भर्खरै :

भित्री मधेशका दर्जनौं गाउँ बाढीको जोखिममा

डडेल्धुरा, ५ भदौ । डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौं गाउँ यस वर्ष पनि बाढीको जोखिममा रहेका छन् ।
जिल्लाका भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि यस क्षेत्रका दर्जन गाउँ कटान गर्दै आएको छ ।
डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीले कटान गर्न थालेका छन् ।
दुई दर्जन बढी गाउँ बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयले बताउनुभयो । परशुराम नगरपालिकाका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी र सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडीलगायतका दर्जनौं गाउँ नदी कटानका कारण जोखिममा परेका छन् ।
यसले गर्दा यस क्षेत्रको उब्जाउ जमीन बगरमा परिणत हुँदै गइरहेको स्थानीयवासी कलावती बोहोराले बताउनुभयो । ४५ हजार जनसङ्ख्याको यस क्षेत्रमा ३५ प्रतिशत जनसङ्ख्या बाढीपहिरोको जोखिममा छन् । धान उत्पादनका लागि जिल्लाकै प्रसिद्ध मानिएको यो क्षेत्रमा खेत नदीले बगाएपछि बगरमा परिणत भएका छन् ।
अहिले खाद्यान्नको अभाव हुँदै गइरहेको छ । बर्सेनि भइरहेको कटानले स्थानीय निकायलाई समेत ठूलो चुनौती थपेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताउनुभयो ।
चुरे क्षेत्रमा भइरहेको वन बिनाससँगै यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गइरहेको छ । वर्षातको समयमा एक गाउँबाट अर्को गाउँ जान सकिंदैन । जिल्लाकै आधा जनसङ्ख्याको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमले बर्सेनि सुरक्षित स्थानमा बसाइँसराइ गर्नुपर्ने बाध्यता छ ।
नदी तथा खोलामा आवश्यकताअनुरुप पुल निर्माण नहुँदा वर्षात्को समयमा झनै समस्या हुने गरेको छ । भित्री मधेशमा रङ्गुन नदीले कटान गर्न थालेपछि विगत दुई वर्षदेखि सो नदी र पुन्तरा र अन्य खहरे खोलामा तारजालीसहितको पक्की तटबन्ध निर्माण सुरु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
रङ्गुन नदीको १० किलोमिटर बढी क्षेत्रमा बाढीकटान रोक्न तटबन्ध निर्माण भइसकेको छ । तटबन्ध निर्माण भएसँगै रङ्गुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भइरहेका भए पनि अन्य ग्रामीण क्षेत्रमा बाढीको जोखिम कायम छ । करीब १० वर्ष अगाडि परशुराममा बाढी जाँदा मानव बस्ती र खेतीयोग्य उर्वराभूमि बगरमा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *