प्रेम के. निडर
नेपाल बहुजातीय, बहुभाषीय मुलुक हो । यहाँ बसोबास गर्ने विविध जातजातिको आ–आफ्नै विशेषताका संस्कार र संस्कृतिहरू छन् । आ–आफ्नै प्रकारको जात्रा पर्व र सम्पदाहरू छन् । यही संस्कार र संस्कृतिले गर्दा नेपाल संस्कृतिको धनि देश भनेर विश्वमा चिनिएको हो ।
मानिस एक सामाजिक प्राणी हो । मानिसलाई आफू बसेको समाजको धर्म संस्कृतिले धेरै प्रभाव पारेको हुन्छ । त्यसैको प्रभावले उसको विचार र दर्शनलाई पनि असर पारेको हुन्छ । संस्कार र संस्कृतिले गर्दा एक किसिमले मानिस र समाजको परिचय हुन्छ । यसबाट मानिस र समाजको सभ्यता र दर्शन बुझ्न सजिलो हुन्छ ।
संस्कार र संस्कृतिले मानिसलाई भावनात्मक एकता गर्दछ । यसले पुर्खाहरूबाट हस्तान्तरण हुँदै छोडेर गएका सम्पदा र संस्कृतिलाई जोगाई राख्न मद्दत गर्दछ । यस्तो काममा नेवार समुदाय अगाडि छ । जहाँ नेवार जाति छ त्यहाँ पाटीपौवा मठ–मन्दिर, जात्रा पर्व छ भन्ने विश्लेषणबाट पनि स्पष्ट हुन्छ ।
नेवार समुदायले जीवन्त राख्न सकेको सम्पदा र संस्कृतिहरूमा नेपालका पौराणिक गणनाचहरू पनि एक हुन् । धार्मिक र सांस्कृतिक महत्व राख्ने ती नाचहरूमा अनुष्ठानिक र लौकिक नाचहरू पर्दछन् । अनुष्ठानिक र लौकिक नाचहरू परम्परादेखि मनोरञ्जनको दृष्टिकोणले जनमानसमा देखाउँदै आएको हो । ती नाचहरू धार्मिक दृष्टिकोणले पनि महत्वपृर्ण छ । अनुष्ठानिक नाचहरूमा लगाउने मुकुण्डो देवी देवताको रुप झल्कने गरी तान्त्रिक विधि विधानबाट जीवन्यास गरी बनाउने हुँदा त्यो मुकुण्डोलाई देवी देवताकै रुपमा लिई पूजाआजा गर्ने चलन छ । यस्तो मुकुण्डो लगाई नाच्ने गणनाचहरूमा नाच सिकाउने बेलादेखि जनमानसमा नाच देखाएर फर्कदासम्म विधि विधान पालना गर्नुपर्ने भएकोले त्यस्ता अनुष्ठानिक गणनाचहरूको प्रभाव जनमानसमा बढी पर्न गएको देखिन्छ । भक्तपुरको नवदुर्गा गणनाच र बोडेको नीलबाराही गणनाच जनमानसमा बढी धार्मिक प्रभाव परेको गणनाचहरूमा पर्छ ।
मुकुण्डो लगाएर नाच्ने पौराणिक गणनाचहरू काठमाडौं उपत्यकाभित्र धेरै छन् । ती सबै नाचहरु शास्त्री विधि विधानअनुसार देवदेवताको आराधना गरी चलेका छन् । उपत्यकाको तीन सहरमा पचली भैरवको गणनाच, भद्रकाली गणनाच, कीर्तिपुरको बाघ भैरव गणनाच र भक्तपुरको नवदुर्गा गणनाच यसका दृब्टान्त हुन् । तीन सहर बाहिरका नेवार बस्तीहरूमा हरिसिद्धी गणनाच, थेचोको महालक्ष्मी गणनाच, खोकनाको रुद्रायणी गणनाच, थिमीको भैरव नाच र बोडेको नीलबाराही गणनाच पर्दछ । ती गणनाचहरू सबै निश्चित ठाउँमा र निश्चित समयमा मात्र देखाउँछन् ।

प्रेम के. निडर
प्राचीनकालदेखि चलाउँदै आएका ती अनुष्ठानिक गणनाचहरूको आ–आफ्नै किंवदन्ती छन् । हरिसिद्धी गणनाच राजा विक्रमादित्यले उग्रतारा देवीको निर्देशनमा चलाएको भनाइ छ । तीन सहरभित्र अष्टमातृकादेवीको नाच महासरस्वती देवीको निर्देशमा राजा गुणकाम देवले चलाएको भनिएको छ । मानव बस्तीमा भुतप्रेत आई दुःख कष्ट दिएकोले भैरवको साधना गरी भैरवलाई जागृत गरी भूतप्रेत भगाएको किंवदन्तीअनुसार मल्ल राजाहरूले ठाउँ–ठाउँमा भैरव नाचहरू चलाएको भनाइ छ । बोडेको नीलबाराही नाच र भक्तपुरको नवदुर्गा नाच पनि मल्ल राजा सुवर्ण मल्लले चलाएको भनिएको छ । तर बोडेको नीलबाराही गणनाच नीलबाराही देवी आफै मनुष्य रुपधारण गरी बोडेको धों भन्ने थरका एक व्यक्ति नीलबाराही वन छेउको चुलिचा भन्ने ठाउँमा काम गर्दै गरेको बेलामा बोलाएर लगी चार दिन तीन रात गोप्य रुपमा नीलबाराहीको जङ्गल छेउको गँख्योचा भन्ने ठाउँमा सिकाई पठाएको किंवदन्ती छ । नीलबाराहीदेवी आफैले त्यस गणनाचको लागि आवश्यक सामानहरू र बाजागाजाका साथ भैरवले प्रत्येक वर्ष नाच्न लगाउनैपर्ने तावाँको माला पनि दिएर पठाएको भन्ने भनाइ छ । तावाँको माला प्रत्येक वर्ष त्यही धों भन्ने व्यक्तिको घरबाट ल्याई नाच्नुपर्ने र जात्रा सकेपछि फर्काउनु पर्ने चलन छ । नीलबाराहीले दिएर पठाएका सामानहरू एउटा काठको बाकसमा अद्यापि छ । उक्त बाकसमा के के छ कसैले हेर्नसम्म आँट गर्न सकेको छैन र हेर्न खोजेमा आँखा नै नदेख्ने र केके हुने भन्नेबारे त्यस घरका परिवारको भनाइ छ । बोडेको स्थानीय जनताको भनाइ र इतिहासको भनाइ फरक भएको हुँदा कुन सत्य हो ? चिन्तनमनन गर्नुपर्ने विषय हो ।
अनुष्ठानिक गणनाचहरू पुराणको आधारमा देवी देवताको अभिनयमा नाच्ने गरी चलाएको देखिन्छ । नवदुर्गा गणनाच दुर्गा महिषासुर वध गर्ने कथाको आधारमा युद्धकै अवस्था झल्कने गरी चलाएको नाच हो भने महाकाली नाच विभिन्न देवीहरू युद्धको लागि तयारी र कसरी युद्ध गर्ने भन्ने पूर्वाभ्यासको नृत्य हो । तर यो इतिहासमा व्याख्या गरिएको छैन । भक्तपुरको नवदुर्गा गणनाचमा लगाउने मुकुण्डोहरू र बोडेको नीलबाराही गणनाचमा लगाउने मुकुण्डोबाट पनि स्पष्ट गर्न सकिन्छ । भक्तपुरको नवदुर्गा गणनाचमा जुन जुन देवीदेवता नाच्ने देखाएका छन् ती नै देवी देवताहरू बोडेको नीलबाराही गणनाचमा नाच्ने देखाएका छन् । तर तिनीहरूको मुकुण्डकै भाव र आकृति फरक–फरक देखिन्छ । नवदुर्गा गणनाचमा लगाउने मुकुण्डोको भाव र आकृति डरलाग्दो र आक्रोशित देखिन्छ भने बोडेको नीलबाराही गणनाचमा लगाउने मुकुण्डोहरू हँसिलो, उत्साहित र खुसी भावको देखिन्छ । यसबाट के स्पष्ट हुन आउँछ भने नवदुर्गा गणनाच युद्धावस्थाको नाच हो र नीलबाराही गणनाच युद्धबाट विजयी भएपछिको खुसीको नाच हो । कसैकसैले विजयी जुलुसको रुपको नाच हो भन्छन् ।
बोडेको नीलबाराही गणनाच कुन प्रकारको नाच हो ? नाचको भावबाट झल्किन्छ । यो बुझ्न नीलबाराही गणनाचको प्रत्येक १२ वर्षमा देखाउने विशेष नाच खः त्यलिगु जात्राबाट प्रस्ट हुन्छ ।
खः त्यलिगु जात्रा नीलबाराही गणनाचको विशेष नाच हो । यो प्रत्येक १२ वर्षमा देखाउने गर्दछ । खः को अर्थ खट हो तर यहाँ खट बोक्ने जात्रा नभएर खः को अर्थ खण्ड खण्ड भन्ने अर्थमा बुझ्न सकिन्छ । त्यलिगु भनेको कब्जा गर्ने हो । यसलाई खण्ड खण्ड कब्जा गर्ने अर्थमा लिन सकिन्छ ।
खः त्यलिगु जात्रामा मुख्य भूमिका भैरवको हुन्छ । भैरव सेनापति हो । भैरव आफू सेनापति भई पहिलो बाराहीलाई लिएर युद्ध गर्न जान्छ । त्यसपछि भैरवले कुमारी, अनि सिंह, द्वारपाल र चार गणेशलाई छट्टाछुट्टै गरेर लान्छन् । पछि सबै जम्मा भएर नाच्छन् । त्यो नै विजयी ¥यालीको रुप हो ।
खः त्यलिगु नीलबाराही गणनाचको विशेष जात्रा यस वर्षको भदौ १२ गतेदेखि चार दिन लगातार बोडेको टोल टोलमा नाचिन्छ । यो नाच प्रत्येक वर्ष नाच्ने नाचको भाव र आकृतिभन्दा फरक हुन्छ । फरक ताल र भावबाट नाच्ने भएकोले यसको महत्व फरक देखिन्छ ।
नीलबाराही गणनाचमा सामेल हुने व्यक्तिहरूले अरु गणनाचहरूमा नाच्ने व्यक्तिहरूले भन्दा बढी पालन गर्नुपर्ने विधि विधान कष्टकर देखिन्छ । नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्नु हुँदैन । हावाहुरी र ठूलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै भर्ने भए मानिसको तिघ्रामा मात्र आसन गर्नुपर्ने, १४, १५ घण्टासम्म थकाइ नभनी नाच्नुपर्ने आदि नीलबाराही गणनाचको विशेषता हो । त्यसैले यो गणनाचका देवी देवताहरूमा शक्ति छ भनी पूजा गर्नेको भीड लाग्छ ।
यो नीलबाराही गणनाच मल्लकालदेखि अटुट रुपमा चल्दै आएको छ । कतिपय गणनाचहरू लोप भइसकेका छन् र कति लोप हुने अवस्थामा छन् र कति बन्द भएर फेरि युवाहरूको सक्रियताले चलेको पनि छ । नीलबाराही नाच चलाउँदै आएको ठाउँबाट मात्र यो चलेको ६० वर्ष भयो । नाच्ने व्यक्तिहरू बुढा भए । गण परिवर्तन हुने कुनै छाँटकाँट देखिंदैन । नाच्ने व्यक्तिहरूको अवस्था नराम्रो छ । खर्च गर्न गा¥हो छ । कहींकतैबाट साथ र सहयोग भएको देखिंदैन । यसलाई संरÔण र संवद्र्धन गर्न सम्बन्धित निकायबाट ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
Leave a Reply