भर्खरै :

जेल जीवनः सङ्घर्षको नयाँ शिक्षा

कृष्णभक्त ख्याजू
म सधैंजसो बिहान उठेर साथीहरूसँग चिया खान इनाचोको चियापसल गएको थिएँ । बिहानको ७ बजेको थियो । अघिल्लो दिन भक्तपुरमा के घटना घटेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । म त्यस समय नारायणहिटी राजदरबारमा आर्मीको भान्छा घर बनाउने काम गर्थेँ । बिहानै काठमाडौंसम्म हिंडेर जान्थँें र साँझ पाँच बजेमात्र त्यहाँबाट छुट्टी हुन्थ्यो । घर पुग्दा सात बज्थ्यो । मैले दरबारमा नोकरी पाउने पनि लगभग पक्कापक्की थियो ।
म डकर्मीको काम गर्थें र नेपाल मजदुर किसान सङ्गठनका हरेक गतिविधिहरूमा सानैदेखि सक्रिय भएर लाग्थेंँ । ह्योजू काण्डबारे बुबा (तुल्सीभक्त ख्याजू) ले मलाई भन्नुभएको थियो – ‘‘घरबाहिर नजानू नत्र तिमीलाई पनि समातेर लान्छन्, पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरूलाई समातेर लगिसके ।’’ बुबाको कुरालाई बेवास्ता गर्दै त्यस दिन म आफ्ना साथीहरूसँग चिया खान निस्केको थिएँ । एसएलसी पास भएकोले त्यसको चारित्रिक प्रमाणपत्र लिन जाने सोचले निस्केको थिएँ । इनाचो पुग्दा एकजना अवसरवादी पञ्च तचपालतिर गएको देखेँ । चियापसलमा साथीहरू कोही नदेखेपछि घरतिरै फर्कन दुई–तीन पाइलामात्र के हिंडेको थिएँ, २–३ जना पुलिस आएर मलाई झ्यापझुप समाते । मैले बिनाकारण मलाई किन समातेको भनी प्रश्न गर्दा ‘‘माथि साहेबले सोधपुछको लागि बोलाउनुभएको छ’’ भनी जवाफ दिए । उसो भए “म आफै आउँछु मलाई समात्नुपर्दैन” भनें । “बढी कराउँछस् ज्यापु” भनी मलाई समातेर भ्यानमा राखे ।’’ मेरो केही गल्ती छैन, म मेरो एसएलसीको प्रमाणपत्र लिन मात्र आएको हुँ’’ भन्दा पनि मलाई “बढ्ता नकराऊ” भन्दै थर्काए । मलाई दरबार क्षेत्रको प्रहरी चौकीमा लगियो । त्यस समय त्यहाँका प्रहरी निरीक्षक अर्जुनजंग शाहीले मलाई देख्नेबित्तिकै ‘‘तँलाई ज्यापु, ज्यानमारा’’ भन्दै बुटैबुटले हान्यो । फेरि अर्को पुलिस आएर मेरो कानमा हान्न थाल्यो । उनीहरू मलाई पिट्नेभन्दा पनि अंगभंग गर्ने ढंगले जहाँ पायो त्यहीं हिर्काउने गर्थे । मलाई सुताएर पैतालामुनि ठूलो बाँसले बेस्सरी हिर्काको हिर्काइ गर्थे । त्यो पीडा सही नसक्नुको थियो । म बेहोस भएँ । ‘‘तिम्री श्रीमती अर्कैसँग पोइलो जान्छें’’ भनेर मानसिकरुपले विचलित पार्न खोज्थे । हामीलाई दिसा–पिसाब पनि गर्न नदिई एक÷दुई दिन त्यहीं राखियो । आफू निर्दोष भएको बारम्बार भन्दा पनि वास्ता नै गरेनन् । त्यसपछि मलाई लाग्यो यो नियोजित षड्यन्त्र नै थियो । काम गरी खाने मजदुर–किसानलाई दुःख दिने र तत्कालीन नेपाल मजदुर किसान संगठनलाई सिध्याउने षड्यन्त्र भइरहेको मेसो पाएँ ।
हामीसँगै त्यहाँ विश्वराम प्रजापतिलगायतका साथीहरू थियौँ । विश्वराम प्रजापतिलाई यातना दिएको हाम्रो कोठासम्म सुनिन्थ्यो । उहाँलाई निकै निर्मम यातना दिइएको थियो । हातका औंलाहरूमा पीनले घोचेर घाउ पारिदिने रहेछन् । यातनाले यतिसम्म कि पकाएको अन्डा काटेर खानु पनि ढुंगा काटेर खानुसरह मुश्किल थियो । त्यति निर्मम यातना दिइएको थियो उहाँलाई । गाईजात्राको समय हामी जेलभित्रै थियौं । तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह ‘‘रोहितलाई फाँसी दे’’ भन्दै जुलुसमा आएको हामीले जेलभित्रैबाट सुनेका थियौँ । कर्ण ह्योजूको भाइ आउँथ्यो र मेरो दाइलाई किन मारेको भन्दै लात्तैलात्ताले हान्थ्यो । पढे–लेखेको थाहा पाएपछि पुलिसहरूले धेरै पिट्ने गर्थे, त्यसैले बाध्य भएर मैले पढेको छैन, म अनपढ छु भनी ढाँट्नुपथ्र्यो ।
भक्तपुर दरबार स्क्वायरस्थित कारागारमा ८–९ दिन राखियो । बिहान÷बेलुकी मेरी श्रीमती न्हुछेमाया ख्याजू मलाई खाना दिन जेलमा आउँथिन् । उनी त्यसबेला ८ महिनाकी गर्भवती थिइन् । छिमेकीको सहयोगमा उनले आफ्नो मनको भावलाई कागजमा लेखेर त्यसलाई प्लास्टिकले छोपेर खानाको बीचमा लुकाएर ल्याउँथिन् । त्यसरी मैले घरको खबर पाउँथे । श्रीमान् नहुँदा पाएको दुःखबारे आफ्नो दुःखेसो लेखेर पठाउँथिन् । विरोधीहरूले ‘‘ज्यानमाराकी स्वास्नी’’ भनी अपहेलना गर्ने गरेका कुराहरू लेखेर पठाउँथिन् ।
मलाई जेलबाट छोड्ने भन्दै दरबार स्क्वायरको कारागारबाट निकाली ३, ४ दिन थिमीको प्रहरी हिरासतमा राखिएको थियो । त्यसपछि केन्द्रीय कारागार भद्रगोल जेलमा लगियो । भद्रगोल जेलमा सुनिल प्रजापति, सानु सुवाल, विश्वराम कवां, लक्ष्मीभक्त कवां, श्रीकृष्ण किसी, विष्णुप्रसाद प्रजापति, कृष्णराम कुम्पाखलाई पनि राखिएको थियो । पछि योगेन्द्रमान बिजुक्छेंलगायतका साथीहरू पनि थपिनुभयो । उहाँहरूलाई देख्दा राहत महसुस भयो । जेल अनुभव वास्तवमै नौलो थियो मेरो लागि । हप्ता दिन मलाई कतै टाढा घुम्न आएको जस्तो पनि अनुभव भयो । साथीहरू सबै सँगै थियौंँ । त्यहाँ शारीरिक यातना दिइँदैनथ्यो । जेलजीवन रमाइलो गरी बितिरहेको थियो ।
भद्रगोल जेलमा बसेको एक हप्तापछि त्यहाँ नियम कडा गरियो । हामीलाई हत्यारा र ज्यानमाराहरू भन्दै गोलघरमा राख्ने तयारी गरियो । ८ बजेपछि बाहिर आउन नदिने र हत्याराहरू भन्दै अपमान गर्थे । हामीलाई त्यहाँ ‘ख’ श्रेणीको रासन दिइन्थ्यो । पछि योगेन्द्रमान बिजुक्छेंले हामी त राजनीतिक कार्यकर्ता हौंँ भन्नुहुँदै राजनीतिक बन्दीलाई ‘क’ श्रेणीको रासनको व्यवस्था गराउन जेलरहरूसँग पहल गर्नुभयो र पछि त्यहीअनुसारको खाना हामीलाई उपलब्ध गराइयो । जेलमा खाना पकाउने जिम्मा हामीले पालैपालो लियौँ । त्यहाँ पनि हामीले निकै सङ्घर्ष गर्नुप¥यो । ९ महिना र अर्को पूर्जी थप २ महिना गरी म ११ महिना जेलमा बसेँ । जेलमा हामीले निकै सङ्घर्ष ग¥यौँ ।
हामीसँगै झापा काण्डमा संलग्न अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु भद्रगोल जेलमा परेका थिए । त्यसमध्ये मोहनचन्द्र अधिकारी पनि एक थिए । विरोध कार्यक्रम गर्दा सर्वाेत्तम ढुंगेल पनि थुनामा पर्नुभयो । सुनिल दाइ र विश्वराम दाइहरू बढी राजनीतिक कुराकानी गर्नुहुन्थ्यो । जेलमा नाइजेरियन नागरिकसँग पढाइसँगै मेरो दैनिकी बितिरहेको थियो । जेलमा म नेपालीभन्दा अंग्रेजी किताब बढी पढ्थेँ । जेलमा पुस्तकालय र खेलकुदको व्यवस्था पनि थियो । समय मिलाएर जेलमा खेलहरू पनि खेल्थ्यौँ । नाइजेरियनहरूले हामीलाई जेलभित्रै अंग्रेजी भाषा सिकाउँथे । हामी अङ्ग्रेजीबाटै उनीहरूसँग कुराकानी गथ्र्यौँ । मैले स्कूलमा अंग्रेजीको ट्युसन पढेको हुँदा म अंग्रेजीबाट उनीहरूसँग भलाकुसारी गर्थेँ । सुनिल प्रजापति, सानु सुवालको सहयोगमै जेलका केहि साथीहरूले एसएलसी पास गरेको सम्झना छ । मैले जेलमा बस्दा थप अध्ययनको लागि प्रविणता प्रमाणपत्र तहको फारम भरेको थिएँ । जेलमा बम काण्डका बन्दीहरू पनि पञ्चायती निरंकुशताकै शिकार बनेको पछि थाहा भयो ।
दुई जीउकी मेरी श्रीमती टोलको एकजना दाइसँग मलाई भेट्न आएकी थिइन् । हाम्रो छिमेकी दाइ केशवराज राजभण्डारीले मेरी श्रीमतीलाई जेलसम्म ल्याउन मद्दत गर्नुभएको रहेछ । मलाई जेलमा देख्नासाथ श्रीमती धेरै रोइन् । नौ महिनाकी गर्भवती मेरी श्रीमती आफूलाई सहारा कोही नभएको भन्दै रुन थालिन् । बच्चा पाउने समय आज हो कि भोलि भइसकेको रहेछ । हाम्रो त्यो भेट निकै छोटो समयको थियो । मैले आफू एक्लै नभएको र यहाँ थुप्रै साथीहरू तथा पार्टीका दाइहरू भएकाले चिन्ता गर्नुपर्दैन, हामी छिट्टै छुटेर आउँनेछौँ भनी सम्झाएँ । उनी आफूलाई सम्हाल्दै त्यहाँबाट रुँदै घर फर्किन् ।
म जेल बस्दाबस्दै मेरो पहिलो सन्तान (सबिन ख्याजू) जन्मेको खबर पाएँ । छोराको मुख हेर्ने ठूलो रहर थियो । पछि ३ महिनाको छोरा लिएर मेरी श्रीमती पुनः जेलमा आएकी थिइन् । छोटो समयको भेटघाट थियो श्रीमती र छोरोसँगको । छोरालाई लिएर चुम्बन गर्दैगर्दा आँखाबाट आँसु झर्न थाल्यो । म रोएको देखेपछि श्रीमती झन् रुने सोचेर मैले उनलाई सम्झाउँदै त्यहाँबाट बिदा गरंँे । दसैं तिहारमा भक्तपुरबाट साथीहरूले विभिन्न परिकार (भोज) बनाएर ल्याउनुहुन्थ्यो र हामीलाई खुवाउनुहुन्थ्यो । ११ महिनाजतिको जेल बसाइपछि म जेलमुक्त भएँ ।
जेलबाट छुटेपछि विरोधीहरूले मलाई देख्नेबित्तिकै जेल बसेको हत्यारा, ज्यानमाराजस्ता अपशब्द प्रयोग गर्थे । घर पुगेपछि प्रविणता प्रमाणपत्र तहको परीक्षा दिने अठोट गरेको थिएँ । तर घरको मेरो सबै किताब र पठनपाठनका सामाग्रीहरू जफत हुने डरले कता–कता लुकाएको रहेछ । मेरो किताबहरू खोइ भनी सोध्दा खोजतलासको डरले परिवारका सदस्यहरूले किताबहरू लुकाएका रहेछन्, भेटाउन गा¥हो भो । पढ्ने रहर हुँदाहुँदै मैले आफ्नो पढाईलाई अगाडि बढाउन सकिनँ । बुबाले पनि अब श्रीमतीलाई कमाएर खुवाउनु र पाल्नुपर्छ, पढ्नुपर्दैन भन्नुभयो । मैले थप पढ्न नपाएकोमा पछुतो भने लागिरहन्छ ।
३० वर्ष अगाडि घटाइएको भक्तपुर काण्डको षड्यन्त्र आज नयाँ पुस्तालाई सुनाउँदा कथा जस्तो बनेको छ । किसान तथा मजदुरहरू पढेर माथिल्लो पदमा पुग्लान्, जान्नेबुझ्ने होलान् भनेर त्यस समयका पञ्चहरूको नियोजित चाल थियो – भक्तपुर काण्ड । त्यस समय भक्तपुरका महिलाहरू काठमाडौं आउजाउ गर्नसक्ने थिएनन् । काठमाडौं पुगिहाले पनि त्यहाँका कुनै पनि ठाउँको विषयमा थाहा नहुनु अर्काे समस्या थियोे । जेल कहाँ पर्छ भन्नेसमेत जानकारी थिएन उनीहरूलाई । त्यसैले महिला–पुरुष दुवै राजनीतिकरुपमा सचेत भए भने मात्र उनीहरूले एकअर्कालाई बुझ्छन् जस्तो लाग्छ । षड्यन्त्रहरू जहिले र जस्तोसुकै समयमा पनि हुँदोरहेछ वा गर्ने रहेछन् भन्ने मलाई लाग्छ । त्यस्तो समयमा पनि सङ्घर्ष गर्ने क्षमता अभिवृद्धि गर्दै हामी अगाडि बढ्नुपर्छ । वर्गसंघर्षको लडाइँ निरन्तर भइ नै रहन्छ । जेलमा बस्नुप¥यो भनेर आजको मितिसम्म कुनै पश्चातापको महसुस गरिनँ । जेलको जीवनले नयाँ शिक्षा पाएको महसुस गरेको छु । हिरासतमा रहँदा निकै दुःख, कष्ट भोगेँ । तर जीवनमा कहिल्यै पनि निराश हुनुहुँदैन भन्ने अनुभव पनि प्राप्त भयो ।
जेल बस्दामात्र थाहा भयो कि जेल भनेको एउटा सानो कोठा र अँध्यारो ठाउँमात्र होइन रहेछ । १५ रोपनी क्षेत्रफल ओगटेको भद्रगोल जेलमा पुस्तकालय, खेलमैदान अनि अरु काम गर्ने ठाउँ र गोलघरहरू पनि हुनेरहेछ भन्ने थाहा भयो । जेल भनेको हत्यारा, गुण्डा र अपराधीहरू राख्ने ठाउँ हो भन्ठान्थेँ । तर निर्दोषहरूले पनि दोषीसरह यातना र अमानवीय सजाय भोग्नुपर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण आफू स्वयम् बनेको छु । सत्य कहिल्यै डग्दैन, झुटो कहिल्यै टिक्दैन भनेझैं अन्ततः सत्यकै जित भएको छ । निरंकुश राज्यसत्ताको अन्त्य भएको छ । हाम्रो सफलता भनेकै यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *