विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
प्रेम सुवाल
विसं २०४५ साल भदौ ५ गते बिहान करिब ४ बजे गएको भूकम्पको धक्काले हामी सबै बिउँझियौँ । भक्तपुर नगरको साविक वडा न.९ चोछें ब्यासीको पुरानो घरको तेस्रो तल्लामा सुतिरहेका बहिनीहरू रामकेशरी, लक्ष्मीकेशरी र सुलोचना हामी सुतेको दोस्रो तल्लामा झरे । भूकम्पले घर अगाडिको पोखरीको पानी छचल्केको आवाज सुनियो । टोलका दाजुभाइहरू हा हा कराउँदै बाहिर निस्कनुभयो । भूकम्प रोकिए पनि हल्लिरहेझैं लाग्यो । हामी पनि बाहिर निस्क्यौं । पछि थाहा भयो– भूक्म्प ६.८ रिक्टरको थियो । विसं २०४४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (त्यतिबेला सङ्गठन) को तर्फबाट तत्कालीन नगरपञ्चायत वडा नं. ९ को वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएको थिएँ । भूकम्पले नगरको वडा नं. २, ३, ६, ७, ८, ११, १२ र १४ मा बढी क्षति पु¥यायो । वडा नं. ९ मा त्यति क्षति भएको थिएन । जनताका प्रतिनिधिको भूमिका निर्वाह गर्न र भूकम्प पीडितलाई आवश्यक सहयोग गर्न प्रभावित क्षेत्रतर्फ लाग्यौं ।
वडा नं. ७ गोलमढीको ओरालोमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग भेट भयो । उहाँ बिरामी हुनुहुन्थ्यो । यद्यपि भूकम्पबाट क्षति भएका पीडितको स्थिति जानकारी लिन निस्कनुभएको थियो । उहाँले हामी निर्वाचित प्रतिनिधि र पार्टीका कार्यकर्ताहरूलाई भूकम्प पीडितहरूको उद्धार, घाइतेको उपचार र राहत कार्यमा तदारूकताका साथ लाग्न निर्देशन दिनुभयो ।
दिउँसो नगरपञ्चायतको बोर्ड बैठक बस्यो । भूकम्प पीडितहरूको लगत लिने र क्षति भएकाहरूलाई खानेकुराको व्यवस्था गर्ने निर्णय भयो । रेडक्रस सोसाइटीमार्फत पनि राहत सामग्री आएको थियो । तर त्यसका पदाधिकारीहरूले लुकाउने काम गरे । यससम्बन्धी समाचार पत्रपत्रिकामा पनि प्रकाशित भएको थियो । तत्कालीन पञ्चायत सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरेको केन्द्रीय राहत कोषमा रू. १ लाख जम्मा गर्न नगरपञ्चायतमा पत्र पठायो । भक्तपुरका भूकम्प पीडितहरूलाई केन्द्रीय सरकारले सहयोग गर्नुपर्नेमा उल्टो नगरपञ्चायतको कोषको रकम नै केन्द्रमा बुझाउनुपर्ने पत्र उपयुक्त थिएन र रकम बुझाइएन ।
भूगर्भशास्त्रीहरूले भारतीय प्लेट तिब्बतीयन (यूरोसियन) प्लेटतर्फ धसिंदै गइरहेको र त्यसबाट सञ्चय भएको शक्ति बाहिर निस्कँदा भूकम्पको तरङ्ग जाने पत्ता लगाए तर त्यस्तो तरङ्ग कहिले जाने पत्ता नलागेकोले भूकम्पमा जनधनको क्षति भइरहेको हो । यसकारण भूकम्पीय क्षति न्यूनीकरण हुने पूर्वाधार निर्माण आवश्यक छ । गरिबीको कारण पनि नेपालीले भूकम्पीय क्षति न्यूनीकरणसहितको घर बनाउन नसकेका हुन् । यसमा सरकारहरु दोषी छन् । समाजवादी देशमा राज्यले भूकम्पीय क्षति न्यूनीकरण हुने आवासको व्यवस्था गर्छ ।
नेपालमा भूकम्पबारे अन्धविश्वास थियो र छ । भदौ ९ गते वडाको छुमागणेशमा टोलवासीहरू जम्मा भएर ‘क्षमा पूजा’ गर्दैथिए । बिहानदेखि सिमसिमे पानी परेको थियो । दिउँसो ३ बजेतिर भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेका कर्ण ह्योजूले धाँधली र पक्षपात गरेको, घर नभत्केकालाई खाद्यान्नको कुपन बाँडेको, घर भत्केका पीडितहरूले कुपन नपाएको खबर हाम्रो टोलमा पनि फैलियो । खबर सुन्नेबित्तिक्कै भूपु रापस ह्योजूमार्फत पञ्चायत सरकारले षड्यन्त्र बुनेको शङ्का लाग्यो । यथार्थ थाहा पाउन हामी वडाबाट लायकू नगरपञ्चायत कार्यालयतर्फ लाग्यौं । बालाखुमा केही स्थानीयहरूले ह्योजूले खाद्यान्नको कुपन वितरणमा पक्षपात र धाँधली गरेको सुनाए । नगरपालिका भवन अगाडि खाद्यान्न बोकेको गाडी रोकिएको थियो । नगरपालिका कार्यालयको दोस्रो तल्ला चढ्ने भ¥याङमा केही नयाँ मान्छे झर्दै गरेको भेटें । पछि थाहा भयो – उनीहरू कुपनअनुसार खाद्यान्न वितरण गर्न आएका र कुपन वितरणमा धाँधली भएपछि नगरपञ्चायत कार्यालयमा पुगेको रहेछ ।
नगरपञ्चायत भवनबाट साकोठामा मानिसहरूको हुल देखियो । त्यहीबेला प्रहरी भ्यान लायकूमा देखियो र भ्यान पछाडितर्फबाट अलि बेगमै साकोठातर्फ लाग्यो । एकछिनमै प्रहरी भ्यान बेगमै फिर्ता भयो । पछि थाहा भयो – साकोठामा ह्योजू उठेरै प्रहरी भ्यानमा बसेको रहेछ । पञ्चायत सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारीमार्फत ह्योजूले भूकम्प पीडितको खाद्यान्न कुपन पीडित नभएकालाई बाँडेको रहेछ ।
नगरपालिकाबाट हामी वडातिरै लाग्यौं । गाईजात्रा भदौ ११ गते थियो । टोलमा सांस्कृतिक प्रदर्शनको लागि तयारी भइरहेको थियो । बेलुकीको खाना खाएर हामी केही साथीहरू सदाझैं सांस्कृतिक तयारीमा लाग्यौं । त्यो दिनको घटनाबारे मलगायत धेरैलाई थप विवरण थाहा थिएन ।
प्रभात माविको बिहान कक्षामा पढाउँथे । भदौ १० गते बिहान विद्यालय जाने तयारीमा थिएँ । विद्यालयका सहयोगी बालकुमार नेपाल घर आईपुग्नुभयो र पार्टी अध्यक्ष बिजुक्छेंलगायतलाई भदौं ९ गते राति नै प्रहरीले पक्राउ गरेको सुनाउनु भयो । पञ्चायत सरकारले नेपाल मजदुर किसान पार्टीविरूद्ध राजनीतिक पूर्वाग्रह राखेको र प्रतिशोध लिएकोबारे अव शंका रहेन । हामी केही साथीहरू तत्कालै भूमिगत भयौं ।
भदौ १० गते बिहान ९–१० बजे ह्योजूको शवयात्रा भक्तपुरमा हुने प्रचार गरियो । घटनाबारे छेउटुप्पो पनि थाहा नभएका हामीहरु आश्चर्यचकित भयौं । ह्योजूको शवयात्रामा पञ्चायत सरकारका प्रम मरिचमानसिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलगायत सरकारका मन्त्री र पञ्चहरूले हाम्रो पार्टीका अध्यक्षको नाम किटेर ‘रोहितलाई फाँसी दे’ नारा लगाए । यसले पनि षड्यन्त्र पुस्टि गर्छ ।
अघिलो दिन साकोठाबाट हिंडेरै प्रहरी भ्यानमा बसेका ह्योजूको भोलिपल्टको शवयात्रा र सरकार प्रमुख प्रमले लगाएको नारा एउटै गोलीबाट दुई शिकार थियो । एक, नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताविरूद्ध झूटा ज्यान मुद्दा लगाउन व्यापक गिरफ्तारी गर्ने र दुई, जननिर्वाचित नगर पञ्चायत भङ्ग गरी निर्वाचनमा हारेका मण्डले पञ्चहरूको नगर पञ्चायत समिति गठन गर्ने ।
पार्टी अध्यक्ष बिजुक्छेंलगायत राष्ट्रिय पञ्चायतका सदस्य, नगर पञ्चायतका जनप्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू, मजदुर, किसान र सर्वसाधारण जनता गरी १५२ जना पक्राउमा पर्नुभयो । पञ्चायत सरकारले भदौं २३ गते जनताद्वारा निर्वाचित भक्तपुर नगरपालिका भङ्ग ग¥यो । असोज १ गते शनिबारको दिन हनुमानघाटमा प्रहरी घेराभित्र सर्जमीन गरियो । असोज ४ गते अध्यक्ष बिजुक्छेंलगायत हामी ६७ जनाविरूद्ध झूटा ज्यान मुद्दा बागमती विशेष अदालतमा दर्ता गरियो । मंसिर ७ गते नेपाल युवक सङ्गठन भङ्ग गरियो । यी सबैले पनि षड्यन्त्र पुस्टि गर्छ ।
पञ्चायती सरकारले मुलुकी ऐनको ज्यानसम्बन्धी महल नं. १३ अनुसार अध्यक्ष बिजुक्छेंलाई सर्वश्वसहित जन्म कैद वा मृत्युदण्डको माग गरेको थियो । केही साथीहरूविरूद्ध दसदेखि पन्ध्र वर्षको कैद र केहीविरूद्ध पाँच वर्षको कैद माग गरिएको थियो ।
पञ्चायती राज्यस्तरको षड्यन्त्रबाट तयार भएको झूटो ज्यान मुद्दामा पञ्चायतकै एक अदालतबाट न्याय पाउने स्थिति थिएन । अध्यक्ष बिजुक्छेंलगायत अधिकांशलाई थुनामा राखी कारबाही गर्ने आदेश आयो । पाँच वर्षको कैद माग गरिएका जनकलाल सुवाल धरौटीमा रिहा हुनुभयो । पञ्चायती सरकारले एकपछि अर्को झूटो मुद्दा लगाउने भएकोले हामी भूमिगत बस्ने निष्कर्षमा पुग्यौं । मानव अधिकारवादी र वरिष्ठ अधिवक्ताहरू ऋषिकेश शाह, कृष्णप्रसाद भण्डारी, मुकुन्द रेग्मी, सिन्धुनाथ प्याकुरेल, वासुदेव ढुङ्गानालगायतले झूटा मुद्दा खारेज गरी पार्टीका नेता एवं कार्यकर्ताहरूलाई अबिलम्ब रिहा गर्नुपर्ने अडान राख्नुभएको हुँदा हाम्रो आत्मबल बढ्यो । पञ्चायतविरूद्ध सङ्घर्षरत राजनीतिक पार्टी, कानुनविद्हरूको सङ्गठन नेपाल बार एसोसियसन, पत्रकारहरुले झूटा मुद्दा खारेजीको लागि वक्तव्य र समाचार प्रकाशित गरेपछि पनि हामी थप उत्साहित भयौं ।
जेलबाहिरका हामी साथीहरू २० महिना भूमिगत बस्यौं । पार्टीकै सहयोगमा पढे हुर्केका केही व्यक्तिहरू पार्टीविरूद्ध झूटो मुद्दा लगाइएको बेला प्रधानाध्यापक बन्न पञ्चायतसँग आत्मसमर्पण गरे, केही आफ्नो ठेक्कापट्टा जोगाउन र केही बैङ्कबाट ऋण धेरै पाउन पञ्चायतको समर्थनमा लागे । ती विश्वासघातीहरूले अध्यक्ष बिजुक्छेंको निर्देशनमा ह्योजूको हत्या भएको झूटा कागजमा सहिछाप पनि गरे ।
लामो समय भूमिगत बस्नु सजिलो थिएन । झूटा मुद्दामा पाँच वर्ष कैद मागमा परेका साथी सत्यनारायण बजिको अदालतमा हाजिर हुनुभयो । अदालतले उहाँलाई थुनामा राख्ने आदेश दियो । भूमिगतभन्दा जेलमै जाने मनस्थिति बनाई अदालतमा हाजिर हुनको लागि सल्लाह लिन वरिष्ठ कानुन व्यवसायी मुकुन्द रेग्मीकहाँ पुग्यौं । उहाँले हाजिर नहुने सल्लाह दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्तालाई झूटा ज्यान मुद्दामा चलाएको पञ्चायतविरूद्ध नेपालका राजनीतिक पार्टीहरूको बैठक सुरू भयो । संयुक्त जनआन्दोलनको परिस्थति तयार भयो । २०४६ साल फागुन ७ गते पञ्चायतविरूद्ध नेमकिपासहितको वाममोर्चा र नेकाको संयुक्त जनआन्दोलन सुरू भयो । फागुन ८ गते भक्तपुरमा पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको जुलुशमाथि पञ्चायती प्रहरीले दोस्रो विश्व युद्धमा प्रतिबन्धित डमडम गोली वर्षायो । पञ्चायती गोलीले भक्तपुरका होनहार चार सपूत सहीद हुनुभयो । यो समाचार देशभरि फैलियो । जनआन्दोलनले गति लियो । अन्ततः २०४६ चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो । पञ्चायती व्यवस्थाको अन्त्य भयो ।
चैत २७ गतेबाट हामी भूमिगत बसेका कतिपय साथीहरू सार्वजनिक भयौं । हामीविरूद्धको झूटो मुद्दा कायमै थियो । यसकारण हामी झूटो मुद्दा खारेजीको लागि लागिप¥यौं । बहुदलीय व्यवस्था पुनःस्थापनापछिको सरकारले २०४७ वैशाख ५ गते झूटो मुद्दा फिर्ता लियो । नेमकिपाका नेता र कार्यकर्ताविरूद्धको झूटा मुद्दा नै पञ्चायती व्यवस्थाको अन्त्य सावित भयो ।
संवत २०५४÷५५ सालतिर प्रहरी क्लब भृकुटी मण्डपमा पञ्चायतकालका प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले नेमकिपाको कामलाई प्रशंसा गर्दै ह्योजू हत्यामा हाम्रो पार्टी संलग्न भएको पुनः आरोप लगाए । हामीले तत्कालै जवाफ फर्कायौं– प्रधानमन्त्रीको कुर्सीबाट रोहितलाई फासी दे नारा लगाउने र भूकम्प पीडितको खाद्यान्न कुपन धाँधलीपूर्ण वितरण गराउन लगाउने पञ्चायत सरकार नै थियो । यसकारण ह्योजूको हत्याको दोषी हामी होइनौं । त्यो झूटा मुद्दाकै कारण पञ्चायती सरकारको अन्त्य भयो ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो । ख्वप विश्वविद्यालयको विधेयकबारे ताकेता गर्न हामी अर्थ मन्त्रालयमा पुग्यौं । मन्त्रालयका सहसचिव कृष्ण देवकोटाले पनि नेमकिपाको गतिविधिको प्रसंशा गरे तर ह्योजू हत्यामा संलग्न भएको आरोप लगाए । हामीले तत्कालै नेमकिपाविरूद्ध ह्योजू हत्याको आरोप पञ्चहरूले लगाएको स्पष्ट ग¥यौं । नेमकिपाले प्रत्येक वर्ष भदौ ९ को कालो दिन भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्दै प्रतिक्रियावादीहरुको षड्यन्त्रबारे जनतामाझ राख्दै आएको छ ।
Leave a Reply