भर्खरै :

चितवनमा पर्यटक लक्षित दन्त अस्पताल

चितवन, ७ भदौ । अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ ।
ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ ।
स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल सञ्चालनमा ल्याइएको हो । सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साइराम डेण्टलका सञ्चालक डा. सरिता न्यौपानेले रत्ननगरमा सोही नामबाट दन्त अस्पताल सुरु गर्नुभएको हो ।
विदेशी पर्यटकका लागि दाँतको उपचार गर्ने प्रमुख उद्देश्य लिएर अस्पताल स्थापना गरिएको न्यौपानेले बताउनुभयो । युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता विकसित देशमा दाँतको उपचार अत्यधिक महँगो रहेको छ । ती देशमा दाँत झिक्नुपर्दा २५० देखि ४०० सय डलरसम्म पर्ने गर्छ । सोही काम नेपालमा रु. चार÷पाँच हजारमा हुन्छ ।
डा. न्यौपानेले भन्नुभयो, “नेपालमा १० हजारमा हुने दाँतको जरा भर्ने (आरसिटी) विकसित देशमा दुई हजार ५०० डलर खर्च हुन्छ । नेपालमा रु. ७० हजारमा हुने दाँत प्रत्यारोपण ती देशमा पाँचदेखि सात हजार डलर खर्च हुन्छ ।” ती देशमा दाँत प्रत्यारोपण, आरसिटीलगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेर जान सकिने डा. न्यौपानेको दाबी छ । उहाँले अगाडि थप्नुभयो, “विकसित देशमा हुने दाँतको उपचारको गुणस्तर हामीले दिने गर्दछौं ।” सो संस्थाले हालसम्म ३५ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको छ । पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा गएर निःशुल्क सेवा दिएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *