भर्खरै :

मकै भाँच्ने अभिनय गरी प्रहरी आएर गिरफ्तार गरे

 उकेश कवां
२०४५ भदौ ५ गते बिहान ५ः५५ बजे गएको भूकम्पले बढी क्षति पु¥याएको जिल्लामा भक्तपुर पनि थियो । तत्कालीन भक्तपुर नगर पञ्चायत का जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता, समाजसेवी, विद्यार्थी, युवा, मजदुर, किसान र सर्वसाधारण जनता क्षतिग्रस्त घर, बाटो, पाटी–पौवाका भग्नावशेष व्यवस्थित गर्न र पुरिएका मानिसहरू खोज्ने काममा साथीहरूसँग व्यस्त थियौँ । एकअर्कालाई सहयोग गर्दै र सहानुुभूति पनि दिइरहेका थियौं । जतिबेला हामी त्यसरी जनताको आँसु पुछ्ने काममा व्यस्त थियौं, पञ्चायत र पञ्चायती व्यवस्थाले पालेका पञ्चहरू, गुण्डा र मण्डलेहरू एउटा नयाँ षड्यन्त्र रच्दै गरेका रहेछन् । सर्वसाधारणदेखि राजनैतिक कार्यकर्ताहरूले समेत त्यसबारे सुइँको पाउन सकेनन् ।
तात्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्न पहिलेदेखि षड्यन्त्रको तानाबाना बुन्दै गरेको कुरा ‘पञ्चायती युवा सङ्गठन’ तथा मण्डलेहरूको नगरकोटमा बैठक बसेको समाचारले पनि पुष्टि गरेको थियो । यसलाई कार्यान्वयनमा ल्याउन मण्डलेहरूले भूकम्पलाई प्रयोग गर्ने उद्देश्यअनुरुप षड्यन्त्र बुनेका रहेछन् । उनीहरूको षड्यन्त्रमा ‘बलिको बोका’ कर्ण ह्योजूलाई बनाइए ।
२०४५ भदौ ९ गते पढाइ सकाएर काठमाडौंबाट फर्कंदै थिएँ । गोल्मढीका स्थानीय साथी बलराम शिल्पकारले ‘‘हनुमानघाटमा पक्षपातपूर्ण तरिकाले कर्णप्रसाद ह्योजूले क्वाटी वितरण गर्दैछ थाहा पायौ ?’’ भनी सोधे । आफूलाई थाहा नभएको सङ्केत गर्दै घरमा किताब कापी राखी केही साथीहरूसँगै त्यतातिर गएँ । अघिल्लो रातमात्र हामीले पीडित साथीहरूको नामावली सङ्कलन गरी साथीहरूमार्फत तत्कालीन नगर पञ्चायत र सीडीओ कार्यालयमा बुझाउने तयार गरेका थियौँ । षड्यन्त्रकारीहरूले कुनै उद्धार समितिमा नभएको कर्णप्रसाद ह्योजूलाई पक्षपातपूर्ण तरिकाबाट राहत वितरणको जिम्मा दिएका रहेछन् । पीडितले राहत पाइरहेका थिएनन् । ह्योजूले भूकम्पले कुनै क्षति नभएका आप्mना मानिसलाई मात्र हनुमानघाटको सूर्याेदय माविमा भूकम्प पीडितहरूको नाममा राहत बाँड्ने काम गर्दै थियो । ऊसँग भएको नामावलीमा पीडितहरूको भन्दा अन्य व्यक्तिहरूको नाम बढी थियो ।
पक्षपात भएको जनताले थाहा पाए । त्यही आक्रोसमा सर्वसाधारण जनताले ह्योजूलाई घेरा हाले । त्यसमा घूसपैठ भएकोे सर्वसाधारण जनताले सुइँकै पाएनन् ।
सचेत जनताले जोगाउन खोज्दा पनि सरकार मुकदर्शक रह्यो । षड्यन्त्रकारीहरूको षड्यन्त्र जारी रह्यो । घरभित्र सुरक्षित राखिसकेको व्यक्तिलाई फेरि पञ्चायतका मानिसहरूले बाहिर निकाले । उत्तेजित भीड नारा र जुलुससहित अघि बढ्यो । भीडलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै राज्यले नियन्त्रण त के, नियन्त्रणको सामान्य प्रयाससमेत गरेन । जुलुस साकोथा पुगेपछि प्रहरीले ह्योजूलगायत उसको साथमा रहेको उत्तम श्रेष्ठलाई नियन्त्रणमा लियो । जुलुसका सहभागी कुनै पनि व्यक्तिलाई गिरप्mतार गरेन ।
सामान्य पिटाइ खाएको ह्योजूलाई समय छँदै अस्पतालमा पु¥याई उपचार गर्नुपर्नेमा राज्यले नै हत्या गरी रातारात का. रोहितसहित पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गिरप्mतार गरी राज्यले आतङ्क मच्चायो ।
बिहान पार्टी अध्यक्ष नारायणमान बिजुक्छें, गोविन्द दुवाल, आशाकाजी बासुकला, ज्ञानबहादुर न्याईच्याई, चैत्यराज शाक्यलगायतलाई गिरप्mतार गरिसकेको र बजारमा प्रहरी आतङ्क रहेको खबर लक्ष्मीभक्त कवांले सुनाउनुभयो । सबै साथीहरू षड्यन्त्रकारीहरूबाट सचेत र सुरक्षित रहनुपर्ने बताउनुभयो । त्यहीअनुरुप साथीहरूलाई खबर गरी बजारको स्थिति बुझी घर फर्केंँ ।
नाति दाइले ‘‘अब हामी घरमा बस्नुहुन्न, षड्यन्त्रकारीहरूको इसारामा जोकोहीलाई पक्रन थालेकोले लुक्नु पर्छ’’ भनेपछि साथीहरूलाई लिएर हामी सुरक्षित स्थानतिर गयौं । साथीहरूलाई पनि सुरक्षित हुन आग्रह गरेँ ।
सल्लाहअनुसार साथीहरू धानको खेतमा छरिएर बसेका थियौं । हामीमध्येकै त्यत्तिबेला पार्टी जिम्मेवारीमा रहेका एकजना दाईले महारानीको जन्मदिनको उपलक्ष्यमा शुभकामना सन्देश छाप्ने प्रस्ताव गरे । त्यसमा हामी सहमत हुन सकेनौं । त्यसबेला म विद्यार्थी समितिमा थिएँ । समय काट्न सबैलाई गाह«ो हुँदै थियो । केदार गोसाई र म त्यसबेला नजिकको साथी थियौँ । काठमाडांैका साथीहरूको विषयमा मलाई भन्दा बढी उसलाई थाहा थियो । छलफल गरी राति नै भक्तपुर छोडी काठमाडांै पुग्यौँ ।
काठमाडौंका एक जना साथीको घरमा बसी पत्रपत्रिकामा समाचारहरू पु¥याउने काम ग¥यौँ । ‘ज्वाला’ पत्रिकाका सम्पादकको घरमा जीवन दाइ पुगेको सूचना हामीले पायौँ । काम गर्दै जाँदा गुप्तचरहरूले थाहा पाउलान् भनी दुई–तीन दिनको फरकमा ठाउँ परिवर्तन गर्दै बस्थ्यौं । हरिगोपाल लागेको कोठामा पुग्दा लक्ष्मीभक्त कवां, श्रीकृष्ण किसीलगायतका साथीहरूसँग भेट भयो । उहाँहरू सबैलाई हरिगोपाल लागेले एउटा गाडीबाट काठमाडांै ल्याएका रहेछन् ।
भक्तपुरका जनता एवम् कार्यकर्ताहरू षड्यन्त्रकारीहरूको षड्यन्त्रमा पर्दै गए । बिहान तरकारी बेच्न जाने किसानहरूलाई पनि छाडेका थिएनन् । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, गृहमन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्षलगायतले ‘‘…लाई फाँसी दे’’ नारा लगाउँदै लासमाथि राजनीति गरेर आप्mनो षड्यन्त्र सफल बनाउन लागिपरेकोे हल्ला हामीले सुन्यौँ । त्यसले झन् हाम्रो व्यग्रतालाई अधीर बनाएको थियो । पार्टीको जिम्मेवार एक जना दाईले ‘‘यसरी बसेर हुन्न, अब हामीले वकिल र पत्रकारहरूमाझ यथार्थ कुरा पु¥याउनुपर्छ । हामी एकै ठाउँमा बस्नु हुन्न । अन्यत्र छरिएर बसौँ’’ भन्ने कुरा राखेर उहाँ अन्यत्र जानुभयो । हामी दुई–तीन दिन त्यहीं बस्यौँ । हरिगोपाललाई भेट्न आउने भक्तपुरका अरु साथीहरूको सङ्ख्या बढ्दै गएकाले हामीले त्यहाँ आफूलाई असुरक्षित महससु ग¥यौं र साथी रत्न महर्जनले व्यवस्था गरेअनुरुप गोंगबुमा साथीको घरमा गयौँ । त्यहाँ हामी एउटै कोठामा चार जना बस्न थाल्यौँ ।
दिन बित्दै थियो† वकिल पत्रकारहरूलाई भेट्ने काम भइरहेको थियो । हामीलाई ज्यान मुद्दा चलाउने षड्यन्त्र यिनीहरूले गर्नसक्ने हुँदा हामी सुरक्षित हुनुपर्ने र वकिलहरूसँग भेटघाट गरी यथास्थिति बताउँदै कानुनी सङ्घर्ष गर्नुपर्नेमा हामीले छलफल गर्दै गयौँ ।
भक्तपुरमा भइरहेको घटना हामीले विभिन्न माध्यमबाट सुन्थ्यौं । ताथली र अन्य क्षेत्रमा समेत प्रहरी आतङ्क, ५–६ जनाको गिरप्mतारी, राति घरमा ढोका फोडी आतङ्क, महिला, बालबच्चा, बुढाबुढी, सबैलाई अपमान गरेका आदि समाचारले हामीलाई चिन्तित तुल्याएको थियो ।
भूमिगत जीवन बस्ने बानी नभएको, कोठामै कुण्ठित हुनुपर्ने, बेलुकामात्र बाहिर निस्कन पाउने, खानपिनको समस्या आदिले पनि मेरा आँखा पुरै पाकिसकेका थिए । बिहान ७–८ बजेतिर बालाजु वाइपासमा गई आँखामा लगाउने औषधि किनी कोठामा गई आराम गरेँ । हामी बसेको घरपछाडि मकैबारी थियो । त्यहाँ मकै भाँच्ने नक्कल गर्दै सादा पोशाकका प्रहरीहरूले हाम्रो डेरामा घेरा हालिसकेका रहेछन् । हामीले भाग्ने योजना बनायौं, लक्ष्मीभक्त दाइ नुहाउने बहानामा धारातिर जानुभयो । उहाँ त्यहीं समातिनुभयो । लगत्तै हामी बसेको कोठामा आई हामीलाई पनि हत्कडी लगाई ज्यानमाराहरू भन्दै गाडीमा कोचे । सामाखुसी लैनचौर हुँदै हामीलाई हनुमानढोकाको खोरमा पु¥याइयो ।
करिब दिनको २ बजिसकेको थियो । भदौ २३ गतेको त्यो घटनापछि जीवनको एउटा ठूलो चुनौतीको सामना गर्ने अठोट गरी अडिग रह्यौँ ।
चारै जनालाई अलगअलग कोठामा राखियो । अब उनीहरूको षड्यन्त्रबमोजिम दस्तखत गराई कबुल नगरेमा शारीरिक यातना दिने भए भन्ने अनुमान गरेँ ।
केरकार शाखामा अग्लो र भद्दा बिनाबर्दीको प्रहरीले मसँग प्रश्न गर्न थाल्यो – ‘‘ह्योजूको हत्या नारायणमानको निर्देशनमा भएको हो ? हत्या गर्न कसले नेतृत्व गरेको हो ? तिमी पनि उनीहरूको साथमा गएका होइनौ ?’’ आदि । जवाफमा ‘‘म गएको थिइनँ, म विद्यार्थी हुँ, मैले त्यस घटनाको बारेमा जे जति थाहा पाएको छु पत्रपत्रिकाको आधारमा थाहा पाएको हुँु, अरु थाहा छैन’’ भनेँ । तिम्रो कोठामा राजनीतिक कार्यकर्ता कसरी भेटिए भन्ने प्रश्नको जवाफमा मैले भनँे,‘‘कलेजको परीक्षा नजिकिंदै थियो । भक्तपुरमा बस्न उपयुक्त नभएपछि म कोठा लिएर बसेको हुँ । टोलका साथीहरू भएकोले मसँगै बस्न आउनुभयो । यस्तो अवस्थामा हुन्नँ भन्न नसकेकाले सँगै बसेका हौँ । होइन भने तपाईंहरूले ल्याएको किताबहरूबाट स्पष्ट हुन्छ ।’’ ‘‘यसलाई यत्तिकै कहाँ हुन्छ, उताको कोठामा लैजाऔं ठीक गरेपछि मात्र हुन्छ’’ भन्दै तेस्रो तलाको उत्तर–पश्चिम कुनाको कोठामा राखियो ।
कोठामा तीनजना बिनाबर्र्दीका प्रहरीहरू बसिरहेका थिए । तिनीहरूले मेरो हात र खुट्टा बाँधे । मेचभित्र खुट्टा राख्न लगाई यातना दिए । निर्दयीहरूले मलाई कति कुटे कति, भनी साध्य छैन । मेरो आवाज बन्द भयो । मलाई उठाउन प्रयत्न गरे, केही छिन रोकिए । म ‘पानी–पानी’ भन्दै कराउन थालँे । पानी दिनुको सट्टा उफ्रन लगाइयो, खुट्टाले भुइँमा छुनेबित्तिकै करेन्ट लागेझंै गरी दुख्थ्यो । ‘‘ल भन्! कसले मार्न लगायो ?’’ भन्दै तथानाम गाली गर्दै फेरि यातना दिने काम गरे । अँध्यारो हुँदै थियो । ‘‘ल आजलाई भयो, तल लैजा’’ भन्दै खोरमा लैजाँदा मसँग भएको पैसा, कलम, पेटी आदि सबै प्रहरीहरूले खोसेर लिए ।
खोरको पहिलो तलाको उत्तर–पूर्वको कोठामा लगे । त्यहाँ नारायणमान दाइ, गोविन्द दाइ, आशाकाजी बासुकला, ज्ञानबहादुर दाइ, चैत्यराज शाक्य र अन्य साथीहरू हुनुहुनुहुन्थ्यो । उहाँहरुसँग त्यहाँ भेट भयो । त्यहाँ पार्टी अध्यक्षज्यूले सम्झाउनुभएका वाक्यहरुले मलाई उत्साहित बनायो ।
कोठा सा¥है सानो थियो । म पुग्नुभन्दा पहिले नै काभ्रेका दुई जना व्यक्तिलाई चोरी मुद्दामा थुनिएको थियो । त्यसमा म थपिन पुगेँ । उनीहरूले मलाई सहयोग गर्दै ‘‘लौ तपाईं यहाँ बस्नुस्’’ भन्दै ठाउँ छोडिदिए । कोठामा उडुस र लामखुट्टेको राज थियो ।
भित्तातिर हेरेँ, रगतका टाटाहरू यत्र–तत्र रहेको देखेपछि राति प्रहरी आएर फेरि पिट्ने पो हो कि भन्दै भित्रका साथीसँग बुभ्mन खोजेँ । ‘‘यो सबै हामीले अस्तिदेखि उडुस मारेको दाग हो, कति त मैनबत्तीले जलाउने हो । दिनभरि काम छैन यही हो काम यहाँको ।’’ भन्दै तिनीहरूले पाउरोटी दिए । पाउरोटी खान कठिन थियो । तापनि उनीहरूले मलाई खुवाउने प्रयास गरे ।
कुटाइको पीडा र थकानले कुन बेला निद्रा लाग्यो पत्तो पाइनँ । बिउँझिदा ६–७ जना नयाँ बन्दीहरू पनि कोठामा थपिएका रहेछन् । कोठामा अक्सिजनको अभाव थियो । उज्यालो नाममात्रको थियो, दिउँसै अँध्यारो !
भदौ २४ गते कति बजे ब्युउँझिएँ, थाहा भएन । घरबाट खाना ल्याउने कुरै भएन किनकी हामी हनुमानढोका खोरमा छौँं भन्ने कुरा परिवारका कसैलाई थाहा थिएन ।
खोरभित्र पनि सीआइडी राखिएका हुन्छन्, तिनीहरूले हामीसँग कुरा खोतल्ने प्रयास गर्छन् भन्ने विषयमा मलाई सामान्य ज्ञान थियो । त्यसैले बन्दीहरूसँग पनि कुरा गर्न म सतर्क थिएँ । उनीहरू मसँग कुरा गर्न चाहन्थे । ‘‘तिमी त्यसमा सहभागी भए पनि डराउनु पर्दैन’’ भनी फकाउँथे । मेरो एउटै जवाफ हुन्थ्यो, ‘‘म त्यसमा सहभागी छैन । षड्यन्त्रमा हामीलाई फसाइयो । म १९ वर्षको भएँ । मलाई फसाएर बीस वर्ष जेलमा राखे पनि म छुट्ने बेला ३९ वर्षको हुनेछु । त्यतिबेला षड्यन्त्रकारीको विरुद्धमा सङ्घर्ष गर्नेछु ।’’
दिन काट्न गा¥हो भयो । अन्य बन्दीहरूका साथ उडुस मार्न थालेँ । कहिलेकाहीं बाघचाल खेल्थेँ । झ्यालमा उज्यालो आउने गरी सानो कागजको दुलो बनाई छेस्को लगाएका थियौँ । घरिघरि चौकिदार खेल्नमा रोक लगाउन आउँथे । तापनि हामी लुकिछिपी खेल्थ्यौंँ । एवम्रितले अँध्यारो कोठामा हाम्रो दिन गुज्रिरहेको थियो ।
दुई–तीन दिनपछि म्याद थपको लागि जिल्ला अदालत भक्तपुर ल्याइयो । त्यसपछि मात्र मेरो गिरप्mतारको जानकारी आमाबुबाले थाहा पाउनुभयो । अनि घरबाट कहिलेकाहीं खाना आउन थाल्यो । नत्र हामी सधैं चौकिदारले नाफा खाएको खाना खान बाध्य हुन्थ्यौँ ।
मुस्किलले ३÷४ जना अट्ने सानो कोठामा १०÷१२ जनासम्म विभिन्न मुद्दाका व्यक्तिहरू कोचिएका थियौं । कहाँ कसरी सुत्ने हामी सधैं अन्योलमा हुन्थ्यौँ ।
म्याद थपको लागि हामी चार जनालाई भक्तपुर अदालतमा ल्याइयो । म्याद थप गरी पुनः हनुमानढोका खोरमै लगियो ।
१ असोज २०४५ का दिन हामीलाई एक–एक गरी हत्कडी लगाउँदै खोरबाट बाहिर निकालियो । एकछिनपछि पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंलाई बाहिर ल्याए । उहाँले बाहिर पुग्नेबित्तिकै शनिबारको दिन सरजमिन गर्न नहुने तर्क राख्नुभयो । त्यसो भने तापनि जबरजस्ती हामी सबैलाई गाडीमा कोचे । केही साथीलाई खाना पु¥याउन आउने आफन्तहरू देख्यौँ । आज सरजमिन हुने भन्ने जानकारी दिन सबै जोडले करायौँ । गाडीभित्र निरङ्कुशताविरुद्ध नारा घन्कायौँ । सरजमिनको लागि हनुमानघाटस्थित सूर्याेदय माविको प्रा·णमा पु¥याइयो । त्यहाँ धेरै मान्छे जम्मा भइसकेका थिए तर हाम्रा साथीहरू कोही देखिएनन् । मोटरभित्र राखी सरजमिन सुरु गर्न लागेकोमा पार्टी अध्यक्षले सरजमिन गाडीभित्र राखेर होइन खुला आकाशमुनि हुनुपर्नेमा जोड दिनुभयो । उहाँ र गोविन्द दुवाललाई मात्र बाहिर निकाली सरजमिन सुरु गरियो । बाहिर आउँदा लक्ष्मीभक्त दाइलाई प्रहरीले बन्दुकको कुन्दाले हान्यो । पञ्चायतले पालेका मतियारहरूले हाम्रो विरोधमा सरजमिनमा बके । तर सङ्घर्षशील हाम्रा महिला दिदीबहिनीहरूले जबरजस्ती छिरी साँचो कुरा बोले ।
साँझ प¥यो । महिला दिदी–बहिनीहरूले आपूmले साक्षी बक्न नपाउँदै गाडी फर्किन लागेकोमा गाडी घेरे । पार्टी अध्यक्षले संयमित हुन आग्रह गर्दै बाटो छोड्न सङ्केत गर्नुभयो । त्यसो नभएको खण्डमा पञ्चहरूले फेरि त्यहाँ अर्काे दुर्घटना गराउने षड्यन्त्र बुन्ने सम्भावना थियो ।
हामीलाई पुनः हनुमानढोका खोरमा लगियो । त्यहाँ केही दिन राखी भक्तपुरको खोरमा पु¥याइयो । त्यहाँ पनि ६–७ जना साथीहरू एकै ठाउँमा बस्यांैँ । पछि सुरक्षा कानुनअन्तर्गत् ९ महिना जेलमा राखिने पूर्जी पाएँ ।
भक्तपुर प्रहरी चौकी पनि हनुमानढोका खोरभन्दा फरक थिएन । हामीलाई त्यहाँ पु¥याउनुभन्दा केही दिन अगाडि त्यस खोरबाट चोर मुद्दामा संलग्न चार जना अभियुक्तहरू भित्ता फोडी भागेको कुरा सुनेको थिएँ । छिंडीको चिसो एवम् अँध्यारो कोठामा हामीलाई बन्दी बनाइयो । माथिल्लो तलामा प्रहरीको लापरबाहीको कारण पोखिएको फोहोर पानी तपतप चुहिन्थ्यो । त्यसले सुत्ने ओछ्यानसमेत भिजेको हुन्थ्यो । खोरमा रहँदा उत्तम श्रेष्ठ लगायत जासुसहरू प्रहरी चौकीमा आइरहेको हामीले देख्थ्यौँ । त्यसबेला उत्तम श्रेष्ठ अझै पनि षड्यन्त्रमा सक्रिय रहेको थाहा भयो । करिब एक हप्तापछि सबैलाई काठमाडांै सेन्ट्रल जेल चलान गरियो । जेलमा हामीभन्दा पहिले नै धेरै साथीहरूलाई पु¥याइसकिएको थियो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें, तत्कालीन रा.प.स. गोविन्द दुवाल, प्रधानपञ्च आशाकाजी बासुकला, उपप्रधानपञ्च चैत्यराज शाक्य, पूर्वप्रधानपञ्च ज्ञानबहादुर न्याईच्याईलगायत ज्यान मुद्दामा फसाइएका नौ जना र शान्ति सुरक्षाअन्तर्गतका जयराम बासुकलालगायत चार–पाँच जना साथीहरूलाई सेन्ट्रल जेल पु¥याइयो ।
विभिन्न मुद्दामा सजाय भोगेका बन्दीहरूलाई कैदअनुसार चौकिदार, भाइचौकिदार बनाइने रहेछ । तिनीहरूले नै त्यहाँको काम कारबाही एवम् जेलरको निर्देशनमा काम गर्ने तथा गोप्य कुराहरू पु¥याउने गर्दा रहेछन् ।
जेलभित्रै कैदीहरूलाई विभिन्न काम गर्ने व्यवस्था मिलाइएको रहेछ । बन्दीहरूमध्ये हुनेखाने परिवारका छोराछोरी एवम् लागूपदार्थ र अन्य कारणले गिरफ्तार भएका बन्दीहरूको गतिविधि छुट्टैखालको हँुदोरहेछ । उनीहरूले चौकिदार, भाइचौकिदारलगायतका मानिसलाई पैसाले हातमा लिएका हुन्थे ।
मलाई जेलभित्रको पश्चिम–दक्षिणतिरको भवनमा राखियो जहाँ पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंलाई राखिएको थियो । चैत्यराज शाक्यलगायत अन्य मुद्दामा परेकाहरूसमेत गरी १० ÷१२ जना एउटै कोठामा रह्यौँ । त्यही कोठामा अर्काे मुद्दा झेलिरहेका नगदेशका एक साथी २ वर्षदेखि बन्दी जीवन बिताइरहेका रहेछन् । भक्तपुरको भन्नेबित्तिकै पहिलो दिनमै सबै व्यवस्था मिलाउन उनी सक्रिय भए । उनले एउटै मेसमा खाना खाने प्रस्ताव राखे । हामीले ९ महिनासम्म एउटै मेसमा खाना खायौँ ।
जेलभित्र पार्टी अध्यक्षको सामिप्यमा रहेर नयाँ अनुभव र उत्साह प्राप्त भयो ।
साथीहरूलाई कसरी जोगाउने, बाहिर कसरी सूचना पु¥याउने, बाहिरबाट कसरी सूचना सङ्कलन गर्नेआदिमा उहाँ चलाखीपूर्ण तरिकाले काम गर्नुहुन्थ्यो । त्यस्तै जेलभित्र र बाहिरका साथीहरूलाई मानसिकरुपमा स्वस्थ राख्न उत्साहित गर्ने, खेलकुदमा लाग्न अभिप्रेरित गर्नुका साथै अध्ययनमा जोड दिलाउन उहाँ सक्रिय हुनुहुन्थ्यो । उहाँ रातको १÷२ बजेसम्म अध्ययन गर्नुहुन्थ्यो भने लेखनमा पनि त्यत्तिकै व्यस्त रहनुहुन्थ्यो । अन्य मुद्दा झेलिरहेका व्यक्तिहरूसँग पनि कुशलतापूर्वक काम लिनुहुन्थ्यो । साहित्य गोष्ठी, सांस्कृतिक कार्यक्रम गर्नसमेत उत्साहित गर्नुहुन्थ्यो । अन्य बन्दीहरूसँग व्यवहार गर्ने तरिका र कुरा गर्ने शैली आदिबारे उहाँले हामीलाई प्रशिक्षित गर्नुहुन्थ्यो । त्यही जेलभित्र गाईजात्राको घिन्ताङघिसि, रामशेखर नकर्मीको ‘१२ बजे’ नाटकसमेत प्रदर्शनी भयो । त्यस्ता गतिविधिका कारण सबै बन्दीहरूले हामीप्रति सहानुभूति देखाउन थाले । हामीले गर्दा ०४२ सालको बम काण्डमा थुनिएकाहरूलाई समेत सहज व्यवहार हुनथाल्यो । मैले कलेज र विद्यालयमा झैं अध्ययन गर्ने अवसर पाएँ । जेलभित्रै गितार बजाउन सिकँे । नयाँ–नयाँ खेल खेल्न सिकेँ ।
अन्य बन्दीहरू हाम्रा साथीहरूले गरेको व्यवहारबाट अचम्म मान्थे । जेलबाहिरबाट ल्याएको तरकारी, भोजका परिकार र अन्य खानेकुरा बाँड चुँड गरी खाने व्यवहारले पनि जिल्ल पर्थे ।
जेलभित्रको दिनचर्याले हामीलाई खोरमा र बाहिर बसेका साथीहरूको तुलनामा मानसिक र शारीरिकरुपमा त्यति पीडित हुन परेन ।
जेलभित्र रहँदा साथीहरू खासै भेट्न आएको महसुस गर्न पाइनँ किनभने साथीहरू आफै सुरक्षित हुनुपर्ने अवस्था थियो । एक दिन बुबा एकाबिहानै भेट्न आउनुभयो । बुबाको व्यवहार तथा साथीहरूसँग मिलेर बस्ने उहाँको स्वभाव, बेलुका भएपछि शान्त वातावरणमा नेवारी लोकभाकाका गीतहरू गाइरहने तथा विभिन्न सांस्कृतिक पर्वमा अबेलासम्म पनि अवलोकन गर्ने स्वभाव, परेवा उडाउने सोख आदिले जतिसुकै काम गर्दा पनि उहाँ कहिल्यै नथाक्ने मान्छेजस्तो लाग्थ्यो । तर जब उहाँले मलाई देख्नुभयो, आँखाबाट आँसु झार्नुभयो । ‘‘चिन्ता नलिनू । केही समस्या छ भने भन्नू ।’’ भनी भारी मनले सम्झाउनुभयो । त्यसपछि अरु केही बोल्न सक्नुभएन र उहाँ फर्कनुभयो । त्यसले बुबाआमाको छोराछोरीमाथि कति माया हँुदोरहेछ भन्ने बुभ्mन मलाई गा¥हो भएन ।
जेलभित्र एउटा छुट्टै संसारमा बसेको अनुभव, बाहिर साथीहरू सक्रियतापूर्वक राज्यविरुद्ध लागिरहेको विश्वास, हामीलाई प्रशिक्षित गर्ने अग्रजहरूले सङ्गठनलाई बलियो बनारहनुभएको होला भन्ने आशाले बन्दी जीवन बिताइरहेका हामी जेलबाट छुट्दा साथीहरू को कहाँ छन् भन्ने बुभ्mन गा¥हो भयो । विचारले परिपक्व देखिएका कतिपय साथीहरूको व्यवहारले उनीहरू पार्टीबाट टाढा भइसकेको अनुभव मैले गरेँ । पार्टी समितिमा सक्रिय देखिएका अग्रजहरू आ–आप्mनो सुरक्षाका लागि शत्रुसँग नजिकिरहेको देखेँ । तत्कालीन अञ्चलाधीशका मान्छे बासु पासाजस्ता व्यक्तिसँग तास खेल्न हुन्न भन्ने अग्रजहरू नै आप्mनो बैठक कोठामा बोलाई तास खेलिरहेको, उनीहरूसँगै लहसिएर रक्सी पिउँदै, उनीहरूसँगै उठबस गर्दै गरेको देखें । समाजवादी व्यवस्था ल्याउने उद्देश्यले पार्र्टीमा लागेका कतिपय व्यक्तिहरू एउटा हावाको झोंकाले नै हल्लिएर वा आँत्तिएर काँतर बने जनविरोधीहरूका सामु लम्पसार परे ।
यसरी पार्टीका कार्यकर्ताहरूलाई षड्यन्त्रपूर्ण तरिकाले फसाउन, डरत्रास देखाउन, लोभलालचमा फसाई कार्यकर्ताहरूमा फुट ल्याउन, अत्याचारविरुद्धका आवाज बन्द गराउन, शत्रुहरू (राज्य) पूर्णरुपमा नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेमकिसं)लाई समूलरुपमा नष्ट गर्न लागिपरेको हो भन्नेबारे कुनै दुविधा रहेन । जेलका साथीहरूलाई भेट्ने, आवश्यक सुझाव दिने र लिने कामसँगै ०४६ सालको आन्दोलनमा सक्दो भूमिका निर्वाह गरेँ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा षड्यन्त्रकारीहरू आज पनि सक्रिय नै छन् । प्रजातन्त्र वा गणतन्त्र जे आए पनि जनताको व्यवस्था नआएसम्म विभिन्न रुपमा त्यस्ता षड्यन्त्रकारीहरू सक्रिय भइरहने कुरामा हामी सचेत छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *