अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
न्हुछेमाया ख्याजू
हामी सानो छँदादेखि नै हाम्रो घर (सिमाले, महेश्वरी ओरालो) मा पार्टीको बैठकहरू हुन्थ्यो । ती बैठकहरूमा टोलका मान्छेहरूले कोठा भरिन्थ्यो । म आफू पनि सानै उमेरदेखि नेपाल मजदुर किसान पार्टीको गतिविधि र कार्यक्रमहरूमा जाने गर्थेँ । पार्टीले आयोजना गरेको भक्तपुरदेखि काठमाडौंसम्मको पैदल ¥यालीमा सहभागी भएको सम्झना छ ।
नेपाली भाषा राम्रो नजान्नाले समस्या थियो । स्थानीय विद्यालयमा कक्षा १ सम्म पढें । मैले प्रौढ कक्षा पनि पढेको छु । सानैदेखि घरमा बुबामात्र हुनुहुन्थ्यो । त्यसैले घर–व्यवहारले गर्दा म कहीं जान सकिनँ । १९ वर्षको उमेरमा कृष्णभक्त ख्याजूसँग मेरो विवाह भयो ।
गाईजात्राको अघिल्लो दिन म घरको सफाइ गर्न र लुगा धुन महेश्वरीस्थित घरमा गएकी थिएँ । त्यस समय म ९ महिनाकी गर्भवती थिएँ । धुनुपर्ने लुगाहरू जम्मा गर्नु भएर श्रीमान् काठमाडौंमा काममा जानुभएको थियो । राति घर फर्केपछि ससुरा बुबाले ह्योजू काण्डबारे श्रीमान्लाई बताउनुभयो । घरबाहिर ननिस्कनू भन्नुभएको थियो । महिला, पुरुष, ज्येष्ठ नागरिक सबैलाई समातेर लान्छ भन्दै ससुराले सम्झाउनुभएको थियो । भोलिपल्ट बिहानै म लुगा धुन निस्केँ । लुगा धुने ठाउँमा लुगा पु¥याइदिए बाहिर एकछिन गएर आउँछु मलाई केही हुन्न, चिन्ता गर्नुपर्दैन भन्दै उहाँइनाचोतिर लाग्नुभयो ।
उहाँनिस्कनु भएको पाँच मिनेट नबित्दै कृष्णभक्त भन्ने व्यक्तिलाई पुलिसले समातेर लग्यो भन्ने खबर आयो । लुगामा साबुन लगाउँदै बसेकी म एकछिन अचम्ममा परेँ । टोलमा कृष्णभक्त नामका दुईजना भएकाले आफ्नो श्रीमान्लाई समातेको होइन होला भन्दै लुगा धुँदै बसेँ । फेरि एकछिनपछि मैले सोचेको छिमेकी कृष्णभक्त भाइ मकहाँआएर कृष्णभक्त दाइलाई पुलिसले समातेर लग्यो भने । छक्क पर्र्दै भनेँ– ‘‘हँ! म त तिमीलाई लग्यो भन्ठानेको त…’’ यति भन्न नसक्दै त्यहीं रुन थालेँ । लुगा धुने पनि आँट आएन एकछिनमा बुबा आउनुभयो उहाँले मलाई चिन्ता नगर्न र ज्वाइँलाई केही हुँदैन भन्दै सम्झाउनुभयोे । मेरो मन झन् भक्कानियो । गर्भको बच्चा जुनसुकै समयमा जन्मन सक्थ्यो । माइतीमा गएर बुबाको अगाडि धेरै रोएँ । घरमा पनि सहयोगी कोही थिएनन् । श्रीमान्को उपस्थितिविना अब कसरी बाँच्ने भन्दै रुन थालेँ । त्यतिबेलाको घटना सम्झँदा अहिले पनि आँखामा आँसु आउँछ । (भक्कानिंदै)
त्यसपछिका दिनहरू झन्झन् कष्टप्रद बन्दै गयो । गर्भवती मान्छे, दिनभरि खेतमा काम गर्थें, सकी नसकी बेलुकी घर आएर खाना पकाई दरबार स्क्वायरको जेलमा खाना पु¥याउन जान्थें । खाना पु¥याउन जहिल्यै ढिलो आउँछे भनेर पालेले भन्थ्यो । घरको खबर पु¥याउन सानो कागजमा मनमा लागेको कुरा लेखेर प्लास्टिकमा बेरेर खानाभित्र राखेर लाने गर्थेँ । खाना लाँदा औषधि हालेर ल्याएको छ÷छैन भनी पहिले मलाई दुई÷तीन गाँस खान दिइन्थ्यो । त्यसरी खाना खान दिंदा भित्रको कागज पुलिसले देख्ला भन्ने डर भइरहन्थ्यो । खाना दिएर म सरासर फर्कन्थेँ ।
एकदिन बिहान १० बजे खाना लिएर गएँ । सो दिन त्यहाँका कैदीहरूलाई काठमाडौंको जेलमा लाने कुरा भयो । त्यो सुनेर म निकै आत्तिएँ । काठमाडौं लाने कुराले रुँदै रुँदै घर फर्के । टोलका साथीभाइहरू मकहाँआएर काठमाडांैको जेलमा लग्यो भने केही हुँदैन, पिट्दैन पनि भने । काठमाडौंको जेलमा लगेको धेरै राम्रो हो । चिन्ता गर्नुपर्दैन भन्दै सबैले सम्झाए ।
भोलिपल्ट घरकै भाउजूलाई लिएर म भद्रगोल जेलमा श्रीमान्लाई भेट्न गएँ । त्यहाँश्रीमान्लाई जेलमा देखेर मनलाई थाम्न सकिनँ । दुई तीनवटा कुरा गर्न नपाउँदै, समय सकियो भनेर श्रीमान्लाई भित्र लगियो । म घर फर्कंदिनँयहीं बस्छु भनेर धेरै रोएँ । भाउजूले सम्झाइबुझाई मलाई त्यहाँबाट घर ल्याउनुभयो । दुई तीन दिनसम्म खाना पनि रुचेन, मनमा अनेक कुरा खेल्थ्यो । दसैं सकिएलगत्तै सुत्केरी व्यथा सुरु भयोे । सुत्केरी व्यथा लाग्दा दुईवटा अन्डा र थोरै रक्सी खान दिने चलन थियो, बच्चा पाउन सजिलो होस् भनेर होला । मलाई पनि त्यसै गरी खुवाइयो । पछि मलाई अस्पताल लगियो । श्रीमानको साथ नहुँदा सुत्केरी हुँदा पनि निकै दुःख भयो । पहिलो सन्तान (सबिन ख्याजू) को जन्म भयो । सुत्केरी स्याहार गर्ने कोही थिएन । त्यसैले माइती बस्न गएँ । श्रीमान् जेलबाट नछुटेसम्म झण्डै नौ महिना म बुबासँगै माइतीमै बसेँ । बीच–बीचमा श्रीमान्लाई छोड्ने हल्लाहरू चलेको थियो तर त्यो हल्लामै सीमित रह्यो ।
छोरा जन्मेको ३ महिनामा बच्चा लिएर जेलमा श्रीमान् भेट्न गएँ। बुबाले भर्खरको बच्चालाई पहेंलो रङ्गको नयाँलुगा किनेर ल्याइदिनुभयो र त्यही लुगा लगाइदिएर बच्चाको अनुहार देखाउन म जेलमा गएँ । जेल जाने बाटो थाहा थिएन । यसभन्दा पहिला बच्चा पेटमा हुँदा दशरथ रङ्गशाला हेरेर ठाउँको अनुमान लगाउँदै आएकी थिएँ । यसपटक म एक्लै गएँर जाँदाखेरि म गाडीको अर्कै छेउमा परेको हुँदा रङ्गशाला पुगेको पत्तै पाइनँ । त्यस समय त्यो रंगशाला हो भन्ने पनि थाहा थिएन । जसोतसो गरी म जेलसम्म पुगेँ । मेरो देवरले बच्चा जन्मेको खबर पहिल्यै दिइसक्नुभएको रहेछ । त्यहाँश्रीमान्लाई बच्चा देखाउँदै बच्चा बिरामीमात्र हुन्छ भनेँ । बच्चाको अनुहार देखेर श्रीमान् खुशी हुनुभयो र बच्चा काखमा लिएर चुम्बन गर्नुभयो । गेटको पालेले समय सकियो जाऊ जाऊ भन्न थाल्यो । श्रीमान्ले बच्चा मलाई दिन चाहनुभएन, सायद उहाँलाई बच्चाको अनुहार हेर्नै पुगेको थिएन । बच्चा मैले लिएँभने श्रीमान्लाई भित्र लगिहाल्लान् भनेर बच्चा लिन मन थिएन । चलचित्रमा जस्तो कारुणिक दृश्य लागिरहेको थियो मलाई आफ्नो त्यो अवस्था । जेलमा पार्टीका अरु कार्यकर्ताहरू पनि राखिएको छ भन्ने थाहा थियो । उहाँहरू पनि देखिनुहुन्छ कि भनी म भित्रभित्रै हेर्दै आइरहेको थिएँ । जेलका कोणहरू निष्पट्ट अँध्यारा थिए । नारायणमान दाइलाई चाहिं देखिनँ । सुनिल दाइ, गोविन्द दुवाल, सानु सुवाल, योगेन्द्रमान बिजुक्छेंलगायतलाई मैले बाहिरबाटै देखेँ । उहाँहरूलाई नमस्कार गर्दै म त्यहाँबाट निस्केँ ।
टोलका धेरै पुरुषहरूलाई समातेर लगिएको हुँदा टोलमा हामी महिलाहरू संगठित भएर लागेका थियौं । छिमेकीहरूले त्यो समय हेलाहोचो गर्नुभएन, निकै मिलनसार व्यवहार नै पाएँ ।
रोपाईंको समय थियो, रोपाईंको काम नसकिएको हुँदा म बच्चा लिएर खेत गएकी थिएँ । श्रीमान् छुट्ने खबर लिएर टोलका भाइहरू साइकल चढेर खेतसम्म आएका थिए । म पनि साइकलमै बसेर खेतबाट फर्केँ । तिनीहरूले भक्तपुर दरबार स्क्वायरसम्म मलाई पु¥याए । पानी परिरहेको थियो । जेलमा सोध्दा सबैले थाहा छैन भनी जवाफ फर्काउँथे । धेरैबेर त्यहीं कुरेँ । तर श्रीमान् आउनुभएन । पछि निराश हुँदै घर फर्कें । घरमा पनि ताला लगाइएको थियो । यसो हेर्छु घरमा ताला झुण्डि नै रहेको थियो । आज जेलबाट छुट्नुहुन्न होला भनी म सरासर बुबाको घर (माइती) जाँदै थिएँ । त्यही समय न्हुछेमाया भनी श्रीमान्ले देवरको घरबाट बोलाउनुभयो । घरमा ताला लागेकोले देवरको घरमा बस्नुभएको रहेछ । उहाँलाई घरमा देखेर मन प्रसन्न भयो । घर गएर सगुन दियौंँ । श्रीमान् छुटेपछि बल्ल म श्रीमान्को घरमा बस्न गएकी थिएँ ।
भक्तपुर काण्डको त्यो घटना सम्झिँदा अहिले पनि अत्यास लागेर आउँछ । निर्दोष व्यक्तिलाई त्यसरी यातना दिइनु कुनै पनि हालतमा न्यायसंगत थिएन । तर मैले जीवनमा जति नै दुःख, कष्ट सहनु परे पनि हार भने मानिनँ । जीवन नै संघर्ष हो भन्ने सानैदेखि लाग्थ्यो र संघर्ष गर्दै जीवनलाई अगाडि लाने मेरो दृढसंकल्प थियो । अन्ततः सत्यको जीत भएको छ । ढिलो नै सही निर्दोष व्यक्तिले न्याय पाएका छन् । त्यसैमा चित्त बुझाउँछु ।
Leave a Reply