भर्खरै :

स्टन्टबाजीहरूको रङ्गशाला

मोतीलाल
सबै साधुहरूले पहेंलो वस्त्र लगाउँदैनन् । ज्यानभरि कालो कपडा लगाएर हिंड्ने जोगीहरू पनि हुन्छन् । तिनीहरूलाई अघोरीपन्थी भन्ने गरिन्छ । अघोरीबाबाहरू कार्तिके पूर्णिमाको रातमा विशेष पूजा गरेर मान्छेको मासु खान्छन् । तर त्योभन्दा पनि रोचक कुरा त तिनीहरूको विशेषता भनेको नै तमासा गर्नु हो । मेलामा, जात्रामा वा भीडभाडमा लाज, घिन नमानी अस्वाभाविक गतिविधि गरेर आम मानिसको ध्यानाकर्षण गर्नु उनीहरूको चरित्र हो । मान्छेहरूको बीचमा पनि दिसा गर्न बस्ने, मान्छेहरू घिनाइरहेको बेलामा त्यहीं दिसा खानेजस्ता समाजलाई आतङ्कित पार्ने घिनलाग्दो आचरण देखाउनु अघोरीबाबाहरूको क्षमता मानिन्छ । तिनीहरूलाई इज्जत र मर्यादाको कुनै वास्ता हुँदैन । अहिले राजनीतिमा पनि त्यस्तै अघोरीबाबा बनेर शान्त भक्तपुरवासीहरूलाई आतङ्कित पारिरेहेको छ भक्तपुर – २ का सांसद बस्नेतले ।
प्रतिक्रियावादीहरू चर्चामा आइरहन मनपराउँछन् । तिनीहरूले मुखैले भन्छन्, ‘नाम होस् या बदनाम तर गुमनाम नहोस् ।’ त्यसैले तिनीहरू चर्चामा आउन अनेक जुक्ति लगाउँछन् । अनेक स्टन्ट् देखाइरहन्छन् । अहिले सांसद बस्नेतले पनि त्यस्तै अघोरीबाबाले जस्तै अनेक तमासा देखाइरहेको छ । आफ्नो इज्जत, हैसियत, मर्यादाको कुनै पर्वाह नगरी सांसद बस्नेतले हरेक दिन सञ्चारमा छाइरहन स्टन्ट्वाला भाषा बोलिरहेको छ । स्टन्ट्मा अभ्यस्त बनाउन उद्यत सञ्चारमाध्यमहरूको लागि त सांसद बस्नेत समाचारको मुख्य स्रोत नै बनेको छ । शक्तिको भक्ति गाउन उद्यत सञ्चारकर्मीहरू सांसद बस्नेतले फुत्त केही वाकी हाल्ला र निजी अनलाइनमा भए पनि समाचार हाली हालौंला भनेर दङ्ग परेर बसेका छन् । चर्चामा छाइरहन चाहने सांसद बस्नेतलाई ती सञ्चारकर्मीहरूले सफल पनि बनाइरहेका छन् ।
संविधान जारी गर्ने संविधानसभा र रुपान्तरित व्यवस्थापिका –संसदमा भक्तपुर क्षेत्र नं. २ बाट को सांसद थिए ? सायदैलाई थाहा होला । सार्वजनिक सञ्चारमाध्यममा वा संसदमै पनि विरलै झुल्किए होला । ती सांसदले सांसद बनाइदिएबापत जसको जसरी सेवा गर्नुपर्ने थियो, गरे होलान् तर चर्चामा आएनन् । सांसद बस्नेत सांसद बनेको एक वर्ष भएको छैन, सधैं चर्चामै रहेको छ । त्यसैले यो हल्लै हल्लाको देशमा सांसद बस्नेत हल्लाको एउटा कुनाको केन्द्र बनिरहेको छ । बोल्नेको पिठो बिकाउन मरिहत्ते गरिरहेको छ ।
भुक्ने कुकुरले टोक्दैन – सामान्य नेपालीले पनि थाहा पाएको तथ्य हो । सात्तो जाने गरी भुकिरहनेहरूले के कति काम पूरा गरे सञ्चारकर्मीहरूले वास्ता नगरे पनि जनताले एक–एक हिसाब राखिरहेका छन् । जनताका आँखा दूरबीनसरह हुन्छन्, त्यसै भनिएको होइन । नमचिने पिङलाई सय झट्का दिएर पनि मचिने त होइन नै । पशु बलले झट्का दिएर तातो पानीले नै घर जलाउँछ कि भन्ने त्रासमात्र उत्पन्न गराउने हो ।
अखबारका पाना भर्न बोली दिए पुग्छ । काम गरेर पु¥याउन त धरातल हुनुप¥यो, वैज्ञानिक आधार हुनुप¥यो, परिणाममूलक हुनप¥यो । तर हावाको तालमा कुरा गर्छन्, हावामै बिलाउँछन् । त्यसैले त ती हावा मान्छेहरू हुन् । एकताका कोटेश्वरको जाम हटाउन सुरुङ मार्ग बनाउने हल्लाखल्ला भयो । अहिले कता विलायो सुरुङमार्ग ? अब त बिलाएको मात्र होइन, प्राविधिक रुपमा पनि सम्भव नभएको समाचार आइसकेको छ । कहिले भक्तपुर नगरपालिकाले मेडिकल कलेज र विश्वविद्यालय बनाउने भनेको १०८ रोपनी सल्लाघारीको जग्गामा तरकारी बजार बनाउने जिरिह गर्छ, कहिले मनोरञ्जन पार्क बनाउन हारगुहार गर्छ । व्यापक जनताको हितमा दिगो र सार्थक विकासभन्दा पनि केही आसेपासेहरूको वाह वाह पाउन स्टन्ट् दिइरहन रमाउने आफैमा दिगो र सार्थक बन्न सक्दैन । पप गीतले पनि एकक्षण त सदावहार गीतलाई नै उछिनिएला जस्तो बजार तताउँछ तर छिट्टै नै पप गीत विरानो बन्न पुग्छ । उम्लिएर हिंडेपछि हुन त भुइँमा न भाँडामा नै हो ।
यतिबेला भक्तपुरका पूर्वी जनतालाई आतङ्कित बनाइरहेको रङ्गशाला पनि स्टन्ट्बाजीमात्रै हो । लागू हुने कुनै लक्षण देखिंदैन । सरकारले यो वर्ष सबै प्रदेशहरूमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउन सम्भावित अध्ययनमात्र गर्ने भनेको हो । ३ नं. प्रदेशमा पनि रङ्गशाला बनाउन विभिन्न जिल्लामध्ये भक्तपुरलाई पनि सम्भावित जिल्लामा राखिएको हो । तर यहाँ त रङ्गशाला बनाउने जग्गा नै किटान भएको जस्तो लहैलहै पारेको छ । रङ्गशाला बनाउने भनिएको ठाउँका स्थानीय व्यापक जनताको आक्रोश देखेपछि सांसद बस्नेतले रङ्गशाला बनाउन कुनै व्यक्तिको जग्गा नलिने दाबी गरेको छ । साविक सिपाडोल, नङखेल, चित्तपोल, ताथली र सुडाल गाविसहरूमा रहेको सरकारी पर्ती जग्गामै रङ्गशाला बनाउन पुग्ने बताइरहेको छ । ती साविक ५ गाविसका सबै सरकारी पर्ती जग्गा जोडेर पर्याप्त जग्गा होला नै मानौं । तर ती जग्गा सबै आजको मितिमा के एकै ढिक्कामा छ त ? होइन, जग्गा एकीकरण गरेर एक ठाउँमा ल्याउने हो भने खोइ त जग्गा एकीकरणको विस्तृत योजना ? सूर्यविनायक र चाँगु नपाका ५ वटा पूरै वडा अथवा साविक ५ वटा गाविसको जग्गा एकीकरण गर्दा कुन प्रणालीमा जग्गा एकीकरण गर्ने हो ? स्थानीय जनतासँग सहमति भयो कि भएन ? स्थानीय जग्गाधनीको हैसियत के हुने हो ? कुन विधिमा जग्गा एकीकरण हुने हो ? के अब दुई नगरपालिकाको पूरै पाँचवटै वडाहरूमा आवासीय आयोजनामात्रै बनाउने हो ? आवासीय योजनामा पनि अब बाटो कहाँ कति फराकिलो बनाउने हो ? सार्वजनिक खुला ठाउँ कहाँ कति बनाउने हो ? जङ्गल कति भाग बाँकी हुने हो ? नयाँ पार्कहरू कहाँ कति बनाउने हो ? खुला चोकहरू कहाँ कति बनाउने हो ? सार्वजनिक हितका वा सरकारी कार्यालय भवनहरू कहाँ कति बनाउने हो ? जग्गाधनीहरूले कहाँ कति प्रतिशत जग्गा फिर्ता पाउने हो ? के अब कति पनि कृषि उपयोगको लागि जग्गा बाँकी नराख्ने ? यस्ता हजारौं सवालहरू छन्, जुन तत्काल जवाफ दिनुपर्ने छन् । तर ती सबै प्रश्नहरूलाई कुण्ठित पारेर एकहरो चाँगु नपा र सूर्यविनायक नपाबीचको भकारीमूलमा रङ्गशाला बनाउने भनी कोकोहोलो गर्नु रङ्गशाला बनाउन होइन, रङ्गशालाको नाममा हातहातै कमिसन पचाउने खेलमात्रै हो । रङ्गशाला स्थल पहिचान गर्न छुट्याएको ५० लाख रुपैयाँ झ्वामपार्ने दाउमात्रै हो । आफ्नो आउरेबाउरे युवा र ठेकेदारहरूलाई भुलाउन फुलाएको बेलुनमात्रै हो ।
पूरै साविक ५ गाविसका ७० हजारभन्दा बढी रोपनी सम्पूर्ण जग्गामा आवास योजना बनाउनु उचित हो कि होइन ? भक्तपुरको विद्यमान जनसङ्ख्याको लागि यति ठूलो आवास क्षेत्र आवश्यक भइसकेको हो कि होइन ? आवासीय क्षेत्रमात्र निर्माण गरेर के खाने हो ? कृषि उपजहरू कहाँबाट ल्याउने हो ? यो विकासको नमुना हुने हो कि ? विकासको नाममा विनास हुने हो ? अनेकाअनेक सार्वजनिक चासोका जिज्ञासाहरू छन् । विभिन्न कोणबाट बहस, विचार विमर्स गर्नुपर्ने धेरै मुद्दाहरू छन् । ती सबै विषयलाई छोडेर निजी सम्पतिको हकमा मात्र कुरा गर्ने हो भने पनि यो आवास योजनाको मुखले बोलेजस्तै सम्पूर्ण नापी नक्सा तेर्साएको भए साँच्चिकै रङ्गशाला बनाउला कि भन्ने हुन्थ्यो । १ हजार रोपनीभन्दा बढी एकीकृत सरकारी पर्ती जग्गामै रङ्गशाला बनाउन क्षेत्रफल पुग्ने जिद्दी गर्ने सांसद बस्नेतले खोइ त भकारी मूलका घरजग्गा धनीहरूले सोधभर्ना पाउने जग्गा देखाएको ? जग्गा एकीकरण योजना भनेको के हो ? आफूलाई मन परेको जति जग्गा ठाउँमा चटक काटेर लिने अरु जग्गाधनीहरूले जसले जहाँसुकैको जग्गा लेओस् भन्ने हो ? इन्जिनियरिङ क्षेत्रमा ख्याती कमाएको ख्वप कलेजको लागि २५ रोपनी जग्गा एकै ठाउँमा पार्न पनि भक्तपुर नगरपालिकाले सम्बन्धित जग्गाधनीहरूलाई कसरी सोधभर्ना दिए ? हजारौं रोपनी जग्गा एकीकरण गर्ने महायोजनाकारहरूले सोच्नु पर्दैन ? यसकारण यो लागू गर्न ल्याएको योजना पनि होइन । लागू गर्न यो योजनाको बाजा बजाइरहेको पनि होइन ।
यद्यपि भकारीमूलका जनताको जुन प्रतिरोध आन्दोलन हो, त्यो नितान्त आवश्यक छ । रामचन्द वासी अनि शिवशरण कार्कीहरूको नेतृत्वमा रङ्गशाला पीडित सङ्घर्ष समितिहरूको सङ्घर्षका मोर्चाहरू अझ दरिलो बनाउनु जरुरी छ । किनभने अघोरीबाबाहरूको कुनै भर हुँदैन । चाँगुनारायण – ९ का वडाध्यक्ष गणेश त्यातका अनुसार साँसद बस्नेतको आज्ञापालक सीडीओले त बिना योजना, बिनानिर्णय र बिनासहमति काम सुरु गर्न आदेश दिइसकेको थियो । त्यसैले तिनीहरूले पार नलाग्ने भए पनि आक्रमक भएर आतङ्क मचाउन सक्छन् । भकारीमूलमा रङ्गशाला बनाउन स्थानीय जनताको समर्थन नरहेको सन्देश सोही क्षेत्रका सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले संसदमा नपु¥याएको भए आज त्यहाँ डोजर चलाएर कति खेती आवादी बिगारी सक्थ्यो होला । राणाकालमा जस्तै आफ्नो हुकुमलाई नै सर्वोपरी ठान्ने सांसद बस्नेत र कथित कम्युनिष्ट पार्टीका मेयरहरूले रैथाने जनतालाई विचल्ली पारिसक्थ्यो होला । तर जनताको अजय शक्तिको अगाडि संसारका कस्ता कस्ता शासक र व्यवस्था त टिकेन भने यस्ता झिल्के स्टन्ट्बाजीहरूको के लाग्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *