यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–प्रकृति श्रेष्ठ
नेपालमा महिला बलात्कारका घटना वृद्धि भएको व्यापक चर्चा परिचर्चा भइरहेको छ । टेलिभिजन र अनलाइन समाचार पोर्टलहरूमा बलात्कारका घटना हाइलाइट गरेर प्रकाशन र प्रशारण भइरहेका छन् । टेलिभिजनमा बहसहरू भइरहेका छन् र अखबारमा दिनहुँझैं लेख–रचना प्रकाशित भइरहेका छन् । नेपाली समाज पुँजीवादी खुलापनतिर उन्मुख भएकोले पनि बलात्कारका घटना वृद्धि भएको हुनुपर्छ । कतिपय समाजशास्त्रीहरू बलात्कारका घटनामा सामान्य वृद्धिमात्र भएको हो, पहिले पहिले यस्ता घटना प्रचारमा नआउने र भित्रभित्रै दबाएर पठाइन्थ्यो तर अहिले घटनाबारे निर्भिक रुपमा प्रचार हुन थालेको हो भन्छन् ।
बलात्कार र बलात्कारपछि हत्याका घटना वृद्धि भएकोमा दुईमत छैन । बलात्कार र बलात्कारका अपराधमाथि कडाभन्दा कडा सजाय माग गर्नेहरूले बलात्कारका घटना बढ्नुको कारण खोतल्न चाहेको देखिंदैन । बलात्कारको मुख्य कारण महिलालाई भोग्य वस्तुका रुपमा लिने, यौन सम्बन्धलाई भावना र इज्जत नभर्ई किनबेचको वस्तुका रुपमा लिने सोचाइ हो । बलात्कार बढ्नुको अर्काे कारण समाजमा धनी र गरिबको खाडल फराकिलो हुनु पनि एउटा कारण हो । प्रायः बलात्कार गरिब परिवारका महिलाहरूमाथि हुने गर्दछ ।
नाफालाई मुख्य ध्येय ठान्ने पुँजीवादी व्यवस्थामा महिलालाई जानी नजानी नङ्ग्याइन्छ । पुरुषहरूमा भएको अहम् र हीनग्रन्थी भड्काइन्छ र जीवनभर कमाएको सम्पति सिध्याएर भए पनि एक भोग्यासित एकरात बिताउन उक्साइन्छ । असभ्य र उच्छृङ्खल श्रव्यदृश्य देखाएर कामभावलाई उन्मत्त पारिन्छ नाफाको उद्देश्यले । त्यसैको प्रत्युत्पादनस्वरुप समाजमा बलात्कारका घटना वृद्धि भइरहेका छन् । समाजमा काम, क्रोध, लोभ, मोहबाट मुक्त हुने बैराग्य दर्शनको प्रभाव झन–झन कम हुँदै गएको छ । असल चरित्रका मानिसलाई कमजोर ठानेर हेप्ने प्रवृत्तिले पनि धेरै मानिसहरूलाई उत्तेजित र हिंस्रक बनाउँदै लगेको छ । त्यसैले नाफासँगसँगै बढ्दो बलात्कार हिंसा, शोषण, उत्पीडन, दमन, भ्रष्टाचार र कमिसनखोरी पुँजीवादी व्यवस्थाका सहउत्पादन हुन् । सामाजिक विकृति र विसङ्गति हुन् । पुँजीवादी समाज रहेसम्म महिलामाथिको लैङ्गिक विभेद र सामाजिक विकृति र विसङ्गतिको अन्त्य परिकल्पनामात्र हुनेछ ।
Leave a Reply