मोल्नु भनी सोच्छन् । तर खासमा त्यस्तो होइन । अपुग पूर्वाधार, समय–समयमा भइरहने सत्ता परिवर्तन र धेरै देशको स्थिर सामाजिक सुरक्षाका कारण अफ्रिकामा लगानीको सुरक्षा चिन्ताको विषय बन्ने गरेको छ । समुद्रपार लगानी गर्ने क्रममा अफ्रिका पछिल्ला वर्षमा चिनियाँ व्यापारिक संस्थाको लगानीको गन्तव्य बनेको छ । सन् २००५ देखि २०१६ सम्ममा चीनले अफ्रिकाका २९३ परियोजनामा लगानी गरे । जसमा १ खर्ब अमेरिकी डलर बराबरको लगानी भयो । १ लाख ३० हजारभन्दा बढी रोजगारी सृजना भयो । सन् २०१६ मा अफ्रिकामा चीनको लगानी १०६ प्रतिशतले बढ्यो । अफ्रिकी महादेशमा चिनियाँ व्यापारिक संस्थाको बाढीसँगै अफ्रिकामा सबभन्दा धेरै लगानी गर्ने तीन देशमध्ये चीन पनि परेको छ । मेरो अनुसन्धानअनुसार चिनियाँ लगानीका परियोजनाको नाफा र घाटा दर सामान्य व्यापारिक अभ्यासमा निर्भर हुने गरेको छ । केही परियोजनाले भने नाफासमेत देखाइरहेका छन् । यदि चिनियाँ व्यापारिक संस्थाहरू स्थानीय परिस्थितिमा भिज्ने जान्ने हो भने लगानीको खतरा घटाउन सकिनेछ ।
के चीनले अफ्रिकामा निःस्वार्थी भावका साथ सहयोग गरिरहेको हो ? चीन र अफ्रिकी देशबीचको सम्बन्धलाई समान सहकार्य भन्नुपर्दछ । चीनले अफ्रिकामा हजारौं किलोमिटर राजमार्ग, रेलमार्ग र पुल बनाइसकेको छ । विभिन्न स्कूल, अस्पताल, पुस्तकालय र रङ्गशाला बनाइदिएको छ । यसले चीनमा एक प्रकारको विवाद निम्त्याएको छ । यसलाई चीनमा ‘घाटा व्यापार’ को रुपमा समेत लिने गरिएको छ । तथापि अफ्रिकामा चीनको सहयोग नयाँ युगमा दक्षिण–दक्षिण सहकार्य प्रवद्र्धन गर्ने तरिकाको रुपमा लिनुपर्दछ । त्यस्ता गतिविधिले अफ्रिकामा चीनको प्रतिष्ठा बढाएको छ । धेरै वर्षसम्म लगातार चीन अफ्रिका चीनको सबभन्दा ठूलो व्यापार साझेदार बनिरहेको छ ।
अफ्रिकी जनताले आफ्नो ऋण तिर्न सक्दैनन् भनी सोच्नु पनि गलत हो । सन् २०१२ यता अफ्रिकामा चीनको औसत वार्षिक पूर्वाधार लगानी झण्डै १२ अर्ब अमेरिकी डलरमै सीमित बनाएको छ । जसले चीनलाई अफ्रिकाको पूर्वाधार विकासमा सबभन्दा ठूलो लगानीकर्ता बनाएको छ । पश्चिमा सञ्चारमाध्यमहरूले ‘ऋण साम्राज्यवाद’ को कथा बुन्न थालिसकेका छन् । चीनसँग ऋण लिएबापत अफ्रिकी देशहरूले आफ्नो सार्वभौमिकतामा सम्झौता गर्नुपर्ने उनीहरूको आशय हो । संयुक्त राष्ट्र सङ्घका अनुसार अफ्रिकाको ऋण र कूल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपात सन् २०१६–१८ मा सालाखाला ३२ प्रतिशत छ । यो अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै न्यून हो । संरा अमेरिकाको ऋण र कूल गार्हस्थ उत्पादनको अनुपात ११० प्रतिशतभन्दा यो निकै कम हो । इटालीको त्यस्तो अनुपात ११५ र जापानको अनुपात २२५ प्रतिशत छ । अफ्रिकामा ‘ऋण सड्ढट’ बारे पूर्वानुमान त्यहाँको कर र राजस्वसम्बन्धी निराशा र असुली क्षमताको कमजोरीका कारण भइरहेको हो ।
चीनमा अति धेरै अफ्रिकीहरू अवैध रुपमा समयसीमाभन्दा बढी बसिरहेको कुरा अतिरञ्जना हो । ठूलो सङ्ख्यामा अफ्रिकी मानिसहरू चीनमा समयसीमाभन्दा बढी बसिरहेको हल्लामात्र हो । त्यसै कारण लागूऔषधको तस्करी र अराजकता बढिरहेको पनि बताइन्छ । चीनको क्वाङ्चाओ प्रान्तमा मात्र ५ लाख मानिस रहेको हल्ला छ । वास्तवमा हजारौं वर्षदेखि संसारका लागि खुला क्वाङचाओ सहरमा ठूलो सङ्ख्यामा विदेशीहरू छन् । तथ्याड्ढअनुसार क्वाङचाओमा मात्र झण्डै १ लाख विदेशीहरू स्थायी रुपमा बसोबास गरिरहेका छन् । तीमध्ये ५५ प्रतिशत एसियाली छन् भने मात्र १५ प्रतिशत अफ्रिकीहरू छन् । अफ्रिकी मात्र ५ लाख छन् भन्नु अतिरञ्जना हो ।
कोही कोही अफ्रिकाबाट चीनले सिक्नुपर्ने कुरा गर्छन् । चालीस वर्षअघि चीन र अफ्रिकी देशहरू सबै अविकसित देशहरू थिए । अहिले सिङ्गो अफ्रिकाको अर्थतन्त्रभन्दा चीनको अर्थतन्त्र पाँच गुणाले ठूलो छ । साथै चीनले राजनीतिक स्थायित्व, आर्थिक वृद्धि, सहरी प्रशासन, गरिबी तथा निरक्षर उन्मूलन, पूर्वाधार, वैज्ञानिक तथा प्राविधिक अनुसन्धान र ई–कमर्शको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । विकाससम्बन्धी चीनको अनुभव अफ्रिकाका कम विकसित देशको सन्दर्भमा विकाससम्बन्धी पश्चिमा देशको अनुभव विकल्प हुनसक्छ । तर अफ्रिकी देशहरूले चीनबाट सिक्नैपर्छ भन्ने कुरा होइन । फरक परिस्थितिका कारण चीनको अनुभव अफ्रिकाको सन्दर्भमा जस्ताको तस्तै लागू नहुन सक्छ । अर्कोतिर अफ्रिकीहरूबाट चिनियाँहरूले सिक्नुपर्ने पक्ष पनि धेरै छन् । जीवनप्रतिको सकारात्मक भावना, प्रकृतिसँग सदभावमा जीवन बाँच्ने आदि पक्षमा अफ्रिकाबाट चीनले सिक्न जरुरी छ ।
अफ्रिकाको विकास मूलतः पश्चिमा दर्शनमा आधारित छ । तर पश्चिमा देशको प्रभाव भने क्रमशः कमजोर बनिरहेको छ । पन्ध्रौं शताब्दीदेखि अफ्रिका युरोपेली उपनिवेशवादीको शासनअन्तर्गत रहँदै आएको थियो । त्यसैको परिणामस्वरुप अफ्रिकी महादेश धेरै राजनीतिक समस्याबाट पीडित रह्यो । जातीय द्वन्द्व, साम्प्रदायिक द्वन्द्व र गोत्र गोत्रबीचको लडाईले अफ्रिकाको विकास र एकता प्रक्रिया ज्यादै प्रभावित रह्यो । सम्बन्धलाई जोड दिने र सबै पक्षको जीत हुने सहकार्यलाई प्राथमिकता दिने ‘क्षेत्र र बाटो’ (बेल्ट एण्ड रोड) कार्यक्रम अफ्रिकामा रहेको विभाजनलाई जोड्ने बलियो हतियार हुनसक्छ ।
चीन र अफ्रिकाबीचको सहकार्यले पश्चिमा देशको विरोधमा काम गर्दछ भन्ने कुरा सही होइन । हालैका वर्षमा चीन र अफ्रिकाबीचको नजिकको सम्बन्धका कारण पश्चिमा देशमा अनेक प्रकारका आशड्ढा फैलिएको छ । केही पश्चिमा मिडियाले त पश्चिमसँग लड्न चीन र अफ्रिकाले आपसी सहकार्य बलियो बनाएको अनुमान गर्न भ्याए । चीन र अफ्रिकाबीचको सहकार्य दक्षिण–दक्षिण सहकार्यको नयाँ अभ्यास हो । चीन र अफ्रिकाबीचको सहकार्य आपसी हित र सहयोगको सिद्धान्तमा आधारित सहकार्य हो ।
फोकाकको हरेक तीन तीन वर्षमा सम्मेलन हुनुका साथै अफ्रिकाले संसारका अरु शक्तिशाली देशहरू जस्तै संरा अमेरिका, फ्रान्स, जापान र भारतसँग पनि नियमित रुपमा सम्मेलन गर्दै आएका छन् । विश्व राजनीतिको एउटा स्वाधीन शक्तिको हिसाबमा अफ्रिकाले अरु कुनै एउटा ठूला शक्तिसँग मात्र टाँसिएर बसेको छैन । चीन र अफ्रिकासँग पश्चिमा शक्तिको द्वन्द्व पश्चिमा देशका जनताको अनुमानमात्र हो ।
चीन–अफ्रिका सहकार्यले विश्वको भविष्यको आकार दिनेसक्छ । चीन र अफ्रिकाको कूल जनसङ्ख्या विश्वको जनसङ्ख्याको तीन भागको एक भाग हुन आउँछ । चालीस वर्षअघि संसारका सबैभन्दा गरिब मानिस चीन र अफ्रिकामै थिए । लामो समयसम्म चीन र अफ्रिकाबीचको सहकार्य अविश्वसनीय मानिएको थियो । तर आज सुधार र खुलापन तथा जनताको दिगो मिहिनेतका कारण चीनले विश्वको गरिबी ७० प्रतिशतले घटाएको छ । साथै अफ्रिकासँग सर्वकालीन साझेदारी कायम गरेको छ । सन् २०१३ मा बेल्ट एण्ड रोड कार्यक्रम घोषणा गरेयता अफ्रिकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । यसले चीन र अफ्रिकी महादेशबीचको आर्थिक साझेदारीको ढाँचामा परिवर्तन आएको छ । यस्तो सहकार्यले विश्वको दीर्घकालीन विकासतिर अघि बढाउनेछ ।
लेखक चीनको रेनमिन विश्वविद्यालयको चोङयाङ वित्तीय अध्ययन प्रतिष्ठानका कार्यकारी डिन हुन् ।
–ग्लोबल टाइम्स
नेपाली अनुवादः सुदर्शना श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *