यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मानिस विवेकशील प्राणी भएको हुँदा आफ्नो भनाइ र गराइमा गल्तीको माफी माग्न अमिलो माने पनि अवचेतन मनले थाहै नदिई पहिलेका अभिव्यक्तिविपरीत भावना व्यक्त गर्ने गरेको दर्शक र स्रोताहरुले अनुभव गर्ने गरेका धेरै घटनाहरु छन् ।
वर्तमान प्रम केपी शर्मा ओलीले गृहमन्त्री पदको स्वाद पाइसकेपछि समाजको आमूल परिवर्तन गर्ने सिद्धान्तमा विराम लागेको अन्तरमनमा लागे पनि वा गन्तव्य छोडेर आफूले पहिले तिरस्कार गरेको बाटो लाग्दा भनेका थिए – ‘‘राजनीतिमा लाग्नु जोगी हुनलाई होइन अर्थात् राजनीति जोगी बन्ने बाटो होइन ।’’
तर पश्चिमा दार्शनिकहरु, दक्षिण एसियाली देशहरुका ऋषिमुनि र गुरुहरु – महावीर वर्धमान, गौतम बुद्ध, कन्फुसियस र अन्य सन्तहरु पनि राजनीतिक गुरु नै थिए तर तिनीहरु व्यापारी, गुण्डापालक, अपराधी संरक्षक, जातिवादी, मित्रघाती र परपीडक दृष्टिकोणलाई स्वीकार गर्दैनथे ।
तर मानिसको विवेकले आत्म–आलोचनामा पु¥याउँछ जतिसुकै जिराहा भए पनि । दमकको एउटा समारोहमा भने प्रम केपी ओलीको विवेक बोल्यो – ‘‘म राजनीतिक जोगी हुँ कमाउने धन्दामा लाग्दिनँ ।’’ (नागरिक ७ भदौ २०७५)
२०४५ सालको भक्तपुर काण्डमा कर्ण ह्योजूको हत्या आरोपमा ६७ जना अभियुक्तहरु र सयौं अन्य निर्दोष पीडितहरुलाई प्रहरी हिरासतमा दिइएको यातना देशभरमा ‘एमाओवादीहरु’ लाई दिइएको यातना र तिरस्कारभन्दा कम अमानवीय थिएन । पछि ती अभियुक्त र पीडितहरुले राजा वीरेन्द्रलाई सोधेका थिए – ‘‘२ सय २५ वर्षपछि पनि के हामी पनि विदेशी नै हौं ? हामीमाथि विदेशी सेनाले जस्तै प्रहरी र प्रशासनले व्यवहार गरे ।’’
यस प्रवृत्तिको सिलसिला गणतन्त्रमा पनि चालू छ । यो पीडा बरोबर सत्ताको स्वाद चाख्न पल्केका र खुला सीमाको सहुलियत पाएका ‘मधेसवादी’ नेताहरुलाई के थाहा ? यसको एउटै कारण हो – नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी दलका ठूला नेताहरु सबै माथिल्लै वर्गका छन् । भाषा, संस्कृति र धर्मलाई समेत शासक वर्गले शासितहरुलाई दबाउने हतियारको रुपमा प्रयोग गर्छ । ‘समाजवाद’ र ‘साम्यवाद’, ‘प्रजातन्त्र’ र ‘गणतन्त्र’ जस्ता शब्दको साइनबोर्ड र झण्डासमेत परपीडक र शोषणविहीन समाजका पक्ष लिने दल र कार्यकर्तामाथि आक्रमण गर्ने र विध्वंश गर्ने ज्यावल बनाइएको कर्णाली र भेरी अञ्चलका जनताको अनुभव छ ।
‘सिस्नो रोपेर तुल्सी उम्रन्न’ भन्ने भनाइअनुसार सिद्धान्तहीन र गैरराजनीतिक प्रचारबाट सत्तामा पुगेका शासक वर्ग र दलको नेतृत्वलाई आज आफ्ना सांसद, प्रादेशिक जनप्रतिनिधि, गाउँ र नगरपालिकाका मेयर, उपमेयर र सदस्यहरु आफै ठेकेदार, व्यापारी, ‘डोजराध्यक्ष’ तस्कर र हत्यारा–संरक्षकहरुको चुलिंदै गएको चर्तिकलाले प्रदर्शित गर्दैछ – राजनीतिलाई दर्शन र निःस्वार्थरुपले देश एवं जनताको सेवा गर्ने भावनाबाट निर्देशित नगर्दाको फल !
एक जना उद्योगमन्त्रीले करोडौं रुपैयाँ कर नतिर्ने उद्योगपतिहरुसँग ५०–६० लाख चुनाव खर्च लिई कर माफी दिने वचन दिने काम गरेर कसरी देशलाई कानुनीराजको दिलासा दिनसकिएला ?
मोरङको पथरी शनिश्चरेमा बुधबार आयोजित सभामा प्रम केपी ओलीले भने –‘‘शासकको बेइमानीले मुलुक पछि प¥यो ।’’ (अन्नपूर्ण पोष्ट, ७ भदौ २०७५) । तर आश्चर्य छ – मनमोहन अधिकारी, झलनाथ खनाल, माधवकुमार नेपाल, प्रचण्ड, बाबुराम, ओली आफैले सरकारको नेतृत्व गरे । प्रम ओलीले व्यक्त गरेका शासक कुन वर्गका कुन शासक हुन् भन्नेबारे सहभागीहरुमा कौतुहल र जिज्ञासा पलाउनु स्वाभाविक हो ।
Leave a Reply