भर्खरै :

चीन दुई सन्तान नीति बदल्दै

बेइजिङ, ११ भदौ (एएफपी) । चीनले दुई जना सन्तान जन्माउन पाउने परिवार नियोजनसम्बन्धी नीति परिवर्तन गर्ने तयारी गरिरहेको छ ।
संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चिनिने चीनले दुई जनाभन्दा बढी सन्तान जन्माउनेलाई दण्ड जरिवानाको व्यवस्था गरेको थियो ।
परिवार नियोजनसम्बन्धी यस व्यवस्थालाई परिवर्तन गर्न बनाइएको कानुनको मस्यौदालाई राष्ट्रिय जनकाङ्ग्रेसमा सन् २०२० मा मतदान गराइने तयारी गरिएको स्रोतले जनाएको छ ।
चीनमा कम्युनिष्ट पार्टीले सन् १९७९ मा एउटामात्रै सन्तान जन्माउन पाइने र त्योभन्दा बढी जन्माएमा कारबाही हुने व्यवस्था लागू गरिएकोे थियो ।
जनसङ्ख्या अत्यधिक बढ्दै गएको र देशले थेग्न नसक्ने भएकोले नियन्त्रण आवश्यक भएको भन्दै एक सन्तानको नीति लागू गरिएको हो ।
एक सन्तानको नीतिले आवश्यकताभन्दा बढी जनसङ्ख्या घटेपछि गत सन् २०१६ मा भने सो सन्तानको नीतिलाई परिमार्जन गरेर बढीमा दुई सन्तान जन्माउन पाइने व्यवस्था गरिएको थियो ।
जनसङ्ख्या वृद्धि कम भई मुलुकको आवश्यकताअनुसारको जनसङ्ख्या अभाव हुने सङ्केत देखेपछि चीनले अहिले जनसङ््ख्या बढाउने अभियान चलाउने तयारी गरेको छ । थोरै सन्तान जन्माउन दबाब दिने यसअघिको नीतिले चिनियाँहरूमा थोरै सन्तानको संस्कार बढेपछि अहिले धेरै सन्तान जन्माउने बनाउन गाह्रो भएको छ ।
त्यसैले उनीहरूलाई एकभन्दा बढी बच्चा जन्माउने गराउन चिनियाँ दुई जना विज्ञले केहीदिन अगाडी सुझाएका थिए ।
उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका थिए । जनसङ््ख्या न्युनीकरण कम गर्न दुईभन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न उनीहरूको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *